site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदीय जिम्मेवारी बिर्सिएका खेल क्षेत्रका पदाधिकारी !

काठमाडौं । नेपालमा बेला–बेलामा खेलभन्दा धेरै खेल संघ भएको चर्चा हुने गर्छ । खेल संघहरू दर्ता गर्नुको मुख्य उद्देश्य खेलाडी र खेलको विकासलाई प्राथमिकतामा राख्नु नै हो ।

नेपाली खेलकुदमा भने संघ दर्ता गर्नुको उद्देश्य फरक छ । विदेश घुम्न जान चाहेमा हरेक खेलको बाहना गर्दै संघ दर्ता गर्ने गरिन्छ । नेपालमा सक्रिय र प्रतियोगिता गरेको देखिने ५० भन्दा धेरै संघ छैनन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीमा दर्ता भएका संघ भने २०० भन्दा धेरै छन् । सबै संघहरूले प्रतियोगिता गर्दैनन् । वर्षभरि खेलाडीहरू कुन अवस्था छन्, खेलाडीहरूको आवश्यक्ता के हो भन्नेसम्म याद नहुने संघहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरू जाँदा भने मज्जाले याद गर्दै आएका छन् । त्यसैको पछिल्लो उदाहरण जापानमा हुन लागेको टोकियो ओलम्पिकमा सहभागिताका लागि देखाइएको हर्कत हो ।

तुलासा थापा टोकियो ओलम्पिकमा म्यानेजर बनेर गएकी छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव रहेकी उनी ओलम्पिकमा सहभागिताको विषयले चर्चा पाएको छ । एमाले नेता वामदेव गौतमकी श्रीमती भएकाले पनि उनको चर्चा चुलिएको हो ।

अर्काेतर्फ, उनी जुन खेलको म्यानेजर भएर जापान पुगेकी छन्, उक्त खेलसँग उनको कुनै साइनो छैन । थापा त नेपाल कबड्डी संघको अध्यक्ष हुन् । नेपालका तर्फबाट ओलम्पिकमा कबड्डीको सहभागिता छैन । कबड्डीबाट जापान जाने सपना पूरा नहुने देखिएपछि उनले अर्को बाटो रोजिन्, पहुँच ।

थापा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठनिकट व्यक्ति हुन् । अध्यक्ष श्रेष्ठचाहिँ थापाका पति नेता गौतमनिकट एमाले सांसद हुन् । यिनै राजनीतिक निकटतका कारण एनओसी अध्यक्ष श्रेष्ठले थापालाई जुडोको म्यानेजर बनाएर जापान पठाइदिए । 

थापा पनि एमालेकी सांसद हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन उनी जापानमा भएकाले बैठकमा सहभागी भइनन् ।

आफ्नो पदीय जिम्मेवारीलाई बेवास्ता गर्दै उनले आफूसँग कुनै सम्बन्ध नै नभएको खेलको म्यानेजर भएर जानु भनेको पदाधिकारीले पदीय जिम्मेवारी भुलेको बुझ्न सकिन्छ । थापा मात्र नभएर अरु खेल संघका पदाधिकारीहरूले पनि आफ्नो जिम्मेवारी भुल्दै ओलम्पिकमा सहभागिता जनाएका छन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले हाल जापानमा छन् । बक्सिङका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन नसकेर हात बाँधेर बसेका उनी स्वीमिङ खेलको म्यानेजर बनेर जापान गएका छन् ।

त्यस्तै, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ जुडो खेलको म्यानेजर बनेर जापान घुम्न पुगे । फेन्सिङमा वर्षभरि एक प्रतियोगिता पनि गर्न नसकेका उनी जुडोको म्यानेजर भएर ओलम्पिकमा गएका छन् ।

तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा सुटिङ खेलको म्यानेजर बनेर जापान छन् । एनओसी उपमहासचिव पिताम्बर तिम्सिना एथलेटिक्स खेलको म्यानेजर बनेर जापान जाँदै छन् ।

एथ्लेटिक्समा योपटकको ओलम्पिकमा विवाद आयो । गोपीचन्द्र्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउन नपाउँदा चुप लागरे बसेका तिम्सिना त्यही खेलमा म्यानेजर भएर जापान जाँदै छन् । प्रतियोगिताका लागि नाम पक्का गरेर करिब आठ महिना अभ्यास गरेका म्याराथन धावक पार्की अन्तिम समयमा ओलम्पिक जान पाएनन् ।

एथ्लेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी कार्कीले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ भए पनि ओलम्पिक कमिटीले आफूलाई जानकारी नै नगराई अर्काे व्यक्तिलाई पठाएको भन्दै गरेको टिप्पणी चर्चामा छ ।

यता, एथ्लेटिक्सकै म्यानेजर बनेर जाने चर्चामा रहेका राखेप उपाध्यक्ष शिव कोइरालाले आफूले नाम फिर्ता लिएको बताए ।

पदीय गरिमालाई भुलेर ओलम्पिकमा म्यानेजरको हैसियतमा घुम्ने प्रचलन नेपालमा नयाँ होइन ।

राखेपका सदस्यसचिव रमेशकुमार शिलवाल पनि अहिले जापानमा छन् । उनी नेपालको तर्फबाट ‘सेभ द मिसन’का रूपमा जापान पुगेका हुन् ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने नेपालका तर्फबाट टिपोटकारको रूपमा जापान पुगेका छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । खेलाडीसहित करिब २३ जनाको टोली जापानमा छ । राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ एनओसी कर्मचारीको हैसियतमा जापान पुगेका छन् । उक्त कोटामा एनओसीले आफ्ना कर्मचारीलाई पठाउनुपर्ने हो । तर, एनओसी कर्मचारीको ठाउँमा राखेप बोर्ड सदस्यलाई जापान पठाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro