काठमाडौं । टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत यही साउन १२ गते नेक्सन ईभी सार्वजनिक गर्ने भएको छ । सार्वजनिक गर्दै नेपाली बजारमा बिक्री–वितरण खुला गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएको र आकर्षण पनि दिन प्रतिदिन बढ्दै गएको कम्पनीले जनाएको छ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ गरिसकेका ग्राहकहरुलाई साउनको १२ गतेदेखि क्रमशः नेक्सन ईभीको बिक्री–वितरण गर्ने सिप्रदीले जनाएको छ ।
अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक, अन्त्यन्त सुरक्षित एवं आरामदायी रहेको कम्पनीले जनाएको छ । लामो दूरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई घरमै चार्ज गर्न सकिने जनाइएको छ ।
सन् २०२० को जनवरीबाट भारतमा बिक्री–वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । भारतमा करिब ४५ सयभन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले अहिलेसम्म विभिन्न १८ वटा पुरस्कार जितिसकेको जनाइएको छ ।
टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘इको सिस्टम’ विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्ने जनाइएको छ ।
नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।