विराटनगर । भारतीय पक्षले विराटनगर महानगरपालिका वडा नम्बर १७ मा कल्भर्ट निर्माण गर्न अवरोध गरेको छ । इस्लामपुरमा दशगजा नजिकै नेपालतर्फको सडकमा कल्भर्ट बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।
वडा नम्बर १७ का वडा अध्यक्ष समीर कमरले भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि निर्माणकार्य रोकिएको बताए । भारतीयहरूले दशगजासँगै जोडेर आफ्नोतिर तीनवटा कल्भर्ट बनाएको र फोहोरसमेत नेपाली भूमिमा फाल्ने गरेको उनको भनाइ छ । “हामीले बनाउन सुरु गरेको कल्र्भटमा अवरोध गरेका छन्,” उनले भने ।
यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको वडाअध्यक्ष कमरले बताए ।
बर्खाको बेला नेपालतर्फ नै पानी निकास गर्ने उद्देश्यले निर्माण थालिएको भएपनि भारतीय पक्षबाट अवरोध भएको हो । सडक ग्राभेल गर्न र कल्भर्ट बनाउन महानगरले रु. १६ लाख बजेट विनियोजन गरेको थियो ।
बजेटबाट एक सय मिटर नाला निर्माण भएको छ । भारतीय पक्षले काम रोकेपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला अनुगमनका इस्लामपुर पुगेका छन् । समस्या समाधान गर्न प्रशासनले पहल थालेको बताइएको छ ।