काठमाडौं । विद्यालयका शिक्षक–कर्मचारीका माग, मुद्दा तथा विगतमा भएका सम्झौता लिएर ३४ बुँदे मागसहित २० वैशाखबाट आन्दोलन थालेको नेपाल शिक्षक महासंघको आन्दोलन अझै जारी छ । वैशाखमा आन्दोलन केही भौतिक रुपमा गरे पनि हाल आन्दोलन डिजिटल रुपमा चलिरहेको छ ।
अहिले आन्दोलन जिल्ला केन्द्रित रहे पनि साउनदेखि राजधानी केन्द्रित रहने महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले बाह्रखरीलाई बताए । उनले भने, “साउन १ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने योजना छ । त्यसपछि राजधानी केन्द्रित आन्दोलन गर्छौं ।”
मुलुकमा राजनीतिक अस्थिरता भएकाले शिक्षा मन्त्रीसँग प्रत्यक्ष वार्ता नगरेको उनले बताए । सुवेदीका अनुसार महासंघले सर्वोच्च अदालतको निर्णय कुरेर बसेको र त्यसैअनुसार आन्दोलनका कार्यक्रम अघि बढ्ने बताए । संसद् विघटनविरुद्ध रिट परेकाले वर्तमान सरकार नै रहने/नरहने अन्योल बढेकाले महासंघले आन्दोलनलाई रणनीतिक रुपमा अघि बढाएको उनले बताए ।
यसअघि महासंघले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको मोबाइलमा देशभरिका शिक्षकबाट एसएमएस पठाएर विरोध गर्नेदेखि, सामाजिक सञ्जालमा एकैपटक मागपत्र राख्ने, ७७ वटै जिल्लाका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिने काम गरेको थियो ।