काठमाडौं । योगगुरु अर्जुन रखालमगर कोभिड–१९ संक्रमित चिकित्सकहरुलाई निःशुल्क योग तथा प्राणायाम सिकाइरहेका छन् । योगमान्डुको सम्पर्कमा आएर योग सिक्न चाहने संक्रमित चिकित्सकलाई उनीलगायतले योग सिकाइरहेका हुन् ।
योगगुरु मगरले गत वर्ष र यसपटक गरी २६ जनालाई योग तथा प्रणायाम सिकाइसकेका छन् । कोरोना संक्रमितलाई किन योग ? भन्ने प्रश्नमा उनी भन्छन्, “योग विद्या शारीरिक र मानसिक स्वास्थ्यको लागि फाइदाकारी छ । कोरोना संक्रमित डाक्टरलाई योग गर्दा नेगेटिभ रिजल्ट ६ दिनमै आएको छ ।” धेरै शारीरिक कसरत पर्ने योग नगराई श्वासप्रश्वासलाई जोड दिने प्राणायाम गराउँदा संक्रमित छिट्टै स्वस्थ हुुने गरेको उनको भनाइ छ ।
उनले चितवनमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितलाई छुट्टै ब्लक स्थापना गरेर उपचार गरिएको स्मरण गर्दै भने, “उनीहरुले त्यहाँ जीवनपद्धतिमा मात्र परिवर्तन गरे । मासु खान दिएनन् । योग अभ्यास गराए, जसले रोग प्रतिरोधात्मक क्षमता बढायो ।”
उनले थपे, “योग अभ्यासले मात्र कोरोना ठिक पार्छ भन्ने होइन । तर, जसले योग अभ्यास गरिरहेको छ, उसमा सकारात्मक नतिजा देखिएको छ,”
भर्चुअलबाट उनी एकपटक एक संक्रमितलाई मात्र योग अभ्यास गराउँछन् । उनी भन्छन्, “संक्रमित सबैको अवस्था एउटै छैन । फेरि योग अभ्यास गलत गर्यो भने त्यसको परिणाम नराम्रो हुन्छ ।”
उनका अनुसार योगका प्रकार धेरै छन् । सनातन हथ योग, तन्त्र योग, मन्त्र योग, भक्ति योग, लय योग आदि । उनले आफैँले पनि योगको विभिन्न तालिम र प्राज्ञिक ज्ञान लिएका छन् । सुरुमा पतञ्जलिको योग सिकेका उनले पछि सीटीईभीटीको योग शिक्षाको ६ महिने तालिम लिए ।
यस्तै, उनले वाल्मीकि विद्यापिठबाट योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण लिएका छन् । उनले अमेरिकाको दुई सय घण्टा र पाँच सय घण्टाको योगको एड्भान्स कोर्स पनि गरेका छन् ।
सात वर्षदेखि उनले विभिन्न ठाउँमा योगको प्रशिक्षण दिइरहेका छन् । लकडाउन भएदेखि अनलाइनमा योग सिकाइरहेका छन् । उनका अनुसार सूर्य नमस्कार, अंग व्यायाम र शरीर स्टेचिङ गर्दा मेरुदण्ड सक्रिए हुन्छ । यस्तै, नाडी सोधन प्राणायाम, सितकारी प्राणायाम, सूर्य चन्द्र भेदना प्राणायामले मस्तिष्क अलर्ट गराउनुका साथै तनाव र हाइपरटेन्सका बिरामीलाई समेत उपयागी, दिमाग र शरीर शान्त बनाउँछ ।
पश्चिममा मुलुक विशेषगरी अमेरिकामा योगको व्यापार व्यापक फस्टाएको छ । सन् २०१४ को हफपोस्टको रिपोर्टअनुसार योगको उद्योग विश्वव्यापी २७ बिलियन डलरको रहेको छ । जहाँ २० मिलियनले नियमित अभ्यास गर्छन् । ‘मर्डर मिष्टी’की हिरोइन जेनिफर एनिस्टन, ‘नोटबुक’का हिरो रायन गोस्लिङ, गायिका केटी पेरी, पूर्वफुटबलर डेभिड बेकह्याम केही चर्चित सेलिब्रिटी नाम हुन्, जसले नियमित योग अभ्यास गर्छन् ।
थुप्रै भारतीय कलाकारहरुले पनि शरीर र मस्तिष्क तन्दुरुस्त राख्न नियमित योग अभ्यास गर्ने गरेको देखिन्छ । युट्युब हेरेको भरमा योग अभ्यास नगर्न योगगुरु मगर आग्रह गर्छन् । उनी भन्छन्, “सूर्य नमस्कार मात्रै ठिक तरिकाले गर्यो भने त्यसको फाइदा अनेक छ । तर, गलत गर्यो भने कम्मर दुख्ने रोग भित्रिन्छ ।”