शासक र समाजका अगुवाको गैरजिम्मेवार प्रवृत्तिले अमूल्य ऐतिहासिक सामग्री धेरै नष्ट भइसके भने कति ध्वस्त हुने चरणमा छन् । काठमाडौंको मृगस्थलीस्थित योगी नरहरिनाथको आश्रममा रहेका असंख्य अमूल्य सामग्रीको दुर्दशाले नेपाली शासक र समाजको विवेकहीनताको पोल खोलेको छ ।
राजनीतिकरूपमा योगी नरहरिनाथ विवादास्पद पात्र हुन् । लोकतन्त्रविरुद्ध रचिएको षड्यन्त्रमा उनको भूमिका राजा महेन्द्रको गोटीका रूपमा इतिहासमा चित्रण भएको छ । तर, नेपाली भाषा, साहित्य र इतिहासको खोज अन्वेषणमा भने उनको योगदान निर्विवाद छ ।
यसैले उनले सङ्कलन गरेका ऐतिहासिक सामग्रीको संरक्षण राज्य तथा समाजको कर्तव्य हो । दुर्भाग्य, नेपालका शासक र समाजका अगुवाहरूले अरू धेरै विषयमा जस्तै यी दुर्लभ बहुमूल्य सामग्रीको संरक्षण गर्ने कर्तव्य पूरा गरेनन् । समाचारअनुसार आश्रमभित्रका करिब ३ ट्रक पुस्तक ध्वस्त भएका छन् ।
योगीका आश्रममा रहेका दुर्लभ प्राज्ञिक सामग्रीको उपेक्षा गरेर विशेषगरी गुठी संस्थान, पुरातत्व विभाग र नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीबाट अक्षम्य अपराधको दोषभागी भएका छन् । योगी नरहरि नाथको आश्रम गुठी संस्थानको मातहतमा रहेकाले यी सामग्री संरक्षणको मुख्य दायित्व भने संस्थानका पदाधिकारी कै हो ।
योगी नरहरि सम्भवतः नेपालका सबैभन्दा बढी ऐतिहासिक पुरातात्विक स्थलमा आफैँ पुग्ने पहिला र अहिलेसम्मका अन्तिम अन्वेषक अध्येता हुन् । आश्रममा हक जमाएर कब्जा गर्ने गुठी संस्थानका पदाधिकारीले योगीले सङ्कलन, सम्पादन र लेखन गरेका असङ्ख्य अमूल्य प्राज्ञिक सामग्रीको संरक्षण किन गरेका हुन्रु
यस दुर्दशा र क्षतिका लागि गुठी संस्थानका सम्बन्धित पदाधिकारीमाथि कारबाही हुनुपर्ने त छँदैछ अहिले ती सामग्री जस्ता अवस्थामा भए पनि तुरुन्तै तिनको संरक्षण गर्ने प्रयत्न गरिनु आवश्यक छ । साथै प्राज्ञिक सामग्री पुनःस्थापना गर्ने उन्नत प्रविधिको प्रयोग गर्ने व्यवस्था पनि मिलाउनु जरुरी देखिन्छ ।
यस्तै योगीका निकट भएको दाबी गर्नेहरू पनि गुठी संस्थानको अकर्मण्यता औँल्याउँदैमा दोषमुक्त भने हुनसक्तैनन् । यस्ता दुर्लभ अमूल्य सामग्री नष्ट हुने जोखिम बढेपछि तिनले शान्तिपूर्ण सङ्घर्षका उपायहरू अपनाउनु पर्थ्यो ।
जे नहुनुपर्थ्यो भइसक्यो । यस अमूल्य प्राज्ञिक सामग्री नष्ट गर्ने कारकहरू सबै धिक्कारका पात्र भएका छन् । अब पनि पशुपति क्षेत्र विकास कोष, गुठी संस्थानजस्ता रकमी अड्डाबाट यस्ता सामग्रीको महत्त्व बुझेर संरक्षण गर्ने कार्य हुने देखिन्न ।
योगीका उत्तराधिकारीको रुचि पनि अखाडामा सीमित देखिन्छ । यसैले आफ्नो औचित्य सिद्ध गर्ने हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले विश्वविद्यालयहरू र पुरातत्व विभागसमेतसँग समन्वय गरेर यी सामग्रीको संरक्षण र पुनःस्थापनामा अगुवाइ गरोस् । प्राज्ञहरूको काम शासकको चारण हुनुमात्र त होइन नि !