भनिन्छ, सङ्कटमा मित्रताको परीक्षण हुन्छ । कोभिड-१९ को सङ्क्रमणको अवस्थाप्रति गम्भीर हुने हो भने नेपाल अहिले सङ्कटमा छ । दुर्भाग्य, नेपाललाई सङ्कटका बेला साथ दिने मित्र भने बिरलै देखिए ।
यसबाट स्पष्ट हुन्छ नेपालले नयाँ मित्र बनाउन त सकेको रहेनछ नै पुरानाहरूले पनि साथ छाडेछन् । कोभिड-१९ को प्रसङ्गमा मात्र होइन अरू राजनीतिक महत्त्वका विषयमा पनि नेपालको उपेक्षा हुन थालेको देखिन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौं वर्ष मनाउन आयोजित कार्यक्रममा नेपाली नेताहरूलाई सम्बोधनको अवसर मिलेन । अहिले नेपालको राजनितिक नेतृत्वको स्तर हेर्दा चिनियाँ कम्युनिस्ट पार्टीले उपेक्षा गर्नु अनौठो पनि होइन ।
जापानजस्तो सबैभन्दा हितैषी मानिने मित्र नेपालको सङ्कटप्रति उदासीन देखियो । नेपाललाई निःस्वार्थमात्र हैन लामो समयसम्म सबैभन्दा ठूलो राशि सहयोग गर्ने मुलुक हुनेगर्थ्यो जापान । ताइवान, मलेसिया, फिलिपिन्सलगायतका मुलुकलाई खोप दिँदा नेपाल जापानको सद्भाव सूचीमा परेन ।
नेपाल इजरायलको पुरानो र दक्षिण एसियामै पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक हो । भारत र चीनले मान्यता नदिँदा पनि कूटनीतिक मान्यता दिएर इजरायलले गुन लगाएको थियो नेपाललाई । इजरायलले बढी भएको खोप संसारका अरू मुलुकलाई पैँचो दियो तर नेपाललाई सम्झेन ।
चीनले कोभिड-१९ विरुद्ध खोप र अरू सहयोग दिने इच्छा देखाएको बेला नेपालका तर्फबाट उदासीनता देखाइयो । चीन अहिले नेपाललाई खोप बेच्नसम्म तयार देखिएको छ । चिनियाँ व्यवहारमा परम्परागत मित्रप्रतिको हार्दिकताभन्दा व्पावसायिकता बढी झल्किन्छ ।
भारत सुरुमा १० लाखमात्रा खोप अनुदानमा दिएपछि पन्छेको देखियो । बेला न कुबेला कहिले प्रानमन्त्रीले ‘ठोरीवाला राम’को जात्रा लगाए । कहिले भारतसँग किनेको खोप ल्याउन प्रधानमन्त्री निकट ‘कमिसन’ एजेन्टले भाँजो हालिरहे । यसै पनि भारत नेपालका हकमा बैगुनी मुलुक हो । नेपाली भारतको सुरक्षामा रगत बगाउँछन् । भारतले तिनै आफ्ना पूर्वसैनिकको बिचल्ली पनि हेरेन ।
भुटानलाई डेनमार्कले सोझै खोप दियो नेपाललाई सम्झेन । जर्मनी, फ्रान्स, स्विजरल्यान्ड सबैले नेपालसँगको पुरानो सम्बन्ध र मित्रता बिर्सिदिए । कम्तीमा बेलायतको त प्राथमिकतामा पर्नुपर्ने हो नेपाल । दुई शताब्दीदेखि नेपालीले बेलायत अधिराज्यको सुरक्षाका लागि रगत बगाएको छन् ।
अमेरिकाले त ‘बेला न कुबेला भेनेजुएला’ देखि एमसीसीसम्ममा नेपालको व्यवहारको हिसाब यति नै बेला चुकाउन खोजेजस्तो छ । अमेरिका, युरोपका निम्ति नेपालको महत्त्व भुटानको जति पनि नरहेको देखियो ।
नेपाललाई सबैले कोभ्याक्सकै भरोसामा छाडिदिए । यस्तो अवस्थाको कारक नेपालको चरम कूटनीतिक विफलता त हो नै प्रधानमन्त्री खड्गप्रसाद ओलीको दम्भ पनि हो । नेपाल ‘देखिने र सुनिने’ भएको गुड्डी हाँक्नेहरूले ‘टेक्ने डालो र समाउने हाँगो’ एकैपटक भाँच्चिएको ख्यालै गरेनन् ।
खोप नपाउँदा देशभित्र हाहाकार त छँदैछ वैदेशिक रोजगारीमा जानेहरू झन् बढी मुस्किलमा परेका छन् । खोप नलगाई रोजगारीका लागि विदेश जान नपाइने र देशभित्र खोप लगाउने मौका नपाउने भएपछि अहिले त उनीहरूमात्र बिलखबन्दमा देखिन्छन् तर एकाध वर्षपछि यसको असर विप्रेषणमा पर्न थाल्नेछ ।
अझै बेला छ । पुराना मित्रहरूसँग अनुदान, पैँचो वा किन्न जसरी पाइन्छ खोपका लागि कूटनीतिक अनुनय गर्ने । राजनीतिक नेतृत्वको साख निकै गुमेको त राष्ट्रपतिले लेखेको पत्रको बेवास्ताले नै देखायो । राजदूतहरूबाट पनि कुनै प्रतिफल प्राप्त भएन ।
यसैले परराष्ट्र मन्त्रालयको प्रशासनिक तहबाट र नागरिक समाजका प्रतिष्ठित नागरिकबाट प्रयास भए फलदायी हुनसक्छ कि रु नत्र, स्पष्ट छ कोभ्याक्सका भरमा नेपालमा खोप लगाउने बहुसंख्यामा हुन त थुप्रै वर्ष लाग्नेछ । मित्र राष्ट्रहरूले पनि नेपालको राजनीतिक कूटनीतिक विफलता फल नेपाली जनतालाई सास्ती चखाउन नखोजून् ! नेपाली अरूको बैगुन बिर्से पनि बैगुनी जाति होइन ।