site stats
बाह्रखरी :: Baahrakhari
देश
दिदीलाई सुजिताको अन्तिम सन्देश– मलाई तीनजनाले गाडीमा हालेर लैजादैछन्

काठमाडौं । चितवनबाट असार ११ गते वेपत्ता भएकी २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार (हिजो) जंगलमा भेटियो । आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको हो ।

शनिबार साँझ भाइ र दिदीसँगै रहेकी सुजाता आइतबार घरबाट निस्किइन् । उनी घरबाट कतिबेला निस्किइन् भन्ने परिवारका सदस्यलाई यकिन नभएको पाइएको छ । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको टोली सक्रिय छ ।

सामान्य परिवारकी सुजिताले आइतबार बिहान साढे ६ बजेदेखि मोवाइलबाट आफ्नी दिदीलाई फोन गरेर आफूलाई कसैले अपहरण गर्न लागेको बताएको पाइएको छ ।

Argakhachi Cement Island Ad

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, “मलाई २ महिला र एक पुरुषले गाडीमा हालेर लैजादैछन् भनेर दिदीले भनेकी छन् । त्यसपछि प्रहरीमा परिवारले खबर गरेको देखिन्छ ।”

त्यसपछि दिउँसो १२ बजेर ४५ मिनेटमा सुजिताकै मोवाइलबाट परिवारका सदस्यलाई अन्तिम ‘म्यासेज’ आएको पाइएको छ । जहाँ लेखिएको छ, ‘पूर्वतिर’ ।

तर, उनले गरेको म्यासेजको लोकेसन र उनको शव भेटिएको स्थानको लोकेसन भने ‘म्याच’ नभएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

प्रहरी अधिकारीहरु भन्छन्, “उनले अपहरण गरेको बताए पनि कसैले फिरौती र धम्की दिएको प्रारम्भिक रुपमा देखिएको छैन । त्यसैले हामी सुक्ष्म अनुसन्धानमा छौं ।”

सुजिताको शव उनकै घरभन्दा साढे ३ किलोमिटरको दूरीमा रहेको घना जंगलमा भेटिएको छ । शवसँगै रहेकै स्थानमा विषादीको वट्टा पनि भेटिएको छ ।

एक अधिकारीले भने, “शरीरमा बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा विषादी भेटिएको छ । हत्या वा आत्महत्या अहिल्यै भन्न सकिने अवस्था छैन ।”

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ ।

प्रहरीले सुजिताले प्रयोग गर्दै आएको मोवाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायत सामग्रीको समेत अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्