site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

चीनबाट कोभिड–१९ प्रतिरोधक भेरोसेल नामक खोपको ३० लाख मात्रा नेपाल ल्याइने समाचारले समाजको सबै क्षेत्र र वर्गमा उत्साह बढाएको छ । व्यापक मात्रामा खोप वितरण हुनसके कोभिड सङ्क्रमण मत्थर हुने अपेक्षाले सर्वसाधारण उत्साहित भएका हुनुपर्छ ।

यसअघि सरकारले खोप वितरणका क्रममा गरेको देखाएको अव्यवस्था र अनियमितता हेर्दा भने न्यायोचित वितरण हुनेमा ढुक्क हुन सकिँदैन । विशेषगरी, पछिल्ला दिनमा राज्यको प्राथमिकतामा परेका सर्वसाधारणले पाउनुपर्ने खोप समाजमा राजनीतिक, प्रशासनिक र आर्थिक प्रभाव हुनेले खोसेको देखिएकाले पहुँच नहुनेका लागि फेरि पनि कागलाई बेल पाके बराबर हुने सन्देह बढेको हो । 

यसपटक चीनसँग किनिएको खोपको मूल्य गोप्य राखिएको छ । निर्माता कम्पनीले मूल्य पारदर्शी नगर्ने सर्तमा मात्र नेपाललाई खोप बेच्न तयार भएको सरकारले बताएको छ । सरकारको कार्यशैली र ‘ओम्नी’ प्रकरण सम्झँदा भने यतैको चाहनामा खोपको मूल्य गोप्य राखिएको त होइन भनेर सन्देह हुनु अस्वाभाविक पनि होइन ।

KFC Island Ad
NIC Asia

चीनले संसारका धेरै मुलुकलाई खोप बेचेकाले ढिलोचाँडो मूल्यका बारेमा थाहा भइहाल्नेछ । यसै पनि चार वर्षसम्म मात्र मूल्यका बारेमा सार्वजनिक नगर्ने सर्त भएकाले कहीँ कसैले आर्थिक अनियमितता गरेको भए पक्कै पनि उजागर हुनेछ । यसैले खोप खरिदको अपारदर्शी पक्षमा अहिले धेरै बहस गर्नु आवश्यक  देखिँदैन ।

खोपको वितरणमा भने विशेष निगरानी र सजगता आवश्यक देखिन्छ । सरकारले उपत्यकाबाहिर जनसाधारणलाई नीतिगतरूपमै भेदभाव गरेको छ । उपत्यकामा उमेर पुगेका सर्वसाधारणलाई दिइएजस्तै भेरोसेल खोप मोफसलमा दिइएन । 

Royal Enfield Island Ad

अर्कातिर, विराटनगरमा प्रदेश सरकारकै मन्त्रीको सक्रियतामा सरकार समर्थक व्यापारीलाई सिनेमा हलमा सुटुक्क बोलाएर कोभिसिल्ड खोप दिइँदा स्थानीयले गरेको विरोधको निकै चर्चा भएको थियो ।

सरकारकै प्राथमिकताअनुसार देशभरका १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकलाई पहिलो मात्र दिइएको कोभिसिल्डको दोस्रो मात्रा दिएको छैन । खोपको प्रभावकारिताका लागि ती ज्येष्ठ नागरिकलाई अर्को मात्रा खोप लगाउनुपर्ने म्याद सकिन लाग्यो । सरकारले पहिले नै अडकलेको भए यसरी धेरै खोप खेर जाने अवस्था उत्पन्न हुने थिएन ।

यी सबै घटनाबाट खोपको वितरण फेरि पनि न्यायपूर्ण नहुनसक्छ भन्ने देखिन्छ । उपत्यका र मोफसलमा खोपको विभेद हुनु भएन । जनसङ्ख्याका आधारमा समानुपातिकरूपले खोप वितरण गरी नामावलीसहितको विवरण सार्वजनिक नगर्दासम्म सरकारले पक्षपात गरेको छैन भन्ने पुष्टि हुँदैन । 

सरकारले ज्येष्ठ नागरिकलाई उमेरका आधारमा खोप दिने मापदण्ड बनाएको छ । तर, पहुँच हुनेले मापदण्डका सबै मानक मिचेर पनि खोप लगाएका छन् । अब वितरण गरिँदा यस्तो नहोस् । 

अहिले ल्याउन लागिएको ३० लाख मात्राले नेपालको जनसङ्ख्याको सानो भागलाईमात्र खोपाउन सकिन्छ । यसैले पनि शक्ति हुनेले पाउनुपर्नेको भाग खोस्न नसक्ने बन्दोबस्त सरकारले मिलाओस् ।

उमेर पुगेकाहरूको ठूलै संख्याले खोप पाएपछि सङ्क्रमणको जोखिममा बालबालिका स्वतः पर्छन् । बालबालिकालाई दिन मिल्ने खोपको पनि परीक्षण र वितरण भइसकेको छ । सरकारले सकेसम्म चाँडै बालबालिका र युवाका लागि पनि खोपको बन्दोबस्त मिलाउन ध्यान दिनुपर्छ । सङ्क्रमणको अर्को लहरभन्दा पहिले बालबालिकालाई खोप दिन सके हुन्थ्यो ।

यसैगरी, कोभिसिल्डको बाँकी मात्राको म्याद सकिन लागेको बताइएको छ । अहिलेको खोप म्याद सकिएर खेर गयो भने सम्बन्धित अधिकारीहरूलाई नेपाली जनताले सधैँ धिक्कार्नेछन् । सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई मात्र पुग्ने भए उनीहरूलाई नै दिएर खोपको सदुपयोग गरियोस् ।   

विश्वास गरौँ, चीनबाट आउने भनेको मात्रामा खोप आउँछ । तर, वितरणमा अनियमितता हुँदैन भनेर विश्वास गर्ने ठाउँ सरकारले बाँकी राखेको छैन ।  विराटनगर वा संसद् भवन खोप काण्ड दोहोरिँदैन भनेर ढुक्क हुन सकिने कुनै आधार छैन । यसपटक पुराना कमजोरी सच्याएर सरकारले जनताको विश्वास आर्जन गरेको देख्न पाइयोस् १ 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro