असहिष्णु, भ्रष्ट र दुष्ट प्रवृत्तिका व्यक्ति सधैँ नै सिर्जना, करुणा र स्वच्छताका वैरी हुन्छन् । त्यस्ता प्रवृत्तिका व्यक्ति सत्तामा पुगे भने दुष्टता नै शासनको चरित्र बन्न पुग्छ । यसको उदाहरण अहिले नेपालमा बग्रेल्ती देखिन थालेको छ ।
इतिहासमा काठमाडौंका शासकले प्रजा सबैले खाएको निधो गरेरमात्र आफूले खाने गरेको वर्णन छ । प्रजाको घरमा खानेकुरा पाके नपाकेको हेर्न दरबारको अग्लो बुर्जाबाट हेर्ने गरिन्थ्यो रे १ भनिन्छ ( सबै घरबाट धुवाँ आएको देखेपछि बल्ल राजाले खान्थे ।
त्यही कान्तिपुरी नगरी अहिले काठमाडौं महानगर भएको छ । मुलुक पनि गणतन्त्र घोषित भएको छ । तर, काठमाडौं महानगरपालिकाले भने महामारीबाट आक्रान्त नागरिकलाई परोपकारी समूहले खुवाउँदै आएको खानासमेत बन्द गरेर दुष्टता देखाएको छ ।
कोभिड-१९ को महामारीका कारण सङ्कटमा परेका जनसाधारणलाई ‘हाम्रो टिम नेपाल’ले निःशुल्क खाना खुवाउँदै आएको थियो । हालै महानगरपालिकाले टिम नेपालले खाना खुवाउन प्रयोग गर्दै आएको अनामनगरमा रहेको टहरा भत्काएर खाना खुवाउने कार्य बिथोलेको छ ।
पुराणमा ऋषिहरूले तपस्या वा यज्ञ गर्न थाल्नेबित्तिकै दुष्ट राक्षसहरूले ताण्डव मच्चाएर बिथोल्ने गरेको प्रसङ्ग धेरैपटक आउँछ । काठमाडौं महानगरपालिकाले पनि त्यही शैलीमा परोपकारमा लागेकाहरूलाई धेरैपटक सताउँदै आएको देखिएको छ ।
‘टिम नेपाल’को निःशुल्क भोजन कार्यक्रम बिथोल्नुका साथै महानगरपालिकाले २५ लाख बराबरको सरसामानसमेत जफत गरेको र अभियन्ताहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको गुनासो सरोकारवालाहरूले गरेका छन् ।
दैनिक तीन सयलाई निःशुल्क खाना खुवाउँदै आएको बताउने टिम नेपालले काठमाडौं महानगरपालिकासँग गत ५ जेठमा सो सार्वजनिक स्थान प्रयोग गर्ने अनुमति पनि लिएको थियो । तैपनि, महानगरपालिकाले सहेन । महामारीका कारण भोकै बस्न परेकाहरूको गाँस खोसिछाड्यो ।
कोभिड-१९ को महामारीमा चिकित्साकर्मीलगायत अग्रपङ्क्तिमा खटिएकाहरूको सामूहिक सम्मानमा कलाकारहरूले भित्ते चित्र बनाएका थिए । ती योद्धाहरूको सम्मान गरेर कलाकारहरूले सराहनीय कार्य गरेका थिए । तिनको कामको मुग्धकण्ठले प्रशंसा भएको थियो ।
काठमाडौं महानगरपालिकाका लागि भने त्यो सह्य भएन । त्यहाँ अर्को चित्र बनाउने भन्दै अग्रपङ्क्तिका योद्धाको सम्मानमा बनाइएको चित्र महानगरपालिकाले मेटिदियो । टिम नेपाललेजस्तै कलाकारहरूले पनि चित्र बनाउनुपूर्व अनुमति लिएका थिए ।
काठमाडौं महानगरपालिकाका यस्ता क्रियालाप निन्दनीय र आपत्तिजनक हुन् । यस्तो राक्षसी प्रवृत्तिको अन्त्य पुराणहरूमा जनार्दनका हातबाट हुने गरेको छ । यस युगका जनार्दन त जनता नै हुन् । जनप्रतिनिधि भएको दायित्वबोध भए काठमाडौं महानगरपालिकाका पदाधिकारीले टिम नेपालका अभियन्ता र कलामा स्रष्टाहरूसँग क्षमा मागून् र नोक्सानीको क्षतिपूर्ति दिऊन् । कुशासनको यस्तो कुप्रवृत्ति फेरि देख्न सुन्न र सहन नपरोस् !