![आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि ट्रिपल बी रेटिङ पायो](https://12khari.top/uploads/posts/IME-LIfe-Insurance1624292481.jpg)
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीले जनाएको छ ।
कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।
कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरू आबद्ध रहेका छन् । कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहरूको लगानी रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्कासनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)