site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको फाइल खोज्दै बोर्ड, आईपीओ निष्कासन गर्न नदिइने !

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नदिने गरी काम अगाडि बढाएको छ । त्यसका लागि बोर्डले हालसम्म आईपीओका लागि आवेदन दिएका कम्पनीहरूको फाइल हेर्न थालेको छ ।

आईपीओ निष्कासनका लागि हाल बोर्डमा ३४ कम्पनीले निवेदन दिएका छन् । यसरी निवेदन दिनेमा हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लगानी, लघुवित्त, ‘अन्य’, होटल तथा पर्यटनलगायत समूहका कम्पनी छन् । त्यसमा सबैभन्दा बढी हाइड्रोपावर समूहका कम्पनी छन् ।

हाइड्रोपावर कम्पनीले परियोजना विकासका लागि आईपीओ निष्कासन गर्ने भएकाले सुरुमै यी कम्पनीको नेटवर्थ ९० रुपैयाँ नहुन पनि सक्छ । यसबारे बोर्डले छलफल थालेको स्रोतको भनाइ छ । यसका लागि सरकारबाट आवश्यक निर्णय गराउन सकिने बोर्ड स्रोतले जनाएको छ । 

तर, सार्वजनिक लेखा समितिले दिएको निर्देशनलाई अक्षरश: पालना गर्न बोर्डमा परेका आवेदनका सबै फाइल अध्ययन गर्न थालिएको छ । कार्यकारी अध्यक्ष नभए पनि हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सदस्य तथा बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले नै आईपीओ निष्कासन अनुमति दिने गरी काम भइरहेको बोर्ड स्रोत बताउँछ ।

स्रोतका अनुसार, कार्यकारी अध्यक्ष नियुक्त नहुँदै कार्यवाहक अध्यक्ष रानाको निर्देशनमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अहिले आन्तरिक काम गरिरहेका छन् । उनले रानाकै निर्देशनअनुसार आईपीओको काम अगाडि बढाएका हुन् । तर, अन्तिम स्वीकृति रानाबाट हुने गरी तयारी गरिएको बोर्ड स्रोतले जनाएको छ । 

कार्यकारी निर्देशक अधिकारी पनि समितिले दिएको निर्देशन अनुसार नै काम गर्ने बताउँछन् । समितिको सम्मान गरेर ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओको अनुमति नदिइने अधिकारीको भनाइ छ ।

“हामीलाई सार्वजनिक लेखा समितिले दिएको निर्देशनअनुसार नै काम हुन्छ,” उनले भने, “त्यो निर्देशनभन्दा तलमाथि केही हुँदैन । निर्देशनमा केही सुधार गर्नुपरे बोर्डले डिसिजन गर्ला ।”

त्यस्तै, यो विषयलाई टुंगो लगाउन एउटा अध्ययन समिति गठन हुने अधिकारीले बताए । उनका अनुसार एक/दुई दिनभित्र अध्ययन समिति गठन हुनेछ ।

“समितिले दिएको निर्देशन त हामीले मान्नु नै पर्छ । तर, अब बोर्डले काम कसरी गर्ने भनेर निर्णय लिनका लागि भए पनि एक/दुई दिनभित्र समिति गठन हुन्छ,” उनले बाह्रखरीसित भने ।

पछिल्लो समय आईपीओ निष्कासनमा बेथिति भएको भनेर सार्वजनिक लेखा समितिले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक सेयर जारी गर्न दिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको गत पुस १२ गते बसेको बैठकले यो निर्णय गरेको थियो । यही बैठकले धितोपत्र बजारमा पछिल्लो समय छिटोछिटो नियमावली संशोधन गरेर प्रिमियम मूल्यमा सेयर जारी गर्न दिने बेथिति सिर्जना भएको निष्कार्ष पनि निकालेको थियो ।

त्यस्तै, समितिले जलविद्युत् आयोजनाका लगानीकर्तालाई ऋण चुक्ता नहुन्जेलसम्म एक तिहाइ सेयर बेच्न नदिने गरी व्यवस्था गर्न पनि बोर्डलाई निर्देशन दिएको थियो । लकइन अवधि तीन वर्ष हुँदा आधारभूत लगानीकर्ता लकइन अवधि सकिना साथ सेयर बिक्री गरेर बाहिरिने भएकाले पनि साधारण लगानीकर्ताको लगानीको सुरक्षा हुर्नुपर्ने समितिको निष्कर्ष छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro