जनकपुरधाम । प्रदेश नम्बर–२ मा संघीयताको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै प्रदेश प्रमुख डा. राजेश अहिराज झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका छन् । प्रमुख झाले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका हुन् ।
मुख्यमन्त्री राउतले सत्तारुढ दलका चार मन्त्रीलाई पदमुक्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्मविपरीत रहेको जिकिर गरेका छन् ।
महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्न उनले मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा भनिएको छ । प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशीताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा उल्लेख गरिएको छ ।
उनले संघीयता र समावेशीताका मूल मर्मानुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीयता र समावेशी हुने गरी पुनः मन्त्रिपरषद् गठन गर्न सरकारलाई निर्देशन दिइएको छ ।