काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोनाविरुद्धको खोप उपलब्ध गराएर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।
नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले छिटोभन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग, व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताए ।
थपिँदो निषेधाज्ञाका कारण अब जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना रहेको पनि नाडाले जनाएको छ । “यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ । यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान अपिल गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।