site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषकलाई खेतीपातीको चटारो 
फाइल तस्बिर ।

दाङ । कोरोनाको दोस्रो लहरसँगै दाङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा पनि कृषकलाई खेतीपातीको चटारो छ । मकै खेती सकाएका किसानले धान खेतीको तयारी थालेका छन् ।

पानी परेपछि केही राहत महसुस गरेका किसान अब धान खेतीका लागि धानको बीउ र मलको जोहोमा लागेको कृषक कृष्ण चौधरीले बताए । तुलसीपुरको एग्रोभेटमा धानको बीउ किन्दै गरेका उनले ब्याड राख्नका लागि धानको बीउ लिन लागेको बताए । उनीजस्तै अरु किसानको पनि हाल बजारमा भिड लाग्ने गरेको छ ।

कोरोनाको संक्रमणको जोखिमसँगै वर्ष दिन खाने खेतीका लागि आफू बीउ र मल लिन आएको अर्को कृषक नन्दु केसीले बताए । “जेठको आधाआधी जान थाल्यो, अब खेतीका लागि मल, बीउ लिन आएका छौँ,” उनले भने । निषेधाज्ञा भए पनि यस वर्ष मल, बीउ किन्न भने सहज भएको उनले बताए ।

Argakhachi Cement Island Ad

“मल, बीउको भने यस वर्ष समस्या छैन, सहजता छ,” उनले भने ।

गत वर्ष अनुदानमा कृषकलाई धानको बीउ उपलब्ध गराएको स्थानीय तहले यस वर्ष भने कोरोनाका कारण धानको बीउ उपलब्ध गराउन नसकेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले धानको बीउका लागि सूचना प्रकाशित गरेको र निषेधाज्ञाका कारण कुनै पनि कम्पनी तथा सहकारी सूचीकृत हुन नआएको जनाएको छ ।

“हामीहरुले धानको बीउका लागि सहकारीलाई सूचना प्रकाशित गरी सूचीकृत हुन भनेका थियौँ, कुनै पनि आउनुभएन । यस वर्ष धान अनुदानमा वितरण गर्न सकिएन,” नायब प्राविधिक चन्दिका घर्तीले भनिन् “कोभिडकै कारण यस्तो समस्या भएको हो ।”

त्यस्तै, सधैँ खेतीको समयमा मलको अभाव व्यहोर्नुपर्ने भए पनि यस वर्ष भने हालसम्म रासायनिक युरिया र डीएपी मल आइरहेको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरले जानकारी दिएको छ । हाल सहकारीहरुले दैनिक मल ढुवानी गरी लिइरहेको प्रमुख तीर्थ न्यौपानेले बताए ।

उनले हालसम्म मल आवश्यक मात्रामा आएको र आएको मल स्थानीय पालिका र वडामा सहकारीलाई वितरण गरिएको बताए । “पछि के हुने हो थाहा छैन, अहिलेलाई धानबालीका लागि मल आइरहेको छ, अभाव छैन,” उनले भने । निषेधाज्ञामा पनि मल आयात भइरहेको छ ।

त्यस्तै, धान, मकैलगायतको बीउ–बिजन पनि आयात भइरहेको र किसानको मागबमोजिम पु¥याएको एग्रोभेट सञ्चालकहरु बताउँछन् ।

एग्री नेपाल प्रालि तुलसीपुरका प्रमुख माधव केसीले धान र मकैको बीउ निषेधाज्ञामा पनि आएको बताए । “कृषकहरुको खेतबारी बीउ अभावका कारण बाँझो रहने अवस्था छैन, आवश्यक मात्रामा किसानहरुले पाइरहेका छन्,” उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्