काठमाडौं । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई यसै साता विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिइन् । राजदूत क्यापिलरका अनुसार, स्वीट्जरल्यान्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ कीट सहयोग गर्न लागेको हो ।
स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने उनले बताइन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने जनाइएको छ ।
उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भाव देखाएकोमा स्वीट्जरल्यान्ड सरकारलाई धन्यवाद दिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए ।
नेपालमा कोरोनाभाइरस संक्रमण बढिरहेका बेला सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कूटनीतिक पहल गरिरहेको छ ।