site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, ‘सरकारी दरभन्दा सस्तो’मा पाइने

दाङ । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर दाङमा ल्याइएको छ । निजी क्षेत्रको पहलमा यो औषधि ल्याइएको हो ।

घोराहीको कालिका मेडिकलमा उपलब्ध हुने यो औषधि चिकित्सकको सिफारिसका आधारमा मात्रै बिक्री गरिनेछ । यो औषधिको कालोबजारी भइरहेको बेला दाङमा भने सरकारी मूल्यभन्दा घटाएर बिक्री गरिने जनाइएको छ ।

Argakhachi Cement Island Ad

सरकारले प्रतिभाइल चार हजार ९०० रुपैयाँ बिक्री मूल्य तोकेको भए पनि नाफा नखाइ खरिद मूल्य अर्थात् प्रतिभाइल चार हजार ८०० मै उपलब्ध गराइने कालिका मेडिकलका सञ्चालक बद्री खड्काले बताए ।

थोक औषधि व्यवसायी संघ लुम्बिनीको समन्वयमा औषधि ल्याइएको संघका प्रदेश सचिव दीपेन्द्र न्यौापनेले जानकारी दिए । केही दिनअघिसम्म यसको निकै कालोबजारी चलेको थियो । प्रतिभाइल ३२ हजार रुपैयाँसम्म हालेर यो औषधि प्रयोग गरिएको थियो ।

आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट २२ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो । आयानले यही मे २५ तारिखभित्र थप २५ हजार भाइल रेम्डेसिभिर आइपुग्ने जनाएको छ ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले रेम्डेसिभिर औषधिको अभाव नहुने भन्दै कोही कसैले अनावश्यक रुपमा औषधि घरमा लगेर नराख्न र कालोबजारीलाई प्रोत्साहित हुने कार्य नगर्न आग्रह गरे । उनले अरु आयातकर्ताहरुले पनि रेम्डेसिभिर ल्याउँदै गरेको बताए ।

रेम्डिसिभिर प्रभावकारी छ ?
रेम्डिसिभिर कोरोनाभाइरसका लागि बनाइएको औषधि भने होइन । यो इबोलाका लागि बनाइएको हो । “रेम्डिसिभिरले भाइरसलाई एउटाबाट दुईवटा, दुईवटा चारवटा बन्नबाट रोक्ने काम गर्छ,” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराई भन्छन्, “इबोलाका लागि बनाएको भए पनि भाइरसलाई रोक्न मद्दत गर्ने भएकाले कोरोनामा प्रयोग गरिएको हो ।” रेम्डिसिभिर हाल अध्ययनका लागि मात्र प्रयोग गरिएको औषधि हो ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १९:०८
प्रतिक्रिया दिनुहोस्