मनु ब्राजाकी
मध्याह्न छ ।
सुँगुरहरू भुइँ खन्दै छन् ।
दशआठजना केटाकेटीहरू यताउति छरिएका छन् मानौँ, यी घर सजाउनका लागि होइनन् । फोहोरमैलाका डंगुरहरू पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको थोत्रो गलैँचाझैँ कताकतै सुकेका दूबोका टाटाहरू छन् । दुईवटा सम्पूर्ण पात झरेका रूखहरू पनि जिंग्रिङ गरेर एकातिर ठडिएका छन् ।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको ।
उसले यी सबै कुरा हेरेपछि सुँगुरलाई हेर्न थाली । यी सुँगुरहरू पनि त्यो नालामा पस्न मन पराउँछन् । एक दिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन । ऊनेर आउने दुईखुट्टे सुँगुरहरू पनि आजभोलि उसलाई यै नालाजस्तो सम्झिएर तर्किन्छन् ।
केही ज्यादै भोकाएका र मातेका सुँगुरहरू भने आइपुग्छन् । बेसुरमा भुइँ खन्छन् । कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन् । ती भोलि फेरि अर्कैथरीका सुँगुर देखा पर्छन्, सायद कुनै बारीमा पसेर सखरखण्ड र मूला उखेल्न नपाएर ।
झ्यालसम्म आएको घाम जुनेलीजस्तो छ । तीन बज्यो । माघ ५ गते । संवत् २०४० साल । उसले चुरोट सल्काई र अर्को झ्यालतिर फुकी ।
केटाकेटीहरू अझै पनि फोहोरमैलाको डंगुरमा केके खोज्दै छन् केके । आडैमा ठूलाबडाहरूको ठूलो टोल छ । त्यसो हुनाले केही प्राप्तिको आशा छ । यी पनि त सुँगुरका पाठाहरू हुन् । कुन सुँगुर ? थाहा छैन । होला कतै आफ्नै खोरमा बसेको । यहाँ त जति पनि सुँगुरहरू आउँछन् नामै नभएका अथवा घर, अफिस र पुरेतकहाँ छोडेर आएका ।
उसले एउटा कागतको टुक्रा धुजामुजा पारी र टुक्राहरूमध्ये अलिकति टिपेर जोर मिलाउँदै भइँमा राख्न थाली । सबै जोर भए भने ग्राहक आउँदैन, बिजोर भयो भने ग्राहक आउँछ । अन्तमा उसको हातमा एउटा टुक्रा रहन्छ । आज ग्राहक आउँछ ।
संवत् २०३० साल भाद्र २० गते । ऊ यहाँ आएकी थिई, स्वास्नी बनेर रत्नबहादुरकी । छिट्टै रत्न हरायो । बहादुर मात्र बाँकी रह्यो । अनि, ऊ आफू, जो फूलमाया थिई— बाट पनि छिटै फूल झरेर माया बाँकी रह्यो । बहादुरले शीघ्र परिवर्तन ल्याएको हुँदा उसको मात्र जातिवाचक नाम रह्यो अर्थात् फूल रहेन नीलडाम रह्यो ।
ऊ त्यसताका सस्तै खालको भए पनि अनेकौँथरीका सुगन्ध बोकेर हिँड्थी । उसका ग्राहकहरू उसलाई सुगन्धित वायुका झोकाले चिन्ने गर्दथे । ह्विस्कीमा बुड्थी, कारमा गुड्थी, होटेलमा अनौठो परिकारहरू खान्थी ।
परिचयको संसार विशाल थियो । झुटै भए पनि ।
“तिम्रो नाम के हो ?” थाहा छ यहाँ कसैको नाम हुँदैन भनेर ।
“माला ।” फूलमायाभन्दा यै नाम आकर्षक छ ।
“कति मिठो नाउँ ! घर कहाँ हो ?” ग्राहक भावुक होइन ।
“पोखरा । जानुभा’छ ?” कहिलेको उत्तरमा विराटनगर आउँछ, कहिले पाल्पा ।
“गएको छैन ।” तर, ऊ पोखराको रैथाने हो ।
“तपाईंको घर नि ?” मतलब छैन तापनि ।
“नेपालगन्ज ।” जहाँ ऊ कहिल्यै पुगेको छैन ।
“के गर्नुहुन्छ ?” ग्राहकको मोटाइको अन्दाज ।
“बिजनेस ।” जुन उसका बाउ–पुर्खा कसैले गरेनन् ।
“घरमा स्वास्नी पनि होली ?” सबैभन्दा वाहियात प्रश्न ।
“तिमीजस्ती राम्री छैन ।” सबभन्दा झुटो उत्तर ।
सबभन्दा शाश्वत र सत्य रुपियाँ हो र त्यो ग्राहकको पर्समा छ । जसलाई निकाल्नु उसको अधिकार र कर्तव्य दुवै हो ।
ग्राहकले झोलुवा मगाउँदा उसले सेकुवा र भुटुवाको अर्डर गर्थी । ग्राहकले नेपाली चुरोट खाँदा ऊ बेलायती मगाऊ भन्थी । ग्राहकले सयकडाको कुरा गर्दा ऊ हजारको अत्तो थाप्थी । ग्राहक उसको दृष्टिमा नितान्त भेडा थिए, जसलाई मुड्नु उसको कर्तव्य थियो । अन्यथा, रत्नहीन बहादुरले उसको फूलहीन नामलाई नीलडाममा परिणत गर्न बेर लाउँदैनथ्यो ।
पोहर साल ऊ मर्यो अथवा मारियो । तिनहरूबाटै जसलाई उसले लिएर आउने गरेको थियो ।
“हिँड् यार, आज साला रत्नेलाई समातौँ ।” मातेको छ ।
“सारै बार्गेनिङ गर्छ, अन्तै जाऊँ ।” अलिकति दुनियाँदारी अझै बाँकी छ ।
“साला ब्रोकरले बार्गेनिङ नगरे के तेरो बाऊले गर्छ ?” थ्रिलायन्समा ठर्रा पनि थप भएको छ ।
“सबैका बाऊ ब्रोकर हुन्छन् । यदि, तेरी बहिनीजस्ती राम्री छोरी घरमा भए भने ।” यहाँ भने ठर्रामा थ्रिलायन्स थप भएको छ ।
“साला दार्शनिक नबन् ।”
“आज पर्स खाली छ यार !”
“छ न त मसित पनि छैन । तर, साला रत्नेले धेरै ठगेको छ, हिँड् ।”
संवत् २०३९ साल । पुस ७ गते । समय २४ बजे । दुवै रत्नेको ढोकामा उभिन पुगेका थिए । परम्पराअनुसार रत्नेले चिन्ने उत्सुकता देखाएन । परिचयमा बार्गेनिङ धेरै हुन सक्तैन ।
“माला ख्वै ?”
“आज छैन हजुर ! साहबसित बाहिर गएकी छे ।”
“कुन साला साहब ? तैँले हामीलाई चिनिनस् ?”
रत्नेले नचिनेको भाव देखायो ।
“म हुँ ड्यानियल फ्यान्टम अनि यो हो जेम्स बन्ड !”
तैपनि रत्ने चटपटाएन । अनि त दुवैले औँठी लगाएको मुड्कीले रक्सी खाँदाखाँदा निर्बल भएको बहादुरलाई गोद्न थाले । जेम्स बन्डले ‘अब भैगो’ भन्दाभन्दै फ्यान्टमले गर्दनमा कराँते चाप हानिहाल्यो ।
बिचरा रत्नबहादुर ! त्यस दिन ऊ रोएकी थिई । साँच्चै रोएकी थिई ।
त्यस दिनपछि ऊ एक्ली भई, फूलपात सबै झरेर जिंग्रिङ ठडिएको बोटझैँ । जसमा चराचुरुंगी, भमरा–पुतली केही बस्तैन । यो समाजमा अत्यन्त दुक्ख दिने पापी पुरुष पनि फोहर पुछेको काठजस्तै काम लाग्ने हुँदोरहेछ । त्यो रत्ने, जोसँग बसेर उसले भविष्यको रंगिन सपना देखेकी थिई, त्यो रत्ने, जोसँग प्रतिदिन चितामा डढेर विपना भोगेकी थिई— आज नहुँदा पेट पाल्न गारो भइराखेको छ ।
आज धेरै दिनपछि उसले आफ्नो भाइलाई सम्झी । बाह्रतेर वर्षको अबोध भाइ सौतिनी आमाको निरन्तर झम्टाबाट जोगिन मधेस झरेको, बेपत्ता भयो । त्यसको केही वर्षपछि ऊ पनि रत्नबहादुरसँग यहाँ आएकी थिई, सुखी भविष्यको सपना बोकेर । पापी रत्ने पनि आफ्नो सम्पूर्ण बहादुरी देखाएर यो संसारदेखि बिदा भयो ।
असंख्यपटक आफ्ना सपना भंग भए पनि उसले सपना देख्न छोड्न सकिन । कल्पना र सपना मानिसका यिनै दुईवटा अमूल्य रत्न हुन्, जसमा कुनै बहादुरी छैन, कुनै यथार्थ छैन । कसैले खोस्न सक्तैन, कसैले लुट्न सक्तैन, जति खर्च गरे पनि रित्तिँदैन । आत्माजस्तै आजभोलि कल्पना र सपना पनि उपेक्षित र हास्यास्पद ठहरिएका छन् ।
सूर्य डाँडाको थाप्लोमाथि ओर्लिन थाले पनि घाम अझै ऊसँगै झ्यालमा बसेको छ । थैलीबाट एउटा क्याप्सुल रेस्टेक्लिन झिकेर खाई । इन्जेक्सन दिन आज कम्पाउन्डर आउँछ कि आउँदैन ? बिजोर भएको थियो, ग्राहक पनि आउनुपर्ने ।
झन्डै एउटा पाठो नालामा नझरेको ।
केही महिनाअगाडि भाइटीकाको दिन ऊ भावुक भएकी थिई । उसको भावुक हुने दिन नै यही हो । अरू दिन उसले भावुक हुने फुर्सत पाउँदिन । भावुक हुँदा कल्पना गर्न र सपना देख्न फुर्सत चाहिन्छ । अन्यथा, अगाडि जे आइपर्छ त्यसैलाई भोग्दै जानु नै जीवन भएको छ ।
प्रतिवर्षझैँ गत भाइटीकाको दिन पनि ऊ झ्यालमा बसेर सपना देख्तै थिई । अनि, प्रतिवर्षझैँ टपरीमा फूलमाया, टीका र सेलरोटी सजाएर बसेकी थिई । आफ्नो अबोध र चञ्चल भाइलाई सम्झेर विह्वल हुँदै थिई । मानिसहरू तल बाटोमा रङबिरङका टीका निधारमा टाँसेर, गलामा दूबो र फूलका माला झुन्ड्याएर ओहोरदोहोर गर्दै थिए । जताततै जुवाको खाल जमेका थिए ।
सूर्य अस्ताउना साथ उसको घरअगाडिको पहेँलो बिजुली उदायो ।
लरखराउँदै र धरमराउँदै एउटा युवक माथि उक्लियो । उसका छाया पनि ऊसँगै लरखराउँदै थियो । उसलाई देखेर फूलमाया एक्कासि झस्किई । दुरुस्तै, अँ दुरुस्तै आफ्नो भाइजस्तो लाग्यो उसलाई । उस्तै छलछन्दविहीन अनुहार, उस्तै झ्याम्म परेका आँखीभौँ र उस्तै हँसिलो अनुहार ।
आज उसको नौनीको डल्लोजस्तो हृदय पग्लेर उसको सम्पूर्ण चेतनालाई स्नेहले ढाक्न थाल्यो । त्यस स्निग्धतामा उसको व्यापारिक विवेक चिप्लिएर आत्मीयताको खाडलमा लड्यो । अनि, आद्र्र र स्नेहपूर्ण दृष्टि लिएर उठी र त्यही युवकको दुवै हात समातेर आफ्नो खाटमा बसाली ।
“साला हारियो निकै...माला ! हारे पनि...”
ऊ चुप लाग्यो । फूलमायालाई आश्चर्य लाग्यो, उसले नाम पनि जानेको रहेछ । ऊ कहिल्यै यहाँ आएको जस्तो त लाग्दैन । भलादमी भ्रष्टाचारीझैँ उसको पनि नाम चलेकै रहेछ ।
“बाबु, म तिमीलाई टीका लगाइदिऊँ है ? आज भाइटीका हो ।” ऊ अत्यन्त भावुक भएर ऊतिर हेर्दै छे । ऊ भने आफ्नो मातले चिम्रिएका आँखा खोल्ने प्रयत्न गर्दै छ ।
उसले टपरी अगाडि राखेर सबै विधि पुर्याउन्जेल त्यो युवक ऊतिर वाल्ल परेर हेरिराख्यो । माला लगाइदिएर जसै उसले स्नेहपूर्वक युवकको गालामा म्वाइँ खाई त्यो बुरूक्क उफ्र्यो र उसका सबै लुगा कुखुरा भुत्ल्याएझैँ भुत्ल्याएर फ्याँक्तै बरबराउँदै भन्न थाल्यो, “तेरो रेट बीस ह्वैन ?...रेट !”
उसले चोलो खोल्ने कष्ट पनि गरेन, सबै टाँकहरू छिनालेर उदांगो पार्यो । अनि, कुकुराले झैँ एक छिन भ्याटभ्याट गरेर सफाइसाथ बेग्लियो ।
बाहिर सुँगुर र भित्र युवक दुवै धरती खन्दै थिए ।
बिस्तारो उसको चेतना सपनाको सिँढीबाट ओर्लिँदै थियो ।
ऊ सर्वाङ नांगी थिई । तर, युवकले फ्याँकेको द–दशका दुईवटा नोटले उसको इज्जत ढाकेको थियो । अब त्यहाँ युवक थिएन, थियो ढोका, जो ऊतिर वाल्ल परेर मुख बाएर हेर्दै थिए ।
सूर्य डाँडापछाडि झरिसकेछ ।
ऊ सपनाबाट बिऊँझेर वर्तमानमा आइपुग्छे । कम्पाउन्डर इन्जेक्सन दिन किन आएन अहिलेसम्म ? आउला । तीनपटक गोनोरियाग्रस्त भइसकेकी थिई भने त्यस दिन टिकोटालो गरेको भाइले दिएको सिफलिस अझै उसँग छ— नौलो स्नेहोपहार !
बिजोर भएको थियो, ग्राहक आउला !
(रचनाकाल ५ माघ, २०४० साल)
(कथाकार ब्राजाकीको ‘तिम्री स्वास्नी र म’बाट ।)