काठमाडौं । निषधाज्ञा अगाडिसम्म लगातार रुपमा बढेको आयातले अर्थतन्त्रका बाह्य सूचकमा दबाब बढ्दै गएको छ । रेमिट्यान्समा वृद्धिका बाबजुद पनि मासिक रुपमा नै १२५ अर्बको आयात हुँदा चालु खाता घाटा बढ्दै गएको छ भने सोधनान्तर बचतमा पनि दबाब बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकको आधारमा मुलुको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चैत मसान्तमा चालु खाता घाटा २ खर्ब ७ अर्ब ४१ करोड पुगेको जनाएको छ । जबकि, गत आर्थिक वर्षको यही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स १६.५ प्रतिशतले बढे पनि रेमिट्यान्ससँगै आयात पनि १३.१ प्रतिशतले बढेको छ । जसले गर्दा चालु खाता घाटा चुलिँदै गएको छ । समीक्षा अवधिमा निर्यात पनि २० प्रतिशतले बढे पनि आयातको तुलनामा निर्यात धेरै नै न्यून रहेको छ ।
चालु खाता घाटा चुलिँदै जाँदा सोधनान्तर स्थिति (भुक्तानी सन्तुलन)मा पनि दबाब बढ्दै गएको छ । चैत मसान्तसम्ममा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । फागुन मसान्तमा ६८ अर्बले बचतमा रहेको सोधनान्तर स्थिति एक महिनामा नै करिब साढे २५ अर्बले घटेको छ । यद्यपि, गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।
यस अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भइ १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी घटेर १२ अर्ब ३५ करोड कायम भएको छ ।
सोधनान्तर बचतमा मात्रै नभएर विदेशी विनिमय सञ्चितिमा पनि दबाब पर्न लागेको छ । असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढे पनि पछिल्लो केही महिनायता लगातार घटेको छ । आयात निरन्तर रुपमा बढ्दा सञ्चित रहेको विदेशी मुद्रा बाहिरिने क्रम बढेको तर रेमिट्यान्स बढे पनि अन्य विदेशी मुद्रा आर्जन गर्ने स्रोत कम हुँदा विनियमय सञ्चिति घट्न लागेको हो ।
०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत २.२ प्रतिशतले वृद्धि भइ ०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । यद्यपि, फागुनमा १४ खर्ब ३६ अर्ब रहेकोमा सामान्य घटेको छ । कोभिड नियन्त्रणमा सरकारले बाह्य सहायता पाइरहँदा आयात उच्च हुँदा पनि विदेशी विनिमय सञ्चितिमा ठूलो दबाब भने देखिँदैन ।
अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भइ ११ अर्ब ९६ करोड पुगेको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.९ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।