site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिडले सबै क्षेत्र प्रभावित तर लघुवित्त कम्पनी भने मालामाल 

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका अधिकांश लघुवित्तको खुद नाफा उल्लेख्य रुपमा बढेको पाइएको छ । हाल नेप्सेमा ५० वटा लघुवित्त संस्था सूचीकृत छन् । 

जसमध्ये केही लघुवित्तको सेयर मर्जरको कारण रोक्का रहेको छ । नेपाल राष्ट्र बैंकको चैत मसान्तको तथ्याङ्कअनुसार ७४ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । 

चैतयता समता लघुवित्तले घरेलु लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । जसअनुसार हाल ७३ वटा लघुवित्त सञ्चालनमा छन् । 

जसमध्ये सर्वसाधारणमा सेयर जारी गरेर नेप्सेमा सूचीकृत लघुवित्त ५१ वटा छन् भनेर बाँकी २२ वटा लघुवित्तले सार्वजनिक निष्कासन गर्न बाँकी छ । 

जसमध्ये ३९ लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । 

वित्तीय विवरण प्रकाशित गरेको अधिकांश लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । 

कम्पनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खुद नाफा औसतमा ९७.०२ प्रतिशतले बढेको छ । 

लघुवित्त कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि उल्लेख्यरुपमा बढेको छ । 

बैंकहरुको आधार ब्याजदर घटेसँगै लघुवित्त संस्थाले लिने स्रोतको लागि पनि घट्दा लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानी उल्लेख्य बढेको छ । 

गत आर्थिक वर्षको यही अवधिमा ९ देखि ११ प्रतिशत रहेको लघुवित्त संस्थाहरुको कोषको लागत अहिले पाँचदेखि सात  प्रतिशतको बीचमा झरेको छ । 

लघुवित्तहरुको कोषको लागत घटे पनि ऋणिसँग लिने कर्जाको ब्याजदर नघटाउँदा खुद ब्याज आम्दानीसँगै खुद मुनाफा पनि बढेको छ । 

यसरी ११ प्रतिशत रहेको कोषको लागत ६/७ प्रतिशतमा झर्दा पनि लघुवित्तले ऋणिबाट लिने कर्जाको ब्याजदर भने राष्ट्र बैंकले तोकेको सिलिङभन्दा तल झरेको देखिँदैन । 

केही लघुवित्तले भने १/२ प्रतिशत ब्याजदर घटाए पनि अधिकांश लघुवित्तको ब्याजदर १५ प्रतिशत नै छ । 

कोभिडको कारण अर्थतन्त्र प्रभावित हुँदा बैंकिङ प्रणालीमा बढेको तरलताको लाभ लघुवित्त कम्पनीलाई भएको हो । 

लघुवित्त कम्पनीले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कतिपय बैंकबाट आधार ब्याजदरभन्दा घटे पनि कर्जा लिएको बैंकहरु नै बताउँछन् । 

जसले गर्दा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुबीच कर्जा खोसाखोसको अस्वस्थ प्रतिष्पर्धा पनि चलेको थियो ।

९/१० प्रतिशतमा लिएको कर्जा तिरेर अर्को बैंकबाट आधार ब्याजदरमा नै कर्जा तान्ने लघुवित्तहरुबीच होडबाजी नै चलेको थियो । 
तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणलाई आधार मान्ने हो पनि लघुवित्त संस्थाहरुको प्रतिसेयर आम्दानी औसतमा नै करिब ४४ रुपैयाँ रहेको देखिन्छ ।

नेप्सेमा सूचीकृत भएर वित्तीय विवरण प्रकाशित गरेको ३९ लघुवित्त संस्थाको चैत मसान्तको कुल चुक्ता पुँजी १६ अर्ब ६३ करोड ३ लाख १० हजार रहेको छ । 

उक्त संस्थाहरुले ९ महिनाको अवधिमा ५ अर्ब ४७ करोड ६४ लाख ८७ हजार खुद मुनाफा आर्जन गरेका छन् ।

लघुवित्त कम्पनीको अपरिस्कृत वित्तीय विवरण हेर्दा घटेको कर्जाको ब्याजदर लघुवित्तका ऋणिले कुनै राहत नपाएको तर सेयरधनी भने मालामाल भएका छन् । 

केही लघुवित्तबाहेक अधिकांश लघुवित्तको खुद नाफा ९० प्रतिशतभन्दा माथिले बढाएका छन् । 

विपन्न वर्ग अर्थात् गरिबलाई सेवा प्रवाह गर्ने लघुवित्त संस्थाको  १०० रुपैयाँ प्रतिकित्ता सेयर रहँदा आम्दानी औसतमा ४४ रुपैयाँ रहेको छ । 

कोभिडको कारण सबै व्यापार व्यवसाय ठप्प भएको र अर्थतन्त्र नै नकारात्मक हुँदा लघुवित्त संस्थाहरुलाई भने कोभिड कमाउने अवसरको रुपमा देखा परेको छ । 

ठूला र उद्योगपतिलाई लगानी गर्ने बैंकहरुको कर्जाको ब्याजदर आधार ब्याजदर घटेसँगै अहिले एकल अंकमा आएको छ । 

तर विपन्न वर्गमा लगानी गर्ने लघुवित्तले भने यो विषम परिस्थितिमा घटेको ब्याजदरको लाभ लिएर नाफा बढाएका छन् । न त विपन्न वर्गको पीडामा मलम लगाउन केही प्रतिशत ब्याजदरमा सहुलियत दिएको देखिन्छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको नेप्सेमा सूचीकृत ३९ लघुवित्तमध्ये थोक कर्जा प्रवाह गर्ने आरएमडीसी, आरएमडीसी र फस्ट माइक्रो फाइनान्स तथा सामुदायिक लघुवित्त, गणपति माइक्रोफाइनान्स र सिभिल लघुवित्तको मात्रै प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा तल रहेको छ । यता नेशनल माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १०० रुपैयाँ नघटाउँदा हालैमात्र आईपीओ जारी गरेको महिला लघुवित्तका साथै ग्लोबल आइएमई लघुवित्तको ८५ रुपैयाँ र फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको ५० रुपैयाँ र अग्रणी लघुवित्त मानिने छिमेक लघुवित्तको पनि करिब ७० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । 

सञ्चालनमा आएको चारवर्ष मात्रै पुगेको आशा लघुवित्त, स्वाभिमान लघुवित्त, नेपाल एग्रो लघुवित्त तथा इन्फिनिटी लघुवित्तले पनि प्रतिसेयर आम्दानी ५० रुपैयाँ भन्दा बढी रहेको छ । 

यस्तो विषम परिस्थितिमा आफुलाई विपन्न वर्गमा लगानी गर्ने भन्ने संस्थाको यो नाफालाई स्वाभाविक मान्न नसकिने कतिपय लघुवित्तकर्मी र राष्ट्र बैंकका अधिकारीहरु पनि बताउँछन् ।

“गरिब र विपन्न वर्गमा लगानी गर्ने भन्ने प्रतिसेयर आम्दानी ५०, ६०, ८५, १००  रुपैयाँ देखाउने यस्तो पनि हुन्छ,” राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन् । 

लघुवित्त विज्ञ रामचन्द्र जोशी केही मात्रमा प्रोभिजन राइट ब्याक र व्यवसाय विस्तार पनि लघुवित्तको नाफा बढ्न मद्धत गरेको बताउँछन् । 

तर, वाणिज्य बैंकहरुको ब्याजदर घट्दा लघुवित्तको स्रोतको लागत पनि घटेको र जसले गर्दा लघुवित्तको मार्जिन बढेको जोशीको दाबी छ । 

लघुवित्तले प्रकाशित गरेको विवरण अहिलेको विषम परिस्थितिमा सामान्य रुपमा लिन नहुने उनको विश्लेषण छ । 

केही लघुवित्तको विवरण हेर्दा शंका गर्ने ठाउँ रहेको जोशी बताउँछन् । 

अहिले लघुवित्तको नाफा सस्टेनबल नभएको जोशीको दाबी छ । केही लघुवित्तमा यस्तो अवस्थामा पनि व्यवसाय विस्तार उच्च देखिएकोले वास्तविक व्यवसाय नै गरेर नाफा बढेको हो कि हैन भन्नेमा शंका गर्ने ठाउँ रहेको जोशी बताउँछन् । 

यता लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल केही समय बैंकहरुको ब्याजदर घट्दा कस्ट कम भएर नाफा बढे पनि यो धेरै समय नरहने बताउँछन् । 

कस्ट अफ फन्ड घटे पनि सोहीअनुसार अहिले कर्जाको ब्याजदर घटाउँदा भोलिको दिनमा लागत बढ्दा लघुवित्तका ऋणलाई किन बयाजदर बढ्यो भनेर बुझाउन समस्या हुने लम्सालको भनाइ छ । 

जसले गर्दा राष्ट्र बैंकले तोकेको १५ प्रतिशतमा नै कर्जा लगानी गरेको उनले दाबी गरे । 

यद्यपी लघुवित्तहरुले राष्ट्र बैंकलाई बेस रेट निकालेर स्प्रेड रेट तोकिदिन आग्रह गरिरहेको उनले बताए । जसले गर्दा कस्ट घट्दा कर्जाको ब्याजदर पनि घट्ने र कस्ट बढ्दा कर्जाको ब्याजर पनि बढ्ने उनको तर्क छ । 

लघुवित्त संस्थाले उठेको ब्याज आम्दानीलाई मात्रै ब्यालेन्स सिटमा देखाउने गर्दछन् । उठेको ब्याज आम्दानीको आधार यति ठूलो मात्रामा नाफा बढेकोले लघुवित्तको कर्जा रिकभरिमा पनि शंका गर्ने अवस्था आएको राष्ट्र बैंकका अधिकारीहरुको दाबी छ ।

कतै लघुवित्तले ब्याजलाई पुँजीकरण गरेर ऋण उठाएको तथा कर्जा विस्तार गरेको तथ्याङ्क देखाएका छन् कि भन्नेमा आशंका रहेको देखिन्छ । 

लघुवित्त विज्ञ रामचन्द्र जोशी पनि केही लघुवित्तको विरणमा त्यस्तो शंका गर्ने अवस्था रहेको बताउँछन् । 

नेपाल राष्ट्र बैंकले पनि लघुवित्तको नाफा सामान्य नभएको भन्दै चासो राखेको छ । बुधबार राष्ट्र बैंक नियमन विभागले लघुवित्तका सीईओसँग छलफल गर्दै नाफा बढेको विषयमा चासो राखेको लघुवित्तकर्मीहरु बताउँछन् । 

लघुवित्तको नाफामा भएको वृद्धिको प्रभाव सेयर बजारमा पनि देखिएको छ । गत साता पाँचहजारमा रहेको लघुवित्त उपसूचक एक सातामा नै ५५०० नाघेको छ । जबकि बजार परिसूचक भने यसबीचमा खासै बढेको छैन । 

मर्जरले सेयर कारोबार रोक्का भएकोबाहेक थोक कर्जा प्रवाह गर्नेभन्दा अन्य सबै लघुवित्तको सेयर मूल्य अहिले १० भन्दा माथि ५ हजारसम्म रहेको छ । अधिकांश लघुवित्तको मूल्य आम्दानी अनुपात ५० गुणाको वरिपरि रहेको छ । 
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro