site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीकै खर्चमा पदकको अपेक्षा !

काठमाडौं । भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ (जेठ ७ देखि १७)सम्म ‘एएसबीसी एलिट मेन् एन्ड वुमेन् बक्सिङ च्याम्पियनसिप २०२१ हुँदैछ । 

यो प्रतियोगितामा सहभागी हुन नेपाली बक्सिङ खेलाडीको छनोट गएको चैत २९ गतेदेखि ३१ गतेसम्म चल्यो । नेपाल बक्सिङ एशोसिएसनले गरेको छनोट प्रतियोगितामा सहभागी हुन  खेलाडी स्वयम्ले खर्च जुटाउनु पर्ने थियो । 

नेपाली खेलाडीका लागि आफैं आर्थिक जोहो गर्नु नौलो कुरा भने होइन । छनोटमा सहभागी हुनका लागि आठबुँदे मापदण्ड बनाइएको थियो । आठबुँदेले भनेझैँ भएमात्रै छनोटमा सहभागिता जनाउन पाउने भनी लेखिएको थियो । 

दुईवटा बुँदाले खेलाडीलाई कमजोर बनाइदियो । ‘खर्च’ शीर्षकमा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकले आफ्नो खर्च आफैँ बेहोर्नुपर्ने भनियो ।  

यस्तै, ‘ड्रेस’ समेत खेलाडी आफैँले व्यवस्था गर्नुपर्ने भनिएको थियो । जहाँ सबै महिला तथा पुरुष खेलाडीले आफ्नो रातो र निलो ड्रेस तथा अन्य सामग्री आफैँ व्यवस्था गर्नु पर्नेछ, भनी उल्लेख छ । 

खेलाडीले पनि त्यसै गरे, आफ्नै खर्चमा सहभागिता जनाए । र, नतिजा राम्रै आयो, प्रतियोगिताका लागि छनोट भए । छनोट भएका खेलाडीबाट संघले विदेश जानका लागिसमेत खर्चको अपेक्षा गरिरहेको छ ।

भारतमा हुने प्रतियोगिता हाल दुवईमा गर्ने तयारी छ । दुवईमा प्रतियोगिता भएको खण्डमा नेपाल बक्सिङ एशोसिएसनले खेलाडीको खर्च धान्न नसक्ने भनी हात उठाएको छ ।  

खेलाडीहरु आफ्नो खर्च स्वयम् बेहोर्न तयार भएको खण्डमा एशोसिएसनले सजिलै प्रतियोगितामा पठाउने सोच बनाएको छ । 

“हामी आफ्नै खर्चमा छनोटमा सहभागी भयौँ । र, छनोट पनि भयाैँ । अब भारतमा हुने प्रतियोगिता दुवईमा हुने भनिएको छ । तर, सघंले हामी खर्च बेहोर्न सक्दैनौ भनिसकेको छ । खेलाडी आफैँले कहाँबाट खर्च जुटाउने ?,”प्रतियोगिताका लागि छानिएका एक खेलाडीले बाह्रखरीसँग भने । 

यसरी हरेक प्रतियोगितामा खेलाडीबाटै खर्चको अपेक्षा गर्ने खेल संघहरू नेपालमा धेरै छन् । नभन्दै बक्सिङ संघको अवस्था उदाङ्गिइहाल्यो । बक्सिङ संघका लागि यो नौलो घटना भने होइन । २० मे २०१९ देखि २४सम्म भारतमा भएको ‘सेकेन्ड इन्डियन ओपन बक्सिङ च्याम्पियनसिप’मा सहभागिता जनाएका खेलाडीबाटसमेत बक्सिङ संघले पदकको अपेक्षा गरेको थियो ।  

त्यो बेला नेपाली खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन दुई दिनअघि भारतको यात्रा गरे । भारत जान खेलाडीले झापा हुँदै जीपको यात्रा गर्नु पर्‍यो । भोलिपल्ट अर्काे यात्रामा खेलाडीहरु रेलमा चडेर भारतको (गुहाटी) पुगे । 

२३ तारिखमा भारतको गुहाटी पुगेका खेलाडीले भोलिपल्टै २४ तारिखमा प्रतियोगितामा सहभागिता जनाउनु पर्‍यो । विश्रामको त कुरै रहेन । दुईदिन खेलेका सबै खेलाडी पहिलो चरणबाटै आउट भए । 

त्यति हुँदा पनि खेलाडीले धर पाएनन् । उल्टै दोष लाग्यो, प्रदर्शन राम्रो भएन भनेर । संघले अहिलेसम्म पनि खेलाडीले आफैँ खर्च बेहोर्नु पर्ने र त्यो पनि न्यून अवस्थामा पदकको आशा राख्ने अवस्थाको अन्त्य गर्न सकेन । अहिले पनि प्रतियोगितामा सहभागिता जनाउन आफैँ खर्च हाल्नु पर्ने अवस्था दोहोरियो ।  

यता, करातेमा पनि त्यस्तै भयो । नेपाली स्वर्णधारी कराते खेलाडी नवीन रसाइलीले खर्च जुटाउन  नसक्दा अप्रिल ३० देखि मे ३ सम्म पोर्चुगलमा हुने कराते प्रिमियर लिगमा सहभागिता जनाउन पाएनन् । 

कोरोनाका कारण प्रतियोगितामा सहभागिता जनाउन प्रतिकूलता सिर्जना भए पनि त्यसअघि नाम दर्ताकै लागि नवीनले पैसा जुटाउन सकेनन् । 

विश्व वरीयताको सयौँ स्थानमा रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका थिए । 

आयोजकले १८ जनवरीदेखि अप्रिल १५ सम्म खेलाडी दर्ताको मिति तोकेको थियो । नवीनले प्रशिक्षक र संघसँग आफ्नो नाम दर्ता गर्न सहयोगको अपिल गरेका थिए । उनले आफैँ नाम दर्ता गर्न सकेनन् । र, अवसरबाट वञ्चित भए । 

बक्सिङ कराते मात्र नभई अन्य थुप्रै विधाका नेपाली खेलाडी आफ्नै खर्चमा प्रतियोगिता खेल्न  विदेश जाने गरेका छन् । संघ लाचार छन्, जसले पैसा जम्मा गर्न सक्छ उसैलाई प्रतियोगितामा सहभागी गराउने गर्दछन् । यहाँनेर प्रतिभावान भन्दा पनि पैसा भए मात्रै प्रतियोगी बन्न पाइने चलन बसेको देखिन्छ । नेपाली खेलकुदमा यसरी गलत संस्कार हुर्किरहेको छ भने प्रतिफल शून्य छ । र, खेलाडीकै बलबुता र खर्चमा पदकको अपेक्षा गर्ने संघहरुको खारेजी किन नहुने ? भन्ने प्रश्न पनि उठेको छ ।  

तस्बिर : आइएनएस 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro