काठमाडौं । सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आज फैसला नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो । गएको बिहीबारजस्तै आज पनि निसु सरेको छ ।
राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने नेपाल प्रहरीको लागि एपीसी र सोको स्पेयर पार्ट्स खरिद अनियमिततामा भारती दोषी ठहर भएका थिए । भारती ०७६ भदौ १२ गते पक्राउ परेका थिए । त्यसपछि उनले थुनाबाहिर बसेरै मुद्दाको पुनरवलोकन गर्न पाऊँ भन्दै निवेदन दिएका थिए । सर्वोच्च अदालतले मागबमोजिम आदेश दिएपछि भारती ०७६ पुसमा थुनामुक्त भएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले भारतीलाई दोषी ठहर गर्दै १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय हुने फैसला गरेको थियो । सो फैसलाविरुद्ध उनले दिएको पुनरवलोकनको निवेदनमा अनुमति पाएको थियो ।
सर्वोच्च अदालतले सुडान घोटालामा नेपाल प्रहरीका तीनजना पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना र ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।