site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो ब्याचकी खेलाडी, अझै उत्कृष्ट फर्ममा !

काठमाडौं । सन् २००७ नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक दिन थियो । ऐतिहासिक यस अर्थमा कि नेपालले महिला क्रिकेटमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै थियो । मलेसियामा आयोजना हुने एसीसी वुमन्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउन लागेको थियो ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जंग थापाले नेरी थापाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरे । नेपाली टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले नेपालमा महिला क्रिकेटको जग बसाउँदै महिला क्रिकेट टोलीको स्थापना गरे । तयार भयो, नेपाली महिला क्रिकेट टोलीको पहिलो ब्याच, जसको महत्वपूर्ण सदस्य थिइन् विनु बुढामगर ।

महिला क्रिकेटको बारेमा धेरै चर्चा थिएन । प्रशिक्षकको सिकाइबाहेक खेलाडीले धेरै ज्ञान लिन सकेका थिएनन् । पहिलो प्रतियोगिता खेल्न गएको नेपाली टोली अन्य टोलीभन्दा कमजोर भने देखिएन ।

एसियाली राष्ट्रका टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गर्‍यो । नेपाल बंगलादेशसँग फाइनलमा पराजित भयो ।

“पहिलोपटक नेपाली महिला क्रिकेट टोलीको खम्बा गाडिएको थियो । हामी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गइरहेका थियौँ, उत्साहसँगै केही नयाँ पनको महसुस भएको थियो । प्रतियोगितामा हामी बलियो नै भयौँ । हामीले सोचेभन्दा राम्रो नतिजा आयो । त्यो बेला नै नेपाली महिला क्रिकेटको भविष्य देखिरहेका थियौँ,” विनुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको पहिलो क्षण सम्झिइन् ।

विनुले राष्ट्रिय टोलीमा रहेर सन् २००७ देखि २०१० सम्म खेलिन् । त्यसपछि उनको यात्रामा धक्का लाग्यो । कहिले उनको व्यक्तिगत कारणले साथ दिएन त कहिले प्रदर्शनका कारणले । तर पनि उनी घरेलु क्रिकेटमा विभागीय टोली एपीएफकी महत्वपूर्ण खेलाडी थिइन् ।

छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विनुले एपीएफमा आबद्ध भई क्रिकेट खेल्न सुरु गरिन् । उनी एपीएफ महिला क्रिकेट टोलीकी पनि पहिलो ब्याजकी खेलाडी हुन् । एपीएफले पनि छैटौँ राष्ट्रिय खेलकुदबाट नै आफ्नो टिम तयार पारेको थियो । एपीएफले सबै खेलाडीलाई दुई वर्षको ‘कट्याक्ट’मा राखेको थियो ।

“राष्ट्रिय टोलीको मात्र होइन, एपीएफका लागि पनि हामी पहिलो ब्याज थियौँ । मेरो लागि सन् २०१० पछि राष्ट्रिय टोलीको यात्रामा पूर्णविराम लाग्यो । बीचमा केही व्यक्तिगत कारणसँगै प्रदर्शनले पनि साथ दिएन् । घरेलु प्रतियोगितामा भने मैले आफ्नो लयलाई उत्कृष्ट बनाउँदै गइरहेकी थिएँ,” विनुले भनिन् ।

क्रिकेट सुरु गर्नुभन्दा पहिला विनु एथ्लेटिक्स खेल्थिन् । उनी एथ्लेटिक्सकी पनि उत्कृष्ट खेलाडीको रुपमा चिनिन्थिन् । विनुले पाँचौँ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स खेलाडीको रुपमा नै सहभागिता जनाइन् ।

एथ्लेटिक्स खेल्नुभन्दा पहिला उनी फुटबल खेलाडी पनि हुन् । फुटबलमा आफ्नो दौड क्षमता धेरै भएका कारण एथ्लेटिक्समा मोडिनु परेको उनी बताउँछिन् । विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्डमा त उनी क्रिकेट, फुटबल, भलिबल र एथ्लेटिक्सलगायत खेलमा सहभागी हुन्थिन् ।

“फुटबल खेलाडी भएकै कारण एथ्लेटिक्समा रुचि जाग्यो । एथ्लेटिक्समा मैले राम्रो गरेँ । तर, प्रतियोगिताहरुको रुपमा एथ्लेटिक्समा धेरै प्रतियोगिता हुन्थेनन् । वर्षमा एक प्रतियोगितामा मात्र सहभागिता जनाउन पाइन्थ्यो । अनि, मेरो भविष्य क्रिकेटमा नै छ भन्ने लाग्यो । त्यसैमा मैले आफ्नो भविष्य निर्धारण गर्ने योजना बनाएँ,” विनुले भनिन् ।

विनुले हालै राजधानीमा सम्पन्न ललितपुर मेयर कप क्रिकेटबाट पुनरागमन गरिन् । उनले तीन वर्षपछि पुनरागमन गर्दा पहिलो खेलमा मात्र दुई ओभर बलिङ गर्ने मौका पाइन् । त्यसपछि तीन ओभर बलिङ गरिन् । समग्रमा पाँच खेल खेल्दै १० विकेट लिइन् । उनी प्रतियोगिताकी उत्कृष्ट बलर घोषित भइन् ।

“बिहे, बिहेपछि परिवार । परिवारसँगै छोरीको आगमन । यो सबैसँगै तीन वर्षपछि मैले क्रिकेटमा पुनरागमन गरेकी थिएँ । उक्त पुनरागमन मेरो लागि क्रिकेटप्रतिको मायाको परीक्षाजस्तै थियो । जुन परीक्षामा म सफल पनि भएँ । अब यसलाई निरन्तरता दिनुपर्नेछ,” उनले पुनरागमनको पल सम्झिइन् ।

विनुको अबको लक्ष्य भनेको राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउने हो । खेलमा अझै लामो समय बिताउने योजना बनाएकी उनलाई राष्ट्रिय टोलीको जर्सी लगाउने हुटहुटी छ । मौका दिएमा आफूले प्रमाणित गरेर देखाउने उनी बताउँछिन् ।

“मलाई पुनः एकपटक राष्ट्रिय टोलीको जर्सीमा केही गरेर देखाउने जोस छ । जसका लागि मैले धेरै तयारी पनि गरिरहेकी छु । टिमले मलाई स्थान दिएपछि मैले आफूलाई प्रमाणित गरेर देखाउनेछु,” उनले भनिन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro