काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब धेरै नरहेको बताएका छन् ।
शनिबार स्याङ्जामा कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताए । उनले अब नेपालको राजनीति फरक धारबाट अघि बढ्ने पनि बताए ।
नेता सिंहले संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेको आरोप पनि लगाए । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत नहुने भन्दै ओलीले सत्ताको आडमा फिँजाएका झुटहरु चिरेर निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितता गर्नुपर्नेमा सिंहको जोड थियो ।
कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको उनको भनाइ थियो । लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व आवश्यक रहेको उनले औँल्याए ।