
काठमाडौं । गएको कात्तिक ८ गतेदेखि लागु भएको क्लिनफिड अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्थाबमोजिम क्लिनफिड लागू भएको छ । तर, अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको विज्ञापन व्यवसायीले बताएका छन् ।
नेपालमा प्रसारण हुने कुनै पनि विदेशी च्यानल विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था भए पनि अझै पूर्ण कार्यान्वयनमा आउन नसकेको नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सोमप्रसाद धितालले बताए । “नियमले क्लिनफिड लागु भइरहेको छ, तलमाथि गर्न सक्ने अवस्था छैन । तर, आंशिक रुपमा मात्रै लागु भएको अवस्था छ,” उनले भने ।
उनले विज्ञापन बोर्ड पूर्ण नहुँदा क्लिनफिड पूर्ण रूपमा लागु हुन नसकेको बताए । “क्लिनफिड लागुु भए÷नभएको राम्रोसँग मोनिटरिङ भएको छैन । त्यसलाई पूरा गर्न आवश्यक कानुनी प्रक्रिया पनि पूरा भएको छैन । यसमा अलमल भइरहेको छ । तर, कानुनतः लागु गर्न कसैले रोक्न सक्दैन,” उनले भने ।
उनले क्लिनफिड आंशिक रूपमा लागु हुन सकेको र डबिङ एड पनि आंशिक रुपमा मात्रै लागु भएको बताए । “केही कमी–कमजोरी भइरहेको छ । विस्तारै सुधार हुँदै जान्छ । पूर्ण रूपमा कार्यान्वयन हुन एक/दुई महिना लाग्छ होला,” उनले बाह्रखरीसँग भने ।
यसलाई प्रभावकारी रूपमा लागु गराउन विज्ञापन बोर्डले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । उनले मन्त्रालयका भरमा यो पूर्ण रूपमा लागु हुन नसक्ने पनि बताए । “यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन बोर्ड आफ्नो अभियानमा सशक्त रूपमा लाग्नुपर्यो । मन्त्रालयका कर्मचारीको भरमा मात्रै भएन, बोर्ड नै प्रभावकारी रूपमा आफैँ लाग्नुभयो भने पूर्ण रूपमा कार्यान्वयन हुनसक्छ ।”
हालै सुरु भएको आईपीएल खेलको क्रममा पनि विज्ञापन प्रसारण भएको भन्ने गुनासो आएको उनले बताए । “यसलाई विज्ञापन बोर्डमार्फत मन्त्रालयले रोक्छ होला,” उनले भने ।
यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल भने क्लिनफिड पूर्ण रूपमा लागु भएको बताउँछन् । यद्यपि, उनले क्लिन गर्न नसकेको अवस्था पनि आएको हुन सक्ने बताए । “अहिले क्लिन गर्न नसकेको अवस्था केही हुनसक्छ । तर, क्लिनफिड पूर्ण रूपमा लागू भएको छ । ऐन, कानुनअनुसार यो पूर्ण रूपमा लागु भएको छ । हामीले अनुगमन पनि गरिरहेका छौँ,” उनले भने ।
उनले विज्ञापन बोर्ड अपुरो नरहेको बताए । “बोर्ड सधैँ पूर्ण छ, अपुरो छैन,” उनले भने । क्लिनफिडको रियल मोनिटरिङ सूचना प्रविधि विभागले गरिरहेको उनले बताए । “प्रोमो खालेको विज्ञापनलाई व्यावहारिक रूपमा मानेका छैनौँ । अरु त सबै कार्यान्वयन भएको छ । सूचना प्रविधि विभागले मोनिटरिङ गरिरहेको छ,” उनले भने ।
डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले टेलिभिजनमा विज्ञापन प्रसारण गर्न नपाइएको तर विदेशी विज्ञापन युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रसारण भइरहेको बताए । “टेलिभिजनमा प्रसारण गर्न नपाइने विज्ञापन युट्युब, फेसबुकमा प्रसारण भइरहेका छन् । यो कसरी मिल्छ ?,” उनले भने, “यसको फन्डामेन्टल सोचाइ नै गलत भयो । विदेशी विज्ञापन प्रसारण गर्न नपाउने भनेपछि त कहीँ पनि प्रसारण गर्न पाइने हुनु भएन नि ।”
उनले क्लिनफिड लागु भएपछि ग्राहकले हेर्न पाउने टेलिभिजनको संख्या केही घटे पनि नयाँ–नयाँ च्यानल पनि हेर्न पाइएको बताए । उनले डिशहोमले नयाँ–नयाँ च्यानल दिँदै आएको बताए । “कतिपय क्लिनफिड नै भएका युरोपियन च्यानलसमेत दिइरहेका छौँ । तर, समस्या के हो भने नेपालीको टेलिभिजन हेर्ने टेस्ट भनेको युरोपियन होइन, भारतीय हो,” उनले भने ।