site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिना दिनदेखि बालेन–सुनिताबीच छैन भेटघाट
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्ष पाँचौँ तलामा छ । ठिक मुनि चौथो तलामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्ष र तेस्रो तलामा उपमेयर सुनिता डंगोलको कार्यकक्ष छ ।

एउटै कार्यालयभित्र मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको दुरी धेरै छैन । छतले महानगरको भवनमा पछिल्लो समय कार्यशैली बदलिएको छ । उनीहरू प्रत्यक्ष भेटघाट तथा बैठक हुँदैन, केवल फाइलहरूको भेटघाट हुन्छ ।

मेयर बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक पनि बोलाएका छैनन् । तर, महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कुनै पनि काम नरोकिएको बताउँछन् ।

“महानगरका सबै काम सहज ढंगले भइरहेका छन्, त्यस्तो केही समस्या छैन । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतबीच अनौपचारिक भेट भइरहेकै हुन्छ । तर, प्रत्यक्ष भेटघाट भएको छैन,” उनले भने । 

अघिल्लो साता महानगरकी उपमेयर डंगोल बैठकमा व्यस्त थिइन् । उनले पनि मेयरसँग प्रत्यक्ष भेट नभएको बताइन् ।

“मेरो मेयरसँग भेट भएको छैन । गएको चार महिनादेखि महानगरपालिकाको कार्यपालिका बैठक बसेको छैन । उपप्रमुख हुनुको नाताले प्रमुखलाई बैठक बस्न आग्रह गर्न सक्छु, यो प्रयास गरिरहेकी छु,” डंगोलले भनिन् । 

कार्यपालिका बैठक आह्वान गर्न, बैठक राख्न, निर्णय प्रक्रिया अगाडि बढाउन उपप्रमुखको कार्यकारी भूमिका नरहेको उनले बताइन् । बैठक बोलाउने तथा बैठकको अध्यक्षता गर्ने विषय उपप्रमुखको कार्यक्षेत्रभन्दा बाहिरको कुरा रहेको उनको भनाइ छ ।

महानगरका एक कर्मचारीले महानगरको हकमा दैनिक १४–१५ घण्टा काम गर्नुपर्ने मेयरले दैनिक २–४ घण्टामात्रै बसेर निस्किने गरेको बताए ।

“जुनसुकै कार्यालयमा कर्मचारीले काम गर्दैनन् । काठमाडौंको हकमा मेयर १४–१५ घण्टासम्म कार्यालयमै बसेर काम गर्नुपर्ने हो । यहाँ त के छ, के छ ! अनि कसरी हुन्छ, उपमेयर, मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच भेट ?,” ती कर्मचारीले भने । 

चैत २१ गतेको त्यो घटना
०८१ पुस महिनादेखि महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि काठमाडौं टावरको प्रक्रिया नपुर्‍याई नक्सापास आरोपमा विवाद उत्पन्न भयो । त्यसपछि बालेनले उनलाई छानबिनमा तानेका थिए । 

बालेनले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन भन्दै संघीय सरकारलाई पत्र पठाए । तर, सरकारले उनको मागअनुरूप प्रमुख प्रशासकीय अधिकृत पठाएन ।

त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘टुकुचामा गाड्ने’सम्मका धम्की दिए । गुरागाईंमाथि छानबिन गर्न कार्यपालिका बैठकबिनै तीनवटा समिति बनाए । तर, गुरागाईंमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण भेटिएन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन महानगरलाई पत्र पठायो । तर, बालेनले कुनै पनि हालतमा गुरागाईंलाई हाजिर गराउन नसकिने भन्दै उनको कार्यकक्षमा ताला लगाइदिएका थिए । 

यही विवादमा महानगरकी उपमेयर डंगोलसहित जनप्रतिनिधि र कर्मचारीहरूले गुरागाईंलाई कार्यकक्षमा उपस्थित हुने वातावरण बनाएका थिए । त्यसपछि चार महिनादेखि रोकिएको तलब निकासा भएको थियो ।

महानगरभित्रको द्वन्द्वभित्र बस्न नचाहेका गुरागाईं हाल पनि महानगरमै कार्यरत छन् । महानगर स्रोतका अनुसार, टावर विवाद अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मै पुगेको छ । 

“टावरको विवाद अख्तियारको अनुसन्धानमा पनि छ । यसबारे प्रमुख प्रशासकीय अधिकृतलाई पनि अख्तियारले सामान्य सोधपुछ गरेको छ,” स्रोतले भन्यो । 

बालेनले कहिले बोलाउँछन्, कार्यपालिका बैठक ?
महिनामा एकपटक बस्दै आएको महानगरको कार्यपालिका बैठक पाँच महिनादेखि बसेको छैन । महिना दिनदेखि भेटघाट नभएका तीनैजना (मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत) अब हुने कार्यपालिका बैठकमा प्रत्यक्ष भेट हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कम्तीमा महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान छ । ऐनअनुसार, कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पालिका प्रमुखलाई हुन्छ । 

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, ०८१ पुस ८ गते कार्यपालिका बैठक बसेको थियो । त्यतिबेलादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । 

“महानगरका सबै कामहरू चलिरहेकै छन् । तर, कार्यपालिका बैठक बसेको छैन । महिनौदेखि किन कार्यपालिका बैठक बस्न सकेन, मेयरलाई नै थाहा होला,” उनले भने ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गत वर्ष चैत १० गते मेयर बालेनसँग कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले आवश्यकताअनुसार कार्यपालिका बैठक बस्ने बताउँछन् । “कार्यपालिका बैठक आवश्यकताअनुसार बस्ने हो, महानगरमा कुनै काम रोकिएका छैनन् । कार्यपालिका बैठक बोलाउन एजेन्डा हुनुपर्छ, त्यस्तो केही छैनन् । अन्य स्थानीय तह र बाहिर पनि आवश्यकताका आधारमा बैठक बस्ने गर्छन,” उनले भने । 

कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं निकट स्रोतका अनुसार, अब बस्ने कार्यपालिका बैठकमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष भेट हुनेछ । 

“मेयरले कार्यपालिका बैठक आह्वान गर्नुभएको छैन । अब हुने बस्ने बैठकमा प्रत्यक्ष भेट हुन्छ,” स्रोतले भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro