नेपालगञ्ज । प्रदेश ५ को नेपालगञ्जमा हाल एन्फा प्रेसिडेन्ट लिग फुटबल चलिरहेको छ । प्रतियोगिताको दोस्रो दिन कर्णाली प्रदेशको लेकाली युवा क्लबले वाग्मती प्रदेशको धादिङ समाजसँग प्रतिस्पर्धा गर्यो ।
पहिलो खेलमा नै लेकालीले लज्जास्पद हार व्यहोर्नु पर्यो । हारको कारण कमजोर खेल प्रदर्शनसहित खेल तयारीको पाटो रह्यो । प्रदेश लिगमा च्याम्पियन बनेको सुर्खेत जिल्लाले नखेल्दा लेकाली युवा क्लबले वाकओभर पाएको थियो ।
पहिलो पटक ठूलो प्रतियोगिता खेल्न लागेको क्लबका लागि धेरै चुनौती मध्यको एक थियो । खेलाडी छनोट । लेकाली युवा क्लबका लागि खेलाडी छनोटमा समस्या भयो । प्रतियोगिताको खेल सुरु हुने दिन बिहान नै खेलाडीको आगमन नेपालगञ्जमा भयो ।
एन्फाले प्रदेश लिगमा च्याम्पियन भएको टिमले प्रेसिडेन्ट लिग खेल्ने बताएको थियो । चैत १९ गते प्रतियोगिता खेल्ने जानकारी पाएको लेकाली युवा क्लबले आफ्नो राम्रो तयारी गर्न सकेन । नत खेल हुने दिनसम्म नै खेलाडीहरु जुटाउन सक्यो । व्यावसायिक फुटबल खेल्ने खेलाडी कुनै पनि नभएका कारण ठाँउ–ठाँउबाट खेलाडी खोज्नु पर्ने अवस्था आयो । यही अवस्थाले प्रशिक्षकले पनि सबै खेलाडीलाई प्रतियोगिता अन्तर्गत पहिलो दिन नै भटे । नत खेलाडीले प्रशिक्षकलाई चिने नत प्रशिक्षकले खेलाडी र उनको खेल क्षमतालाई । अझ सबै भन्दा ठूलो कुरा त के छ भने खेलाडीले एक अर्कालाई राम्रोसँग चिन्ने मौका पनि पाएनन् ।
प्रतियोगिताका लागि भनेर खेल हुने दिन नै खेलाडी सम्पर्कमा आए । “खेल हुने दिन बिहान खेलाडी आए । खेलाडीले पहिलेसँगै प्रशिक्षण गर्न पाएका थिएनन् । म्यानेजमेन्ट नमिल्दा प्रतियोगितामा नतिजा पनि हामीले राम्रो हात पार्न सकेनौं,” क्लबका कप्तान संगम शाहीले पोष्ट म्याच कन्फ्रेन्समा भने ।
लिग अन्तर्गत पहिलो खेलमा तीन अंक गुमाएको लेकाली युवा क्लब भने पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । उसोत काठमाडौंमा रहेका जिल्लाका केही खेलाडी र जिल्ला भित्रका केही खेलाडीको जोहो गरेर तयारी गरिएको टिमले सोचे अनुरुप नतिजा निकाल्न सकेन । प्रतियोगिताको तयारी गरिसेकपछि टिमका खेलाडीहरुलेसँगै बसेर कुनै टिम प्रशिक्षण पनि गरेनन् । प्रशिक्षण गर्न नपाउँदा उनीहरु कुन खेलाडीले कस्तो कसरी खेल प्रदर्शन गर्छ र कस्तो तरिकाको खेल खेलाउँदा राम्रो हुन्छ । कुन खेलाडीलाई कुन जिम्मेवारी दिँदा राम्रो हाला भन्ने ज्ञान प्रशिक्षक युवराज शाहीसँग थिएन ।
“कुन खेलाडी कस्तो पोजिसनमा कस्तो खेल्छ भन्ने मलाई ज्ञान थिएन । केही खेलाडी त खेलको दिन नै सम्पर्कमा आएका थिए । न उनीहरुको खेलको बारे जानकारी थियो, न खेल क्षमताको बारे राम्रो जानकारी थियो,” प्रशिक्षक शाहीले भने ।
प्रतियोगितको पहिलो खेलमा नै लेकाली युवा क्लबले ९–१ गोलको हार व्यहोर्नु पर्यो । खेलाडी र म्यानेजमेन्टको पाटोमा चुकेको प्रस्ट देख्न सकिन्थ्यो । उसोत खेलाडीको जोहो गर्ने र प्रशिक्षणको कुरालाई ध्यानमा राख्ने जिम्मेवारी पनि क्लबकै हो । तर, उक्त जिम्मेवारी देखि लेकाली युवा क्लब भने चुक्यो ।
“हामीले सानोतिनो प्रशिक्षण गरिरहेका थियौं । प्रशिक्षणमा रहेका खेलाडी अहिले टिममा कमै छन् । टिम नै धेरै ठाँउका खेलाडीहरु मिलेर तयार पारेका हौं । म्यानेजमेन्ट राम्रो हुने थियो र प्रशिक्षण राम्रो हुने थियो भने प्रदर्शन पनि हेर्न लायक हुने थियो,” प्रशिक्षक शाहीले भने ।
यता, लेकाली युवा क्लबका अध्यक्ष मुकेश खत्रीले भने आफूहरुले प्रतियोगिताका बारेमा छोटो समयमा जानकारी पाएको हुनाले तयारी राम्रो गर्न नसकेको बताए । उनले म्यानेजमेन्टको विषयमा आफूहरु चुकेको र त्यसले खेलाडीको खेल क्षमतामा पनि कमजोरी देखिएको बताए । टिम तयार पार्ने विषयमा नै समय लागेको र तयारी गर्न नपाएको उनको भनाइ छ ।
“हामीले तयारीका लागि धेरै समय पाएनौं । छोटो समयमा गरेको तयारीले राम्रो नतिजा दिन नसकेको हामी सहजै स्विकार्छौं । आगामी खेलमा सबै मिलाएर जाने योजना छ,” खत्रीले भने ।