जनकपुर । जनकपुरकी आरती साह करिब चार महिनाअगाडि एसिड आक्रमणमा परिन् । अढाई महिनाको उपचारपछि उनी घर फर्किएकी छिन् । घाउ अझै पनि निकै भएको छैन । एउटा आँखा गुमेको छ । शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । दोस्रो चरणको उपचार बाँकी नै छ ।
आरती पीडा बिर्सेर जीवन सामान्य गर्ने प्रयासमा छिन् । बुवा–आमाले गर्दै आएको तरकारी पसलमा सघाउँदै आएकी छिन् । “घर खर्च चलाउनको लागि पसलमा सघाउँदै आएको छु । घरको आर्थिक अवस्था कमजोर छ,” उनले भनिन्, “घर भाँडा मात्रै मासिक सात हजार तिर्नुपर्छ । एसिड परेपछि झन् घर खर्च बढेको छ । त्यसैले मौसम ठिक भएको बेला सघाउन आउँछु ।”
त्यो घटना...
पाँच वर्षअघि सबैला नगरपालिका–६ का २६ वर्षीय सन्जीव साहसँग विवाह बन्धनमा बाँधिएकी थिइन्, आरती । करिब डेढ वर्षपछि छोरीलाई जन्म दिइन् । श्रीमान् सन्जीवले दाइजो नदिएको र छोरी जन्माएको भन्दै यातना दिन सुरु गरे । दुवैजनाबीच खटपट बढ्दै गयो । सासू–ससुराले पनि साथ दिएनन् ।
यातना खेप्न नसकेर आरती पछिल्लो दुई वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका–२३, रुपैठास्थित माइतमा बस्न थालिन् । एक वर्षअघि जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजना सम्बन्धबिच्छेद गर्ने सहमतिमा पुगे । जिल्ला प्रहरी हुँदै अदालत गएर सम्बन्धबिच्छेद गर्न दुवै तयार भए । तर, सम्बन्धबिच्छेद हुनुअघि सन्जीवले गएको कात्तिक २९ गते आरतीको अनुहारमा एसिड छ्यापे ।
एसिड आक्रमणबाट आरतीमात्र होइन, उनकी छोरीको समेत हात र टाउकोको केही भाग जल्यो । करिब अढाई महिना कीर्तिपुर अस्पतालमा उपचार भयो । चैतमा पुनः अर्को चरणको उपचार गराउन जाने आरतीले बताइन् । उपचार दुई वर्षसम्म चल्ने बताइएको छ ।
अनुहार, आँखा, छाती र हातमा एसिड प्रहार गरिएको थियो । एसिडको असरले उनको एउटा आँखा गुम्यो । कात्तिक २९ गतेको दिन जीवनमा कहिल्यै पनि नबिर्सने उनी बताउँछिन् । उक्त घटना सम्झँदा भक्कानिन्छन् ।
ऋण लिएर उपचार
आरतीकी आमा सुनीतादेवी र बुवा सुबोध जनकपुरधामको पेठिया बजारमा तरकारी बेच्छन् । मासिक सात हजार तिरेर कोठा भाडामा बस्दै आएका छन् । छोरीको उपचारमा अहिलेसम्म अढाई लाखभन्दा बढी खर्च भइसकेको उनले बताइन् । “ब्याजमा ऋण उठाएका छौँ । करिब अढाई लाख खर्च भइसक्यो । अब काठमाडौं जानुपर्दा फेरि ऋण लिनुपर्छ,” आरतीकी आमा सुनीताले भनिन्, “जानकी हेल्थ केयर अस्पतालमा भएको उपचार खर्च र काठमाडौंमा विभिन्न खर्च आफैँले व्यहोर्नु परेको थियो ।”
‘जन्जिर लगाएर नगर घुमाइयोस्’
आरतीले एसिड प्रहार गर्ने श्रीमान्माथि आजीवन कैद हुनुपर्ने बताइन् । ‘उम्रकैद त सजाय हुन्छ नै । तर, हात, खुट्टा र गर्दनमा जन्जीर लगाएर पूरै जनकपुर घुमाइयोस् भन्ने मेरो माग छ,” उनले भनिन्, “ताकि कसैले पनि एसिड प्रहार गर्ने दुस्साहस नगरोस् ।”
एसिड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने उनको माग छ । “एसिड फ्याँक्नेभन्दा कम सजाय बेच्नेलाई दिनु हुँदैन,” उनले भनिन्, “जब उनलाई थाहा थियो कि सबैलाई एसिड दिनु हुँदैन । अनि, कसरी दियो ? २०० को एसिड एक हजार रुपैयाँ लिएर बेचेको थियो । त्यसैले बेच्नेलाई पनि कठोर सजाय दिनुपर्छ ।”
‘एसिड छयाप्ने र बेच्नेलाई जन्मकैद हुनुपर्छ’
जनकपुरधाममा दोस्रो जनकपुर साहित्य महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन ‘समाज ः सौन्दर्यभित्र, सौन्दर्यबाहिर’ शीर्षकमा छलफल भयो । कार्यक्रममा अभिनेत्री सञ्चिता लुइँटेल र एसिडपीडित अरती मुख्य वक्ता थिए ।
आरतीले आफ्नो पीडा, न्यायालय र सामाजिक विकृतिबारे खुलेर बोलिन् । एसिड बिक्री गर्ने पसलेकै मिलोमतोमा आफूमाथि आक्रमण भएको उनको उनको भनाइ छ । अदालतले पसललेलाई धरौटीमा रिहा गरेकोमा उनले असन्तुष्टि जनाइन् । आफूलाई पहिलाकै जस्तो व्यवहार गरिदिन उनले सबैसित आग्रह गरिन् ।