site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'तर पनि मैले खेल्न छोडिनँ...' 
SkywellSkywell

काठमाडौं । “राष्ट्रिय टोलीलाई धेरै मिस गरेको छु,” बालुवाटारस्थित एक क्याफेमा कफीको चुस्की लिँदै रविन श्रेष्ठले आफ्नो फुटबल करियरको यात्रामा लागेको 'ब्रेक' सम्झिए । मन्द मुस्कानसँगै उनले भनेको शब्दमा पीडा प्रष्टै झल्किन्थ्यो ।

लामो समय फुटबलमा बिताएका उनी चोटका कारण चार वर्ष खेलबाट टाढा रहे । त्यसको पीडा बेग्लै हुने नै भयो । “अब नजिकिँदै छु, फुटबलसँग । मेरो जीवनमा हाल जे जति छ, त्यो फुटबलले नै दिएको हो । योबाट टाढा हुन सक्दिनँ । फुटबलबाट टाढा रहँदाको पीडा मैले महसुस गरिसकेँ,” रविनले भने ।

रविन श्रेष्ठ नेपाली फुटबलमा परिचित नाम हो । सन् २००८ देखि २०१७ सम्म उनको प्रदर्शन निरन्तर रह्यो । २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा उनको प्रदर्शनको चौतर्फी चर्चा भयो ।

KFC Island Ad
NIC Asia

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्ने रविनले पुलिसलाई 'ए' डिभिजन लिगको उपाधि र नेपाललाई सोलिडारिटी कप र बंगबन्धु कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म उनको प्रदर्शन लोभलाग्दो भयो । “नेपालका लागि पहिलोपटक खेल्दा नै आफूले उत्कृष्ट प्रदर्शन गर्छु भन्ने सोच आयो । पहिलो खेलमा सबैको मन लोभ्याउन सकेँ । त्यसपछि राष्ट्रिय टोलीमा फर्केर हेर्नु परेन । सबै खेलमा आफूले सकेको शतप्रतिशत दिएँ,” उनले भने ।

Royal Enfield Island Ad

रविनले जति प्रदर्शन राष्ट्रिय टोलीका लागि दिन चाहे, त्यो भने हुन सकेन । रविनका लागि उनको चोट बाधक बन्यो । चोटका कारण दुईपटक मैदानबाहिर रहेका रविनलाई कुनै समय पनि खेल्न छोड्छु भन्ने लागेन ।

सन् २०१७ को एएफसी एसिया कप छनोटअन्तर्गत फिलिपिन्ससँगको 'अवे' खेलका क्रममा उनी घाइते भए । नेपाललाई एएफसी सोलिडारिटी कप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले एसिया कप छनोटको पहिलो खेलमा चोट खेप्नुपर्‍यो । उक्त चोटको करिब नौ महिनापछि बंगलादेशको ढाकामा हुने साफ च्याम्पियन्सिपका लागि उनी टिममा परे । साफको तयारीस्वरुप थाइल्यान्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न बैंकक जाँदा अभ्यासको क्रममा रविनको चोट बल्झियो ।

उक्त चोटपछि रविनले फुटबलमा फर्कन धेरै समय कुर्नुपर्‍यो । “पहिलो चोट लागेको नौ महिनापछि फेरि चोट बल्झियो । पहिलो चोटको पीडा भुल्न नपाउँदै चार वर्ष फुटबलमा नलाग्ने गरी चोट बल्झियो । र पनि मैले खेल्न छोडिनँ । न त खेल्न छोड्छु भन्ने सोच आयो,” रविनले भने ।

ए डिभिजन लिगबाट पुनरागमन 
सन् २०१७ मा चोट लागेपछि रविनले योबीचको समय फुर्सदमा बिताए । काठमाडौंको नैकापमा घर बनाउनेदेखि परिवारसँग समय व्यतित गरे । नेपाल पुलिस क्लबका मुख्य खेलाडीका रुपमा रहेका उनले गत वर्षको ए डिभिजन लिगबाट आफ्नो फुटबलको नयाँ यात्रा सुरु गरे । पहिलो खेलमा नै उनलाई क्लब र दर्शकबाट जुन तरिकाको माया मिल्यो, त्यसले 'कमब्याक'लाई विशेष बनाइदियो ।

उनले सरस्वती क्लबविरुद्ध कप्तानको रुपमा पुनरागमनको पहिलो खेल खेले । पुलिस सहजै विजयी भयो । “चोट पूर्ण रुपमा निको भइसकेको थियो । डर त थिएन, तर पनि सानो गल्ती भयो भने आफूलाई कमजोर बनाउन सक्छ भन्ने चिन्ता भने मनमा थियो । तै पनि क्लबले पहिलो खेलमा नै कप्तानको जिम्मेवारी दिएर मैदान फर्कायो, हौसला यसै थियो,” रविनले भने ।

राष्ट्रिय टोलीमा पुनरागमनको पर्खाइ 
लामो समय उत्कृष्ट फममा रहेर राष्ट्रिय टोलीका लागि खेलेका रविन राष्ट्रिय टोलीमा कमब्याक गर्ने लक्ष्यमा छन् । त्यसको लागि राम्रो तयारी आवश्यक छ । राष्ट्रिय टोलीमा पर्नको लागि अझै धेरै खेल खेल्नुपर्ने उनी बताउँछन् ।

पुलिस क्लबमा अहिले उनी आफ्नो खेल क्षमतालाई निखार्ने र आफ्नो फिटनेसलाई बलियो बनाउन लागिपरेका छन् । “राष्ट्रिय टोलीमा कमब्याक गर्ने चाहना छ । त्यसको लागि मैले केही समय कुर्नुपर्ने हुन्छ । केही खेलहरु खेल्दै त्यसको अनुभव बटुल्न बाँकी छ । क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्न सकेमा मात्र मैले राष्ट्रिय टोलीको ढोका खोल्न सफल हुनेछु । त्यसको लागि मसँगै क्लबका प्रशिक्षक पनि सकारात्मक हुनुहुन्छ,” रविनले भने ।

राष्ट्रिय टोलीको यात्रा 
सन् २०१३ को साफ च्याम्पियनसिपमा उत्कृष्ट खेलाडीको उपमा पाएका रविनले २००८ मा भारतको हैदराबादमा सम्पन्न एएफसी च्यालेन्स कपको फाइनल राउन्डबाट राष्ट्रिय टिममा 'डेब्यु' गरेका थिए ।

डेब्यु समय उनका लागि निकै रोचक छ । उत्तर कोरियाविरुद्धको खेलमा रविनले राष्ट्रिय टिममा मौका पाए । उनले डेब्यु गर्ने दिन नै टिममा आठजना खेलाडी परिवर्तन गरिएको थियो । आठजनामा उनी एक थिए । अघिल्लो दिन नै प्रशिक्षकले थप तयारीका लागि रविनलाई भनेका थिए । उनी उत्साहित भए । डर पनि थियो ।

“उत्तर कोरियाविरुद्धको खेलमा डेब्यु गर्नेबारे प्रशिक्षकले अघिल्लो दिन नै भन्नुभएको थियो । डर धेरै लागिरहेको थियो । मेरो रुममेट तत्कालीन कप्तान विराज महर्जन हुनुहुन्थ्यो । उहाँसँग खेल्ने सल्लाह माग्दा आफ्नो जुन तरिकाको प्रदर्शन छ, त्यही दिन सुझाउनुभयो । त्यही समयमा राति प्रशिक्षकसँग पनि कुरा गरेँ, उहाँको तर्फबाट पनि झनै हौसला मिल्यो । डर हट्यो, उत्साह जाग्यो,” रविनले डेब्युको समयलाई सम्झिए ।

उनले १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । रविनका लागि राष्ट्रिय टोलीमा सबैभन्दा रमणीय क्षण सन् २०१३ को साफ च्याम्पियनसिप हो । त्यति बेला नेपालले भरतलाई हराउँदा उनले गोलका लागि जुमानु राईलाई पास उपलब्ध गराएका थिए । नेपालले समूह चरणको खेलमा भारतलाई २–१ गोलले पराजित गरेको थियो । समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तानसँग १–० ले हार्दै बाहिरिएको थियो ।

घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा देशलाई उपाधि दिलाउन नसक्नु उनका लागि सबैभन्दा दुःखको क्षण हो । रविनको अबको लक्ष्य पनि नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro