site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार महिनादेखि गुहार माग्दै शिक्षक दम्पती : सास कि लासको टुंगो लगाइदेऊ
Sarbottam CementSarbottam Cement

काठमाडौं । कात्तिक २८ गते काग तिहारको दिन । यमपञ्चक अर्थात् तिहारको रौनक भित्रँदो थियो । सुक्ष्माति सूक्ष्म विषाणु कोरोनाले सिर्जना गरेको त्रास छिचोलेर बाँचेको । परिवार साथै रहेर तिहार मनाउने, खुसियाली साट्ने अतृप्त इच्छा थियो, लालकुमार राई र उनी पत्नी चन्द्रकुमारी राईको । उनीहरू दुवै पेसाले शिक्षक हुन् । पति लालकुमार त स्थानीय स्कुलमा प्रधानाध्यापक नै हुन् ।

शिक्षक दम्पतीका छोरा पुजन राई पूर्वी सिन्धुपाल्चोकको बाह्रबिसेमा थिए । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको नेत्र सहायक थिए ।

उसै त विकट सिन्धुपाल्चोक, महाविकट बाह्रबिसे, तातोपानी क्षेत्र । उनलाई पठाउन मन होइन, त्यहीसम्बन्धी ज्ञान–सीप हासिल गरेको नपठाऊँ कसरी ! बडो असमञ्जसमा परेर उनले आँखाले नदेखेको भूखण्डमा पठाउन राजी भएका थिए, लालकुमार दम्पती ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रबिसे जानु परेकोमा पुजनको अनुहारमा पीडा प्रतिविम्बित थिएन । खुसी नै देखिन्थे । त्यसैले कहिल्यै उनले त्यहाँको विकटताबारे चासो राखेनन् । अप्ठ्यारो छ कि भनेर प्रश्न गरेनन् ।

पुजनले २८ गते सबेरै घर आउँछु भनेका थिए । २९ गतेदेखि तिहार भएकाले कार्यलय बन्द हुने । अघिल्लै दिनको टिकट लिएको छु भनेर २७ गते नै भनेका थिए । त्यति मात्रै कहाँ हो र परिवारलाई सुख–दुःख सुनाउन धक नमान्ने पुजनले ब्याक–प्याक गरिसकेको र हिँड्ने तारतम्य मिलाइसकेको जानकारी दिदीलाई दिएका थिए ।

Global Ime bank

बिहानै हिँड्छु भनेको निस्कियो कि निस्किएन भनेर बुझ्न बाबु लालकुमारले फोन गरे । सम्पर्क हुन सकेन । दोहो¥याएर गरे । फोनको घन्टी गयो । तर, उठेन । बाटामा भएकाले उठेन होला भन्ठाने । तर, दिनभरि पनि सम्पर्क नभएपछि मनमा चिसो सिरेटो पस्यो ।

आमाले ‘अफिस बन्द भयो होला, कतै घुम्न गयो होला’ भन्ठानिन् । तर पनि मन अधैर्य नै थियो । बाबुले पनि त्यही ठान्थे होला । तर, फोन लागिराखेको थिएन । “तै पनि हामीले बिदा भएकाले घुम्न निस्कियो होला भनेर दिनभर अन्यत्र फोन गर्न लागेनौँ,” लालकुमार सम्झन्छन् ।

२८ गते नै आउला भनेको छोरा तिहारको दिनसम्म आइपुगेनन् । छोरो आउने आशैआशमा तिहार निख्रियो । दिदीको मात्र होइन, परिवारकै तिहार खल्लो भयो ।

जेठी माइजू रजनी राई सम्झिन्छन्, “छोरो बेपत्ता भएकै दिनदेखि परिवारको खुसी बेपत्ता भइसकेको थियो । टीकाको दिनसम्म नआएपछि पूरै आँसुमय हुने नै भयो ।”

तिहार निख्रिएको भोलिपल्टै परिवारका सबै सदस्य छोरो खोज्न बाह्रबिसे हानिए । बाह्रबिसेको विकटता कल्पनातीत थियो । छोरोका मुखबाट अप्ठ्यारो सुनेका थिए । तर, परिचय पाएका थिएनन् । छोराको खोजपड्तालमा जाँदा पूरै साक्षात्कार भए ।

“ठाउँ र त्यहाँका मानिसहरूको व्यवहार यहाँ किन जागिर खान आयो होला भनेर हामीलाई छाती पिटीपिटी रुन मन लाग्थ्यो,” मामा कैलाश राई सम्झन्छन् ।

उनीहरू मंसिर २ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पुगे । कार्यालयको कर्मचारी बेपत्ता छन् । सास र लासको टुंगो लागेको छैन । तर, त्यहाँका मानिसहरू सामान्य भावमा थिए ।

परिवारले सोधीखोजी गर्‍यो । कार्यालयका कर्मचारीहरूले बेवास्तापूर्वक उत्तर फर्काउँथे । उनीहरूको मनमा झन् चिसो पस्यो ।

बिहीबारको दिन भएकाले पूजन राई २७ गते दिनभर अफिसमै थिए । कार्यालय समय सकिएपछि उनी कल्पना (नाम परिवर्तन) श्रेष्ठलाई लिएर निस्किएको उनीसँगै काम गर्ने कर्मचारीले बताए ।

परिवारका सदस्य पुग्दा प्रहरीले औपचारिकता मात्रै पूरा गरेको र तदारूकता नदेखाएको उनीहरूको आरोप छ । “हामीले त्यहाँको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई पनि सोधखोज ग¥यौँ,” लालकुमार भक्कानिँदै सुनाउँछन्, “प्रहरीले बाह्रबिसे स्वास्थ्य केन्द्रका कर्मचारी हराएको सूचना आएको र खोजी पनि गरेको बताए । ठोस कुरा थाहा लाग्न सकेन ।”

प्रहरीसँगको सोधीखोजीकै आधारमा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने कल्पनासँग प्रेम सम्बन्धमा रहेको र कात्तिक २७ गते पनि बाह्रबिसे पुलवारि निजलाई छाडेर आफू राकेश श्रेष्ठ नाम गरेका व्यक्ति भेट्न गएको सूचना पाएको लालकुमार बताउँछन् ।

कल्पनासँग छुट्टिएपछि पुजन राकेशसँग भोटेकोसी गाउँपालिकाको चाकुतिर लागेको पनि सोधपुछकै क्रममा खुलेको बाबु बताउँछन् । चाकुबाट हिन्दी भन्ने ठाउँमा पुगेर राकेश र पुजनले दूध, खुकुरी रम र चुरोटसमेत खरिद गरेको स्थानीयबासी बताउँछन् ।

हिन्दीमा सविन कार्की, रवि पौडेल र ‘डन’ भनिने गणेश खड्कासँग राकेश, पुजन दुवैको भेट भएको र कुराकानीसमेत भएको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यहाँ के वार्तालाप भयो भन्नेचाहिँ अनुसन्धानमा खुल्न बाँकी छ । उनीहरू पहिल्यै चिनजानका हुन् या कुनै कृत्यका लागि भेला भएका हुन्, त्यो पनि खुल्न नसकेको बाबुको दुखेसो छ ।

हिन्दीबाट राजेश र पुजन को२१प ५७९९ नम्बरको रोयल इन्फिल्ड बाइकमा चाकु नै फर्किएको त्यहाँका स्थानीयसमेत बताउँछन् । चाकुबाट कोठा नफर्किइ पुजन कता लागे भन्ने अवस्था चार महिनायता अज्ञात रहेको लालकुमारको दुःखेसो छ ।

बिग्रिएको थियो बाइकको ब्रेक
पुजन बेपत्ता प्रकरण मुलुकको बेथिति, प्रशासन संयन्त्र र प्रहरी प्रणाली चिनाउने आँखीझ्याल भएको बाबु लालकुमार बताउँछन् । “नगरपालिकामा जागिर खाने, पढे–लेखेको मानिस त यसरी बेपत्ता बनाइन सक्छ । र, प्रहरीले मौनता साँध्न सक्छ भने अरूको के हाल होला ?,” उनी देशको बेथितिप्रति औँला ठड्याउँदै भन्छन्, “पुजन राई त प्रतिनिधि मात्रै हो । अरू कति नागरिक, प्रहरी प्रशासनको बेवास्ताको डढेलोमा स्वाहा भएका होलान् ।”

राकेश श्रेष्ठसँग राई परिवारको भेट नभएको होइन । भेट्दा उनी हतास र हतप्रभ मनोदशामा थिए । बेलाबखत बयान फेरिरहन्थे । चिटचिट पसिना निकाल्थे । अनुहारमा डर र भयको तुफान मडारिइरहेको बुझन् कठिन हुँदैनथ्यो ।

“हामीले भेट्दा सुरुमै राकेशले पुजन त पुलसम्म पनि पुगेन होला भन्यो । कारण बुझ्दा पुजनको बाइकमा ब्रेक रहेनछ । चाकुका पुल हाउस र होटेल सञ्चालक शिव खड्कालाई पनि सोध्यौँ,” लालकुमार विस्तारमा बताउँछन्, “उनले पनि मोटरसाइकल बनाउन वर्कसप खोजेको बताए । दुर्भाग्य भनौँ, त्यस दिन वर्कसप बन्द रहेछ । ब्रेकफेल भएकाले भोटेकोसीमा खस्यो कि भन्ने राकेशको आशय थियो ।”

चाकुदेखि बाह्रबिसे पुलको भू–अवस्थिति बुझ्दा मोटरसाइकल र मानिससँगै बेपत्ता हुनै सक्दैन । खसेर सिधै नदीमा पुग्ने ठाउँ पनि छैन । राकेशको जिकिरले थप आशंकित तुल्याएको लालकुमार बताउँछन् ।

आफ्नै साइडतर्फ लडेको थियो बाइक
पुजनसँग जोडिएका मानिसहरूको परस्पर बयान बाझिएको परिवारको दाबी छ । पुजनसँग सुरुदेखि अन्त्यसम्म राकेश श्रेष्ठ साथमा हुँदा पनि प्रहरी अनुसन्धानमा प्रवेश नै गर्न नचाहनु आश्चर्यको विषय भएको लालकुमार बताउँछन् । अझ आश्चर्यको कुरा त, चाकुमा मोटरसाइकल लडेको प्रसंग रहेको उनी बताउँछन् ।

चाकुको पुलवारि पुजन चढेको मोटरसाइलक आफ्नै साइडतर्फ लडेको बयान राकेश श्रेष्ठले दिएको र त्यो पनि विवादास्पद रहेको बाबुको जिकिर छ । “ऊ मोटरसाइकल चलाउन पारंगत थियो । फेरि, नयाँ मोटरसाइल पनि होइन । अर्को साइटतिर पो लड्छ । कसरी आफ्नै साइटतिर लड्छ ? हामीलाई यहाँनेर पनि शंका छ,” माइजू रजनी राई बताउँछिन् ।

मेयरमाथि नै शंकाको सुई
भोजपुरको हतुवागढीबाट बाह्रबिसे ओहोरदोहोर गरिरहँदा पनि छोराको सास र लासको टुंगो लगाउन नसकेको लालकुमार बताउँछन् । पाँचपटकको प्रयासपछि बल्ल बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासँग भेट पाएका उनीहरूले उनीबाट पनि सन्तोषजनक व्यवहार पाउन नसकेको गुनासो गर्छन् ।

माइजू रजनी आक्रोशित हुँदै सुनाउँछिन्, “मेयरको बेवास्ताको सिकार पनि खुबै भइयो । उहाँलाई त भेट्नै दुरुह रहेछ । एकातिर भानिज हराएको पीडा छ । अर्कोतिर, भोजपुरबाट धाएर बाह्रबिसे पुग्यो, मुटु नै छियाछिया बनाउने व्यवहार । पाँचपटकको प्रयासपछि भेट भयो । त्यतिञ्जेल हराएका आफ्ना कर्मचारी खोज्नु त कहाँ हो कहाँ, अर्को विज्ञापन खोलिसक्नुभएको रहेछ । ए बाइकसँगै पो हराएको... ? भनेर घटनालाई सामान्यीकरण गर्न खोज्नुभयो । हामीलाई उहाँमाथि नै शंका छ ।”

पुजन राईका ९८४१९२४१५७ नम्बरको एनटीसी र ९८०५९६९०३५ नम्बरको एनसेलको दुवै नम्बर उनी बेपत्ता भएको दिनदेखि अफ छन् । त्यसको अन्तिम लोकेसन कहाँ थियो भनेर प्रहरीले अनुसन्धान नगरेको बाबु लालकुमार बताउँछन् ।

उनीहरूले २०७७ मंसिर २ गते, टीकाको भोलिपल्ट नै हराएका पुजन राई खोजी पाऊँ भनेर इलाका प्रहरी कार्यालय बाह्रबिसेमा निवेदन दर्ता गराएका छन् । त्यो निवेदनउपर प्रहरीले फितलो अनुसन्धान गरेको र नगरपालिकाको दबाबमा परेको महसुस भएको पीडित पक्षको आरोप छ ।

मोबाइल ट्रेसिङका आधारमा पुजन मंसिर १० गते दोलालघाट, ज्याम्दी र साठीघर पलाञ्चोक गएको खुले पनि त्यो पुष्टि हुन सकेको छैन । पुजन हुन् कि उनको मोबाइल बोकेका अरू हुन्, त्यसको खोजबिन हुन जरुरी रहेको लालकुमार बताउँछन् ।

“हामीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र सीआईबी प्रमुखसँग पनि घटनाको बेलिविस्तार लगाइसकेका छौँ । तर, पनि अनुसन्धानमा आलटाल भइरहेको छ । कि सास पत्ता लगाइदेऊ, कि लास भेट्टाइदेऊ हाम्रो माग यत्ति छ !,” लालकुमार भावुक हुँदै भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement