site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् ओलीको अबको बाटो
प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिनको अवसरमा बुबा मोहनप्रसाद ओलीसँग आशीर्वाद लिँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । भनिन्छ– अधिनायकवादी कार्यशैलीका शासकहरूको उदय अस्वाभाविक हुन्छ, पतन स्वाभाविक हुन्छ । इतिहासको सच्चाइ पनि यही हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक ठहर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली बहिर्गमनको सन्निकट छन् ।

चितवनबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेझैँ उनीसँग नैतिकता, लाज, घिन बँचेको छ भने राजीनामा दिएर सहज निकास दिँदा उत्तम हुन्छ ।

प्रधानमन्त्रीले जुन धारा, अवस्था र बाटो देखाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । संविधानको अन्तिम व्याख्याताले त्यसलाई असंवैधानिक ठहर गरेपछि उनले जन्मोत्सवको केक काट्न, पस्कन छाडेर शीतल निवासको बाटो तताउनुपर्ने हो ।

तर, उनले सहज निकास दिने छाँट छैन ।

संसद् पुनःस्थापना भइसकेको अवस्थामा पनि उनले विभिन्न बाटो प्रयोग–उपयोग गर्न सक्ने राजनीतिक वृत्तमा लख काट्न थालिएको छ ।

ओलीले अब चाल्ने सम्भावित कदम यस्तो देखिन्छ ।

पहिलो : अध्यादेश ल्याएर पार्टी विभाजन

बताइरहनु परेन, केपी ओलीकै कारण नेकपा एकता भएको थियो । कथम् ओली हुँदैनथिए भने वामगठबन्धन पनि हुँदैनथ्यो । त्यसैको जगमा एकता पनि खडा हुँदैनथ्यो ।

नेकपा विभाजनको कारक पनि उनी नै बन्दैछन् ।

स्थायी कमिटी बैठक चल्दाचल्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको बाटो नहिँडेको भए मुलुकमा राजनीतिक संकट उत्पन्न हुँदैनथ्यो । स्थायित्वमाथि प्रश्नचिह्न पनि खडा हुँदैनथ्यो ।

तर, पार्टीभित्रको विग्रह व्यवस्थापन गर्न नसकेर स्वेच्छाचारी बाटो हिँड्दै संसद् विघटन र राजनीतिक संकटको जोखिमसम्म पुगेका ओलीले नै पार्टी विभाजनको ‘अपजस’ लिने विश्लेषण सुरु भइसकेको छ ।

नेकपा विधिवत् विभाजित भइसकेको छ । तर, अहिलेसम्म दुवै पक्षले पार्टी फुटको निवेदन दिएका छैनन् । अहिलेसम्म आधिकारिकता दाबी मात्रै गरेका छन् ।

मौजुदा राजनीतिक दलसम्बन्धी कानुनअनुसार पार्टी विभाजन र नयाँ दलको मान्यता पाउन संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतिर ४० प्रतिशत सदस्य पुर्‍याउनुपर्छ । ओलीका निम्ति यो निकै दुरुह हो । संसदीय दलमा पुर्‍याउलान् । पार्टी केन्द्रीय कमिटीमा ३० प्रतिशत पुर्‍याउन पनि मुस्किल छ ।

त्यसैले उनले आज–भोलि नै आफूअनुकूलको प्रावधान राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउनेछन् । नयाँ दल दर्ताको बाटो खोल्नेछन् ।

सत्ता निरन्तरताका लागि देउवासँग सहकार्य

प्रतिनिधिसभा विघटन कांग्रेस सभापति शेरबहादुर देउवाका लागि परीक्षा पनि थियो । प्रतिनिधिसभा विघटन हुनेबित्तिकै आम कार्यकर्ता र नागरिकलाई आन्दोलनमा होमिन निम्तो दिएको भए प्रमुख प्रतिपक्षीको साख रहन्थ्यो । संविधान, लोकतन्त्रको रक्षाका निम्ति खरो उत्रिएको सन्देश पनि जान्थ्यो ।

लोकतन्त्रको पैरवीको यो महापरीक्षामा देउवा असफल भए । चुके । अतः सत्ताको दाबी गर्ने नैतिक बल उनीसामु छैन ।

प्रधानमन्त्रीको कदम असंवैधानिक नै हो भनेर प्रष्ट भन्न नसक्ने देउवाले सरकारको नेतृत्व दाबी गर्न सक्दैनन् भनेर टिप्पणी सुरु भइसकेको छ ।
 
त्यसो त, देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साक्षी नै बसेको, भागसान्तीमा सामेल भएको चर्चा पनि राजनीतिक वृत्तमा छँदैछ । त्यसैले सत्ताको हिसाबसान्तीमा देउवाको प्रचण्ड–नेपालसँग भन्दा ओलीसँगै ‘टोन’ मिल्ने टिप्पणी पनि राजनीतिक वृत्तमा भइरहेको छ ।

तसर्थ ओलीले सत्ताको निरन्तरताका लागि फेरि पनि देउवासँगै सहकार्य बढाउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।

नेकपा औपचारिकरूपमा विभाजन भए पनि अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेस तेस्रो दल हुने देखिन्छ । दोस्रो ओलीकै नेतृत्वमा बन्ने पार्टी हुनेछ ।

प्रधानमन्त्री ओलीले मंगलबारमात्रै पनि राष्ट्रिय युवा संगठनका नवनियुक्त पदाधिकारी र सदस्यहरूलाई शपथ खुवाउँदै प्रतिनिधिसभा पुनःस्थापना भए पनि प्रधानमन्त्री खोज्न आफैँकहाँ आउनुपर्ने बताएका थिए ।

यसको अर्थ सत्ता ढाल्ने र बनाउने खेलमा फेरि पनि ओली निर्णायक बन्न सक्छन् ।

अतः सकेसम्म ओलीले देउवासँग मिलेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने प्रयत्न गर्नेछन् । त्यस्तो भएन भने देउवालाई समर्थन गरेर प्रचण्ड–नेपालसँगको सहकार्यबाट टाढा राख्ने प्रयत्न गर्नेछन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro