अक्षर काका
जनमतसंग्रहपश्चात् पश्चिमाञ्चल भूखण्डमा कम्युनिस्ट आन्दोलन डढेलो झैँ फैलिइरहेको थियो । विद्रोहको आगोको लप्काले तत्कालीन सत्तामा अकन्टक राज्यसत्ता चलाउने सपना खाक बनाउने भय झाँगिदो थियो । र त, आस्था भिन्न भएकै आधारमा गिरफ्तार गर्ने, कम्युनिस्ट नेता–कार्यकर्तालाई सक्दो प्रताडना दिने कार्यलाई आँधीमय वेगमा बढाउँदै लगेको थियो ।
प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई भाग्य र भविष्य ठान्दै भूमिगत बाटो रोजिसकेका थिए । समाजका दुःख, पीडा, अभाव, उत्पीडन, दमनलाई बदल्ने साध्य कम्युनिस्ट आन्दोलन हो भन्ने बुझाइ बलशाली बन्दै थियो । इच्छाइएको बाटो हिँड्नु रहरै भइगयो । भूमिगत आन्दोलनचाहिँ रहर थिएन, त्यो एउटा निर्मम बाध्यता थियो ।
४० को दशकतिर आइपुग्दा प्रदीपलाई कम्युनिस्ट आन्दोलन र बैंसको धूपले एकसाथ छपक्क छोपेको थियो । मनभित्र रुमानी सपनाको ज्योति जाग्दो थियो । त्यसकै आलोकमा जिन्दगीलाई आन्दोलनतिर डोर्याउँदै थिए ।
आन्दोलन कहिलेतिर उत्कर्षमा पुग्छ, त्यसको कुनै टुंगो थिएन । भूमिगत आन्दोलन कष्टकर जिन्दगीको पर्याय नै हो । साथै, त्यो एउटा अनिश्चित यात्रा पनि थियो । मर्ने, मारिने टुंगो थिएन । कति नेता–कार्यकर्ता जेलभित्र चिसो स्याँठ खाइरहेका थिए । कतिलाई दमनले निलेको थियो । कतिलाई आन्दोलनले खाक तुल्याएको थियो ।
साहित्य–सिर्जना र आन्दोलनको चिराक एकसाथ बोकेर हिँडेका थिए, प्रदीप । एक्कासि चल्ने दमनको हुरीले दियालो निभाइदिने हो कि भनेर मनभित्र भयको हुन्डरी नचल्ने होइन ।
र त, उनले मनमनै रहरको डोरी बाटेका थिए । सहयात्रीको खोजी गरेका थिए । यस्तो सहयात्री, जसले आन्दोलनको चिराक एकसाथ बोकोस् र त्यसको आभाले जीवन र समाज एकसाथ झलमल्ल होस् ।
तिनताक माले आन्दोलनले एउटा बुझाइ तय गरेको थियो । अझ भनौँ, यसलाई ‘नीति’कै रूपमा अघि बढाएको थियो । यो संस्कारलाई आन्दोनलको अंगको रूपमा ग्रहण गरेको थियो । पार्टीमा आबद्ध नेता–कार्यकर्ताहरूको विचार मिल्दो जोडी होस् । कम्युनिस्ट आन्दोलनको मर्मअनुकूल उनीहरू प्रणयधागोमा बाँधियून् ।
व्यक्तिको राजनीतिक जीवनको सुरक्षाका लागि पार्टीले अघि बढाएको यो अवधारणाले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउँदै लगेको अनुभूत भएको थियो । विवाह संस्थालाई परम्परावादी सोच र चिन्तनबाट माथि उकास्न र यसको मूल्य–मान्यता बदल्ने अभियान पनि आन्दोलनकै रूपमा समानान्तर वेगमा अघि बढिरहेको थियो भन्न नसकिने होइन ।
“पार्टीले उपयुक्त पात्र खोजिदिने या कहिलेकाहीँ पात्र स्वयंले आफ्नो जोडी चयन गरेर अनुमति दिने चलन पनि थियो,” ज्ञवाली ती दिन सम्झँदै भन्छन्, “त्योभन्दा बढ्ता पार्टीले उपयुक्त ठानेर प्रबन्ध गरिदिने, त्यस्तो परम्परा थियो ।”
विक्रम संवत् २०४० को सुरुवाततिर । समय ठ्याक्कै यकिन छैन ज्ञवालीलाई । उनले पार्टीमा विवाहको प्रस्ताव राखे । पात्र चयनको जिम्मा पनि पार्टीलाई नै दिएर । पार्टीले अनुमति दिने हो कि होइन, बेला भएको छैन पो भन्ने हो कि भन्ने अन्योलताकै बीच प्रस्ताव नेतावृत्तमा पुग्यो । नेताहरूका बीचमा छलफल, बहसको विषयका रूपमा प्रविष्ट भयो ।
सरस्वती अर्याल तिनताक पाल्पाको तानसेनमा ढाका उद्योगमा काम गर्थिन् । संगठन निर्माण, पढाइ र रोजगारीलाई समवेगमा अघि बढाइरहेकी थिइन् । सरस्वती नै प्रदीपको सहयात्रका निम्ति सुहाउँदो पात्र हुन सक्छिन् भनेर नेताहरूले ठम्याएछन् । तत्कालीन मालेका त्यस भेगका शीर्ष नेताहरू, जीवराज आश्रित, मोदनाथ प्रश्रित, सिद्धिनाथ ज्ञवालीले भेट गराइदिए, उनीहरूलाई ।
२०४० को निख्रँदो शीतयाममा उनीहरूको भेट भयो । आपसमा चिनजान पनि भयो । तर, त्यो भेट निकै औपचारिक थियो । प्रणयको तुफानी पैदा गर्ने थिएन । न कौतुक जगाउने किसिमकै थियो । विशुद्ध राजनीतिक भेटघाटकै रूप लियो ।
“भेटले एकापसमा आकर्षण सञ्चार गर्ने, प्रेमको वीजांकुरण गर्ने त्यस्तो केही भएन । दुईवटा कमरेड चिनियौँ, सामान्य कुराकानी भयो र छुट्टियौँ,” उनी लोमहर्षित हुँदै सुनाउँछन् ।
त्यो भेटले विवाहमै पुर्याउला भनेर प्रदीपले सोचेका थिएनन् । मनकै सरस्वतीको स्थान पनि लिइसकेकी थिइनन् । हुर्कंदी सरस्वती । बिहे नहुँदासम्म छोरीको जीवनले गति नलिने तत्कालीन समाजको बुझाइ थियो । अद्यापि छँदैछ । उनलाई घरमा दबाब बढ्न थाल्यो ।
सरस्वतीको मनमा पनि कसैले बास गरेको थिएन । न उनले यस्तै पात्र जीवनमा स्वप्नील वसन्त बोकेर आओस् भनेर परिकल्पना नै गरेकी थिइन् । उनको चाहना यत्ति थियो– विचार मिल्दो राजनीतिक कार्यकर्तासँगै बिहे होस् । वैचारिक बेमेलको घानमा जिन्दगीका सपना–रहरहरू नपरून् । नमरून् ।
यही अठोटले हुनुपर्छ उनीहरूको दोस्रो भेट भयो । सरस्वतीको आग्रहमा । प्रदीपसँग आन्दोलनबाहेक जिन्दगीको मूर्त योजना थिएन । उनी आफ्नै लयमा स्वच्छन्द बगिरहेका थिए– कालीगण्डकी झैँ ।
प्रदीपको स्मृतिमा दोस्रो भेट तानसेन झैँ पहारिलो थियो । घमाइलो थियो । प्रेमग्रन्थी रसाउने प्रकृतिको थियो । आपसमा प्रणयको सिरेटो जगाएको थियो । बिहेको सम्भावनाको ढोका खोलेको थियो । र, अर्को भेटको निम्तो दिएको थियो ।
“२०४१ साउनमा हामीले तेस्रोपटक भेटेका थियौँ । त्यो भेटसम्म आइपुग्दा हामीबीच निकटता झाँगिइसकेको थियो । तर, त्यो निकटता सामीप्यता आज देखिनेजस्तो विपरीतलिंगीप्रतिको आकर्षणभावको रूपमा मात्र होइन, राजनीतिक यात्रामा एकजना भरपर्दो र विश्वासिलो सहयात्री भेटियो भन्ने किसिमको थियो,” उनी त्यतिबेला मनमा उब्जिएका भावहरूलाई स्मृतिको मझेरीबाट उधिन्दै अर्थ्याउने प्रयत्न गर्छन्, “हामीले आपसमा झाँगिदो प्रेमलाई राजनीतिक आँखाबाट हेर्यौँ ।”
जीवनको यात्रा मदनपोखराको मोड हुँदै अघि बढ्ला भनेर उनले चिताएका थिएनन् । जीवन सरल र काल्पनिक रेखामा बग्दैन, यसको नियति, प्रकृति विम्बमा कालीगण्डकी जस्तै हुन्छ ।
२०४१ कै कात्तिकमा चौथो भेटपछि त्यही वर्षको मंसिर १८ गते प्रदीप र सरस्वती प्रणयसूत्रमा उनिए । यज्ञ–यज्ञादि कर्म गरेर होइन । मन्दिर र अमूक देवतासामु कसम खाएर होइन । पुरोहित, आफन्त, नातागोता भेला गरेर पनि होइन । नेता–कार्यकर्ता र पार्टीको लालझन्डासामु उभिएर जीवनमा एकार्काको सहयात्री बन्ने र कहिल्यै नछुट्टिए कसम खाए ।
त्यतिबेला प्रदीप गुल्मी–अर्घाखाँची संयुक्त जिल्ला कमिटीका सदस्य थिए । सरस्वती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र अखिल नेपाल महिला संघ (अनेमसंघ) दुवैतिर आबद्ध भएर राजनीतिक चेतनामा पाइन हाल्दै थिइन् ।
० ० ०
पाल्पा, मदनपोखराका एकप्रसाद भण्डारीको घरमा प्रदीपको विवाह भएको थियो, भूमिगत रूपमै । एकप्रसाद तत्कालीन मालेप्रति निष्ठावान् थिए । उनको घर पार्टीको ‘सेल्टर’ पनि थियो । भोलिपल्ट, मंसिर १९ गते प्रदीप दुलही लिएर ससुराली गए । ससुरालीमा बिहे कर्मादिलाई औपचारिकता दिने काम भयो ।
प्रदीप जीवनप्रति निकै नै फुक्काफाल थिए । बिहेका सुरुवाती दिनहरू सम्झँदा उनी आफूलाई निकै अपरिपक्व र अव्यावहारिक पाउँछन् । मृतिको गर्तमा पुग्दा आज पनि उनलाई उत्तिकै पीडाबोध हुन्छ । ग्लानीको स्याँठ चल्छ । र, त्यो अपरिपक्वताले अहिले पनि पछ्याएको त छैन भनेर आत्मसमीक्षाको बाटो देखाउँछ ।
मंसिर २१ गते ससुरालीबाट तानसेन फर्किए । प्रदीप र सरस्वतीको सम्बन्ध हिजोजस्तो पार्टी कार्यकर्ताको रूपमा मात्र सीमित थिएन । बैँसका हाँगामा बसेका प्रेमी–प्रेमिका मात्रै थिएनन् । विवाह सम्बन्धमा बाँधिइसकेका सहयात्री थिए ।
आपसमा जिन्दगीको अंग बनिसकेपछि अगाडिको बाटो दुवैले तय गर्नुपर्थ्यो । तत्कालीन समाज व्यवस्थाले महिलालाई विभिन्न लक्ष्मणरेखा तय गरिदिएकाले सरस्वतीलाई अगाडिको जीवन सहज थिएन । विवाह उनका निम्ति जीवनको पानीढलो थियो । भालुपहाडको घुम्ती थियो । व्यवस्था भत्काउन हिँडे पनि समाजका कतिपय सीमाहरूले उल्झन खडा गर्थे र प्रदीपको साथको जरुरत पर्थ्यो ।
तर, प्रदीप विवाहपूर्वकै अन्तरदशामा थिए । उनको नजरमा विवाह सामान्य परिघटना थियो । अब बदलिनुपर्छ, व्यावहारिक बन्नुपर्छ भन्ने चिन्तनले पटक्कै घच्घच्याएन । कहाँ बस्ने ? के खाने ? के गर्ने ? अब जीवनको बाटो कसरी अघि बढ्छ ? आदि विवाहपश्चात् आउने यावत् व्यावहारिक र घरजीवनका प्रश्नहरू अनुत्तरित राखेर र सरस्वतीसँगै अलपत्र छाडेर उनी आफ्नो कार्यक्षेत्रमा फर्किए ।
“त्यतिबेलाको मेरो अव्यावहारिकताको चरम नमुना अहिले पनि व्यंग्य गर्ने विषय बन्छ । मेरो कमजोरी केलाउँदै जाँदा सरस्वती अहिले पनि त्यहाँ पुग्छिन् र गिज्याउँछिन्,” मच्चिएरै हाँस्छन्, प्रदीप ।
एक महिनापछि तानसेन फर्किए प्रदीप । त्यतिबेला पनि उनी राजनीतिक कार्यकर्ता भेट्न आए झैँ सरस्वतीलाई भेट्न आएका थिए । यसपटक सरस्वतीले प्रेमाञ्जलिका अतिरिक्त गुनासोले पनि अभिसिञ्चित गरिन् । लोचनका पर्दा उघ्रिए प्रदीपका । उनी व्यावहारिक जीवनमा प्रविष्ट भए ।
“त्यो परिघटनाले हामीबीच झाँगिदै गरेको प्रेमलाई अझ प्रगाढ तुल्याउने काम गर्यो । अपरिपक्वतालाई मबाट अलग्याउने काम गर्यो,” प्रणय दिवसकै छेको पारेर गरिएको कुराकानीमा उनले सम्झिए ।
० ० ०
सरस्वती कुनै एउटा भूमिकामा मात्रै कहिल्यै बाँच्न पाइनन् । उसो त स्त्रीहरूको जीवनमा एउटा मात्रै भूमिकाको कल्पना निकै दुरुह कुरा हो । पाल्पामा छँदा विद्यार्थी, महिला मोर्चा र श्रमजीवीको भूमिकाका बाँडिएकी थिइन् । विवाहपश्चात् भने उनको राजनीतिक पाटो अलिक ओझेल पर्यो ।
२०४२ को आरम्भदेखि गुल्मी बलेटक्सारस्थित प्रदीपको घरमा बुहारीको भूमिकामा प्रविष्ट भइन् । बालखैदेखि अभावको भुंग्रोमा लौह झैँ खारिएकी सरस्वतीले गृहिणीको भूमिकाप्रति न्याय नगर्ने कुरै थिएन । तर, त्यतिले मात्रै कहाँ पुग्थ्यो र ! राजनीतिक चेतना उनको जीवनबाट अक्षुण्ण रहनै सक्दैनथ्यो । कुनै न कुनै काम गरेर परिवारलाई भरथेग गर्नैपर्थ्यो ।
तिनताक प्रदीपको परिवार एकैसाथ तीन–चारवटा जटिलताबाट गुज्रिइराखेको थियो । हुर्किएका छोराहरू जीविकोपार्जनको बाटो नरोजी भूमिगत आन्दोलनतिर लागेपछि घरमा अभावले बास गर्ने नै भयो । अर्को प्रशासनको दृष्टि सदैव परिराख्यो । व्यवस्थाविरोधी, त्यसमाथि कम्युनिस्ट भनेपछि प्रशासनको आँखा पर्नु स्वाभाविकै भइगयो ।
प्रदीप अर्घाखाँचीलाई केन्द्रीय थलो बनाएर भूमिगत थिए । दाजु हरि ज्ञवालीको काँधमा थियो, परिवारको जिम्मेवारी । तत्कालीन सत्ताबाट उनले पाउनु, नपाउनु दुःख पाए । प्रशासन व्यवस्थाविरोधी आन्दोलनका अतिरिक्त कम्युनिस्टहरूलाई तितरवितर बनाउन चाहन्थ्यो ।
तर, ऊसँग ठोस सबुत हुँदैनथ्यो । त्यसबखत उसले झुटा लाञ्छना, अभियोगहरूको सहारा लिन्थ्यो र प्रताडित तुल्याउँथ्यो । यी सबैलाई जीवनको सौन्दर्य मान्दै सहँदै र चित्त बुझाउँदै आएका थिए । २०४४ को चैतमा उनको जीवनमा नियतिले बज्र हान्यो ।
० ० ०
प्रदीप राजनीतिक जीवनको उकालो चढ्दै थिए । यसको टुप्पो कहाँ हो, उनले भेउ पाएका थिएनन् । आन्दोलनकै क्रममा कति साथीहरूको इहलिला टुंगिएकाले राजनीतिक उत्कर्षमा पुग्न सकिएला, नसकिएला अनिश्चित थियो ।
आन्दोलनको दौरानमै जीवनको दौडधुप टुंगियो भने कसले थामिदेला चेतनाको बिँडो भनेर मन पिरोलिइरहन्थ्यो । त्यसैले उनले पत्नीसँग सल्लाह गरेका थिए । र, बच्चाको योजना बुनेका थिए । प्रदीप कवि हृदयका मानिस । भूमिगत यात्रा छिचोल्दा सिर्जनालाई साथी बनाउँथे । कविताका हरफहरूको लौरो टेक्थे । उच्चाटिला डाँडाहरूमा बसेर गद्य गुनगुनाउँथे । नदीको छाल, हावाको ताल उनका सुरम्य संगीत बन्थे ।
आफूलाई आकाशसँग तुलना गर्थे । सरस्वतीलाई धरतीको अपूर्व हिस्सा सम्झन्थेँ । यी दुईको काल्पनिक मिलनविन्दु के हुनसक्छ ? यसको सोझो उत्तर आउँथ्यो– क्षितिज । राजनीतिक यात्राको दौडधुपमै उनले पहिलो सन्तानको नामसमेत तय गरिसकेका थिए, उही क्षितिज ।
“आन्दोलनको दौरानमा के हो, के हो ? तसर्थ, एउटा नासो, उत्तराधिकारी रहिरहोस्, उसैले हाँकोस्, हाम्रो चेतनाको बागडोर भनेर सन्तानको परिकल्पना गरेका थियौँ,” उनी अहिले पनि भावुक हुन्छन् ।
सरस्वतीको पेटमा सात महिनाको बच्चा (भ्रूण) थियो । तिनताक प्रदीपलाई कडा वारेन्ट थियो । जसले पनि पोल लगाइदिनसक्ने र पक्राउ पर्ने भय थियो । सरस्वतीसँगको भेटघाट टुटेको धेरै भइसकेको थियो । प्रदीपको घर राजनीतिक ‘सेल्टर’जस्तो पनि भएकाले पत्राचार त बेलाबखत हुन्थ्यो । पत्राचारले मात्र भेटको तृष्णा किन मेटिन्थ्यो र !
देशमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलन प्रखर रूपमा अगाडि आइरहेको थियो र त्यो उत्कर्षतिर अभिमुख हुँदै थियो । त्यही बेलाको शीतयामतिर हुनुपर्छ, घरमा प्रशासनले छापा मार्न आउँदैछ भनेर सरस्वतीले सुइँको पाइन् । घरमा ‘प्रतिबन्धित’ दस्तावेजहरू थिए । प्रतिबन्धित किताबहरू पनि थिए । पार्टी आन्दोलनका कागजातहरू पनि नहुने कुरा भएन ।
प्रशासनले ती कागजात, दस्तावेज फेला पारे परिवार नै पक्राउ पर्ने र कडा यातना बेहोर्नुपर्ने भए थियो । त्यसैले उनले प्रशासनको आँखा छल्न गोठमा गइन् । लिस्नो चढेर माथिल्लो तलामा उक्लिइन् र ती कागजात लुकाइन् । हतारहतार तल झर्न खोज्दा लिस्नोले भर दिएन । सन्तुन बिग्रियो । उनी भैँसीको टाट्नामा खसिन् । दुर्भाग्य ! उनको पेट भैँसी बाँध्ने मोटो किलामा बजारिन पुगेछ । सात महिनाको गर्भ, तत्क्षण नै अचेत भइन् सरस्वती ।
अस्पतालको सहज पहुँच थिएन । स्वास्थ्य केन्द्रका कर्मचारीले सामान्य छामछुम गरे । त्यस्तो ठूलो असर परेको छैन भनेर फर्काइदिए । तर, त्यो दुर्घटना सानोतिनो थिएन । भयावह प्रकृतिको थियो । दुर्घटनाले पेटमा रहेको बच्चालाई गम्भीर आघात पुर्याएको थियो । तर, समयमै निदान हुन सकेन ।
स्वास्थ्यकर्मीहरूले अस्पतालमै प्रसूति गराउनु भनेका थिए । तर, २०४४ को चैतमा क्षितिज घरमै पैदा भइन् । गुल्मीमा पढाउँदै थिइन्, त्योबेलामा अस्पताल पुगून् कसरी ! स्वाभाविक प्रसूति भए पनि क्षितिज अस्वाभाविक जन्मिइन् । तीन महिनाअघिको दुर्घटनाको गम्भीर असर परेको थियो । अपांगता लिएर उनी जन्मिइन् ।
भूमिगत रूपमा संगठन विस्तारमा केन्द्रित भएकाले दुर्घटना तीन दिनपछि मात्रै थाहा पाएका थिए, प्रदीपले । क्षितिज जन्मिएका बेला पनि तीन दिनपछि मात्रै घर पुग्न सके । त्यो दिनको आँखाअगाडिको दृश्य उनी वर्णन गर्न सक्दैनन् । सम्झनु नपरोस् ठान्छन् । र, सकेसम्म पन्छन्छन् ।
अपांगता तत्कालीन परिस्थितिले थमाएको दुःस्वप्न थियो । आन्दोलनको उत्तराधिकारी कल्पना गरेको विकलांग जन्मिँदा त्यसले दिने पीडा अपरिमित हुने नै भयो । ‘सेरेबल पाल्सी’ (मस्तिष्क पक्षघात) लिएर जन्मिएकी क्षितिजको उपचारका निम्ति प्रयत्नहरू नगरेका पनि होइनन् । काठमाडौं, बुटवलका अस्पतालहरू चहारे । सामर्थ्यले भ्याएसम्मको उपचार गरे ।
सबै बाल विशेषज्ञहरूको एउटै निष्कर्ष थियो– “यो उपचार नहुने समस्या हो । बच्चा लामो आयु लिएर जन्मिएको पनि छैन । पीडाले प्रताडित नहुनूस् । जति बाँच्छ। राम्रो स्याहार दिनु र विकल्प सोच्नू !” चिकित्सकहरूको साझा निष्कर्षले उनीहरूलाई झन् विह्वल तुल्याउँथ्यो ।
पहिलो सन्तान । आन्दोलनको उत्तराधिकारी ठानेको । धेरै लामो आयुको छैन भन्ने सुन्दा मुटु झिरले घोचेझैँ महसुस हुन्थ्यो । तथापि, निरूपाय थिए, प्रदीप–सरस्वती ।
अभाव, दुःखका बीच फुलेको प्रेमको फूल झनै सुगन्धित र मोहक हुन्छ । प्रदीप र सरस्वती पनि अपवाद बनेनन् । सरस्वती प्रदीपका कुरामा मजैले विमति राख्छिन् । राजनीतिमा आएको मूल्यहरूको स्खलन, विरोधाभासको उनी कटु आलोचक हुन् । दम्पतीबीच वैचारिक बेमेल देखा नपर्ने होइन । तर, यसमै झाँगिएको छ उनीहरूको प्रणय–गुलाफ !
क्षितिजको आगमनले उनीहरूको प्रेम, सामीप्यता र वैवाहिक सम्बन्धलाई अझ प्रगााढ तुल्याउने कोसेढुंगा पनि बन्यो भन्न रुचाउँछन् प्रदीप । “हाम्रो जीवनमा जसरी एकपछि अर्कोगरी कष्टहरू थपिँदै गए, त्यसले हामीलाई उत्ति नै परिस्कृत र परिपक्व बनाउँदै लग्यो,” प्रदीप आफ्नो आँखाबाट जीवनलाई पर्गेल्ने कोसिस गर्छन् ।
० ० ०
प्रदीपको नजरमा सरस्वती स्वाभिमानको अग्लो पहाड लाग्छ । म त्यो उचाइमा पुग्न सक्छु कि सक्दिनँ भनेर यदाकदा घोत्लिन्छन् पनि प्रदीप । २०५१ सालमा पश्चिमाञ्चल ग्रामीण विकास बैंक बन्यो । तिनताक प्रदीप र सरस्वती बुटवलमा अस्थायी रूपमा सिफ्ट पनि भएका थिए । सरस्वती अस्थायी रूपमै बैंकमा काम गर्न थालिन् । उनी काम गर्न थालेको केही समयमै सरकार परिवर्तन भयो । बैंकका महाप्रबन्धक फेरिए । त्यसको असर सरस्वतीलाई पर्यो ।
शिक्षिका, सामाजिक संघ–संस्थाकी कर्मचारी आदि अनेक भूमिकामा पारंगत भइसकेकी सरस्वतीको बैंकको कार्यसम्पादन चित्तबुझ्दो नै थियो । तर, महाप्रबन्धक फेरिनासाथ सरस्वतीमाथि प्रतिशोध साँधियो ।तत्कालीन एमाले भएकै कारण उनी कोपभाजनमा परिन् । बैंकबाट निष्कासन भइन् ।
“त्यतिबेला म लुम्बिनी अञ्चलको सचिव थिए । मेरो राजनीतिक सक्रियता बढेको र आय–आर्जनको अर्को बाटो नभएकाले अभावले पुनः घेरा हाल्ने अवस्था बन्यो,” ती दिन सम्झँदै उनी भन्छन् ।
तत्पश्चात् पार्टीका नेताहरूकै जोडबलमा बुटवल नगरपालिका कर्मचारीको रूपमा भर्ती भएकी थिइन् । काम गरेको केही समय मात्रै भएको हुँदो हो, उनको स्वाभाविमानमा ठेस पुर्याइयो । ‘हामीले काममा लगाइदिएका त हौँ नि’ भनेर पार्टीकै नेताहरूले वचनको छुरा हान्दै हिँडेपछि सरस्वतीको स्वाभिमानले त्यहाँ बसिरहन दिएन । तुरुन्तै राजीनामा दिइन् ।
त्योभन्दा पूर्व पनि सरस्वतीको जीवनमा त्यस्तै तिक्त अनुभूति छ । २०४७ सालको भदौ–असोजतिर हुनुपर्छ, प्रदीपलाई समय ठ्याक्कै यकिन छैन । सरस्वती गाउँमा युगज्योति प्राथमिक विद्यालय संस्थापन गरेर प्रधानाध्यापक बनेकी थिइन् । तीन कक्षासम्मको पढाइ हुन्थ्यो । तीन कक्षासम्म पढाउने प्रधानाध्यापक पनि र एक्लो शिक्षिका पनि उनै थिइन् ।
तर, विद्यालयले तलब दिएन । अर्को बच्चा पैदा भइसकेको थियो । आम्दानीको अर्को बाटो थिएन । पटक–पटक माग गर्दा पनि विद्यालय व्यवस्थापनले तलब पनि नदिने र भवन पनि नबनाउने गरेपछि उनी आजित भइन् । लालटिन बालेर दिनभर विद्यालयको चौरमा आन्दोलित भइन् । पाँच महिनाको आलो सुत्केरी शरीरको पर्वाह नगरी मौन विद्रोहमा उत्रिइन् ।
सरस्वतीले आफ्नो पुस्तक लालटिनको उज्यालोमा यसबारे अझ विस्तृतमा चर्चा गरेकी छन् । र, यही विद्रोहले उनको पुस्तकको नामसमेत जुराइदियो, ‘लालटिनको उज्यालो’ ।
० ० ०
प्रदीप र सरस्वतीको जीवनमा क्षितिज अपूर्व प्रेमको हिस्सा बनेकी छन् । निस्सा बनेकी छन् । क्षितिजको अवस्था अस्वाभाविक छ । हिँड्डुल गर्न सक्दिनन् । बोलचाल गर्न सक्दिनन् । ज्ञवाली दम्पतीको अथक मिहेनत र प्रेमले उनले मुस्किलले आठ–नौवटा कुरा बुझ्न र प्रतिक्रिया जनाउन सक्छिन् ।
क्षितिजको अनुहारमा हाँसो देख्दा प्रदीप र सरस्वतीको अनुहारमा समभावमा गुलाफ फर्कन्छ । घण्टौँ रोइरहँदा दुवै विह्वल हुन्छन् । दम्पती बस्ने कोठामै क्षितिजको ओछ्यान तय गरिएको छ । क्षितिजलाई दिसा–पिसाब खुस्किएको होस् छैन । सकेसम्म त उनीहरूले क्षितिजलाई स्याहार गर्न समय छुट्टयाउँछन् । व्यस्तताले धकेल्दा कहिलेकाहीँ ओछ्यानमै खुस्कन्छ । कोठामा मलमूत्रको गन्ध फैलन्छ ।
ज्ञवाली दम्पतीलाई यी जीवनका प्रिय चिज लाग्छन् । क्षितिजका अस्वाभाविक गतिविधि जीवनका मनमोहक धुन लाग्छन् । त्यसमै खुसी खोज्ने र सन्तुष्ट हुने बानी परिसकेको छ ।
प्रदीप यसको श्रेय पनि आमा पुण्यकलालाई दिन चाहन्छिन् । २०५३ सालमा आमाको निधन भयो । त्यसपूर्व आमाले क्षितिजलाई काख र पिठ्युँभन्दा बाहिर रहन दिइनन् । जहाँ जाँदा पनि पिठ्युँमा राखेर आफ्नै लयमा संसार देखाउने र बुझाउने प्रयत्न गरिन् । हजुरआमाको माया–ममताले उनको बाल्यकाल सहज ढंगले व्यतीत पनि भयो ।
प्रदीप अहिले सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा छन् । परराष्ट्रमन्त्री भएकाले घरमा आउजाउ गर्नेहरू थुप्रै हुन्छन् । त्यसभन्दा अघि पनि उनी महत्त्वपूर्ण जिम्मेवारीमै रहेकाले भेटघाट गर्न नेता–कार्यकर्ता, शुभचिन्तक नआउने होइनन् । तर, आउने बढीजसोले नाक खुम्च्याएर जान्छन् । अपांगता बेहोरेकी क्षितिजको मलमूत्रको दुर्गन्धले अनुहार बिगारेको बुझ्न कठिन छैन । सुरुसुरुमा उनीहरूलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अभ्यस्त भइसकेका छन् ।
बरु, त्यसलाई उनीहरूले अपांगता भएकाहरूप्रतिको मानिसहरूको दृष्टिकोण र बुझाइका रूपमा ग्रहण गरेका छन् । “क्षितिज पैदा भएपछि अत्यन्तै नजिक भनिएका आफ्न्तहरूको पनि हामीलाई हेर्ने दृष्टिकोणमा बदलाव आयो । हाम्रो घरमा आउनजान छाडे । सामाजिक खिसीटिउरीको माध्यम बन्यो । बुहारी भएर धर्मकर्म गर्नु छैन, तीर्थ–श्राद्ध कता हो, पाप त निस्किइहाल्छ नि भनेर कुरा काट्ने माध्यम बन्यो,” प्रदीप अपांगताप्रतिको सामाजिक दृष्टिकोणको पयो फुकाउँछन् ।
उनको हाँसो, रुवाइ, मलमूत्र त्याग सबै जीवनका अंग बनेका छन् । अपांगता भएका बालबच्चाहरूलाई हुर्काउनु, स्याहार–सुसार गर्नु निकै कष्टसाध्य कुरा हो । उनीहरूको अपांगतासँग अभ्यस्त हुन निकै समय लाग्छ । विस्तारै अभ्यस्त हुँदै गएका छन्, ज्ञवाली दम्पती ।
कहिलेकाहीँ क्षितिज घण्टौँ रोइरहन्छिन् । अतिशय पीडाले भित्तामा ड्यामड्याम टाउको बजार्छिन् । त्यतिबेला उनीहरूलाई असह्य पीडाबोध हुन्छ । आफ्नो सन्तानलाई भएको के हो भनेर ठम्याउन नसक्दा आँखाबाट बलिन्द्र धारा आँसु खस्छन् । र, तुरुन्तै सम्हालिन्छन्– अहो ! यो त हाम्रो प्रेमको निशानी पो हो । उनीहरूकै प्रेम, निष्ठा र समर्पणाले क्षितिजको आयु फराकिलो बनेको छ ।
फाइल तस्बिरः प्रदीप ज्ञवालीको फेसबुकबाट ।