काठमाडौं । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाली कांग्रेस प्रजातान्त्रिक नेतृत्वको शेरबहादुर देउवा सरकारलाई अपदस्थ गरे । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार गठन गरे । चन्द नेतृत्वको सरकार एक वर्ष पनि टिकेन । त्यसपछि सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भए ।
देउवा नेतृत्वको सरकार बर्खास्त गरेपछि मुलुकका राजनीतिक दलहरू आन्दोलित भएका थिए । २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्ड र त्यसपछि शासनसत्तामा उदाएका राजा ज्ञानेन्द्र क्रमशः निरंकुश बन्दै गए पनि त्यसलाई तुरुन्तै विस्थापन गर्ने सामर्थ्य राजनीतिक दलसँग देखिएको थिएन ।
होलेरी आक्रमणपछि तत्कालीन युद्धरत् नेकपा माओवादी केन्द्रको मनोबल उकासिएको थियो । त्यसको असर देश र राजनीतिक अवस्था दुवैमा देखिएको थियो । र, लाभ ज्ञानेन्द्रले उठाइरहेका थिए ।
दलहरुको आन्दोलनले राजाशाही कमजोर नहुने छाँट देखेपछि भर्खरै एकीकृत भएको तत्कालीन एमालेनिकट अनेरास्ववियूले जबर्जस्त सडकको नेतृत्व गर्द ैथियो । तत्कालीन अनेरास्ववियूभित्र राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवारजस्ता उदीयमान, जल्दाबल्दा नेताहरू थिए ।
तर, आन्दोलनको मैदानमा रामकुमारी झाँक्री देखिइन् । २०६० अघिसम्म रामकुमारी झाँक्रीको परिचय अखिलको नेतृमा मात्रै सीमित थियो । ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्धको आन्दोलनले उनको परिचयमा इँटा थपिदियो । गणतन्त्रको शंखघोष गर्ने आन्दोलनकारीको रूपमा उनी अगाडि आइन् ।
२०६० पुस २३ गते तत्कालीन अनेरास्ववियूले रत्नपार्कमा विरोध प्रदर्शनको आयोजना गरेको थियो । विरोध प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण नै थियो । तर, प्रहरी एकाएक मुठभेडको मुडमा देखियो । जुलुसको अग्रभागमा थिइन्, रामकुमारी झाँक्री । प्रहरीको लाठी प्रहारबाट उनको टाउको फुट्यो । रगतपच्छे भइन् ।
अहिलेकोजस्तो सामाजिक सञ्जाल त्यतिबेला थिएन । तथापि, आन्दोलनकारीको मन–मस्तिष्कमा रामकुमारी झाँक्री गाढा विम्ब बनिन् । त्यसको अढाई वर्षपछि २०६२–०६३ को आन्दोलनको शंखघोष भयो । पार्टीलाई उछिनेर अनेरास्ववियूले गणतन्त्रको नारा लगायो । परिणामतः मुलुकमा गणतन्त्रको स्थापना पनि भयो ।
ज्ञानेन्द्र शाहको पालामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थियो । मौलिक हक साँघुरिँदै थिए । प्रश्नहरूको गला दबाइन्थ्यो । राजतन्त्र प्रश्नको घेराभन्दा माथि थियो । राजतन्त्रकै निर्देशनमा सञ्चालित सरकार पनि त्योभन्दा भिन्न थिएन । सरकार आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै रामकुमारी झाँक्री सडकमा टाउको फुटाउन तयार भएकी थिइन् । रक्ताम्य पनि भइन् । गणतन्त्रको अभ्युदय पनि भयो ।
आफैँले रगत बगाएर ल्याएको गणतन्त्रले पनि उनलाई सुख दिएन । राज्यविरुद्धको कसुर गरेको ठहर गर्दै बिहीबार प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको छ । र, अहिले उनलाई महानगरीय अपराध महाशाखामा राखिएको छ ।
“म अहिले महानगरीय अपराध महाशाखाभित्र प्रहरीको नियन्त्रणमा छु । इमानदार नागरिकको हैसियतले राज्यको कानुनको परिपालना गर्दै यहाँ आएकी हुँ,” झाँक्रीले बाह्रखरीसँग भनिन् । उनीमाथि लगाइएको अभियोग प्रमाणित भयो भने सात वर्ष कदै वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।
यही माघ १७ गते गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित सभामा दिएको अभिव्यक्तिले उनी प्रहरी नियन्त्रणमा पुगेकी छिन् । सरकारले रामकुमारीको अभिव्यक्तिले राज्यविरुद्धको कसुर आकर्षित भएको ठहर गरेको छ ।
रामकुमारीले के भनेकी थिइन् राष्ट्रपतिलाई ?
राष्ट्रपतिका कुरा त के गर्ने ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदन सार्वजनिक गर्दाका दिन... । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि कार्गेट छाडेर, सुख–सुविधा ऐस, आराम शीतलनिवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईंसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र हराउँछौँ ।
तपाईंका लागि म पनि भारी हुनसक्छु । त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धेदृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन । त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भुल थियो, यहाँ अन्यथा नहोस् । तमाम दिदी–बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्यापछाडि सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले, त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो ।
धरानमा मेयरचाहिँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टिमेन्टको, इमोसनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधारकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ । कपाल देखाएर, नाक देखाएर छाला देखाएर, लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ । दोस्रोपटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऊँ भनेर सचिवालयका सबै नेताहरूको घरमा देउसी खेल्न गएका थियौँ हामी । उहाँहरूले कानमा तेल हाल्नुभो । त्यतिन्जेलसम्म उहाँहरूको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुदर्शी थियौँ भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्याइ तेहेर्याइ किन राख्ने ?
वैवाहिक वर्षगाँठका दिन सरकारको उपहार– पक्राउ पुर्जी
राष्ट्रपतिविरुद्ध मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै विभाजित नेकपाको ओली समूह आक्रोशित थियो । अखिल नेपाल महिला संघ ज्ञापनपत्र बोकेर गृह मन्त्रालय ढक्ढक्याउन पुगेको थियो । नवगठित ओलीका ‘साइबर सेना’हरूले रामकुमारीविरुद्ध आलोचनाको वर्षा गरिरहेका थिए ।
प्रहरी कार्यालय स्रोतका अनुसार रामकुमारीलाई त्यतिबेलै पक्राउ गर्न भनिएको थियो । तर, रामकुमारीलाई प्रक्राउ गर्ने विषयमा प्रहरीभित्रै दुईथरी मत देखापर्यो । एकाथरीले आन्दोलनको आगोमा घिउ थपेजस्तो हुने बताए ।
तर, प्रधानमन्त्री कार्यालयको निर्देशनका अगाडि प्रहरी निरूपाय बन्यो । सादा पोसाकका प्रहरी बिहीबार बिहान रामकुमारीलाई पक्राउ गर्न शंखमूलस्थित घरमा परिचालित भए । सञ्चारमाध्यममा समाचार आएपछि अनेरास्ववियूका नेता–कार्यकर्ता जुलुससहित रामकुमारीको घरमा गए । मूलसडकबाट २० मिटर पर घर रहेको घरअगाडि नाराबाजी सुरु गरे ।
सुरुमै पक्राउ गर्न प्रहरी हच्कियो । करिब दुई घण्टाको नाराबाजीपछि प्रहरीले महानगरीय अपराध महाशाखा मीनभवनका नायव उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मीको नामबाट जारी भएको पक्राउ पुर्जी थमायो । त्यतिञ्जेलसम्म रामकुमारीले पक्राउ पुर्जी आएपछि गिरफ्तारी दिने बताइरहेकी थिइन् । डीएसपी भित्र छिरेर पुर्जी थमाएपछि उनले गिरफ्तारी दिइन् ।
“हामीले लोकतन्त्रका लागि लडेका थियौँ । हाम्रो पुस्ता लडेको थियो । सात दशक लामो क्रान्तिको इतिहासमा धेरै कुरा प्राप्त ग¥यौँ भन्ने लागेको थियो । तीन वर्षअगाडि भएको चुनावमा कम्युनिस्ट पार्टीले स्पष्ट बहुमत पनि ल्याएको थियो । आज दिन यस्तो आयो कि जुन पार्टीमा म आबद्ध थिएँ, आज त्यही दलबाट निर्वाचित प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमले गर्दा यो आक्रमणको परिणाम स्वरूप आज जनताको प्रतिनिधिमूलक थलो विघटन भएर प्रतिगमन भएको छ । प्रतिगनको विरुद्धमा संविधान र लोकतन्त्रको बहालीको लागि सडकमा छौँ । देशभरिका नागरिकलाई संगठित गर्ने क्रममा केही विचारहरूका आधारमा केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास स्वरूप संविधानको धारा ५८ अन्तर्गत सरकारको अवशिष्ट अधिकार प्रयोग गरेर ममाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी जारी गरेको छ । म एउटा इमानदार, कानुनको परिपालक गर्ने नागरिकको हैसियतअनुसार राज्यले मविरुद्ध जारी गरेको पक्राउ पुर्जीको आदेशानुसार म मेरो निवासबाट गिरफ्तारी दिँदैछु,’’ उनले भनेकी थिइन् ।
तर, कार्यकर्ताहरू मान्न तयार थिएनन् । रामकुमारी प्रहरी भ्यानभित्र बसिसक्दा पनि अनेरास्ववियूका नेता–कार्यकर्ताको आक्रोश साम्य भएको थिएन । झन् बढ्दो थियो । सरकारको कार्यशैलीबाट क्षुब्ध बनेका नेता–कार्यकर्ताले भ्यानलाई हातले ठटाउन थाल्दा पनि प्रहरीले संयमता गुमाएन । यसबाटै प्रहरीको मनोदशा–अन्तरविरोध प्रष्ट हुन्थ्यो ।
“आज माघ २९
सोचेजस्तो हुन्न जीवन भन्ने थाहा छ
तिमी आयौ जिन्दगीमा यसै आहा छ !”
नेकपा प्रचण्ड–नेपाल समूहमा रहेकी नेतृ रामकुमारीले बिहानै सामाजिक सञ्जालमा लेखेकी थिइन् । आजै उनको वैवाहिक वर्षगाँठ पनि थियो । विद्यार्थी आन्दोलनमै छँदा सरकारी सेवामा रहेका पशुपति पुरीसँग उनी प्रणय–सूत्रमा बाँधिएकी थिइन् ।
यस वर्षको उनको एनिभर्सरी भने प्रहरी नियन्त्रणमा बित्ने भएको छ । त्यो पनि आफैँले लडेर ल्याएको गणतन्त्रमा, आफैँले निर्वाचित गराएको सरकारबाट !