काठमाडौं । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि पुसमा पनि रेमिट्यान्स बढेको छ । कोभिडको कारण रेमिट्यान्स घट्नसक्ने प्रक्षेपणका बाबजुत पनि रेमिट्यान्स भने लगातार रुपमा बढेको नेपाल राष्ट्र बैंकले प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले देखाउँछ ।
चालु आर्थिक वर्षको ६ महिना (साउन-पुस) मा चार खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ । जुन गत आर्थिक वर्ष ०७६/७७ को सोही अवधिको भन्दा ११.१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा चार खर्ब ४७ अर्ब ३६ करोड रेमिट्यान्स आएको थियो ।
नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स बढेको छ । अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा १.३ प्रतिशतले बढेको थियो ।
कोभिडको कारण श्रम स्वीकृति बन्द हुँदा यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जाने मात्रै नभएर पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या पनि ६८.९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।