काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वित्तीय विवण बुझाउन अटेर गरेको भन्दै राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । दुवै कम्पनीले धितोपत्र सूचीकरण विनियमावली पालन नगरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ मा सूचीकृत संगठित संस्थाले देहायबमोजिमको सूचना तथा जानकारी नेप्सेमा पेस गर्नुपर्नेछ भन्ने उल्लेख छ । सो विनियमको बुँदा ‘क’ मा “सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र” पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही विनियमका आधारमा दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीलाई नेप्सेले त्यस कम्पनीको वार्षिक वित्तीय विवरणपत्र काटेर माग गर्दासमेत पेस नगरेको हुँदा धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ को १ ‘घ’ बमोजिम धितोपत्रको दोस्रो बजार कारोबार रोक्का गरिएको छ,” नेप्सेको सूचनामा भनिएको छ ।
उक्त नियमावलीको विनियम १६ को १ मा देहायको कुनै अवस्थामा विद्यमान भए नेप्सेले सूचीकृत संगठित संस्थाको धितोपत्र सूचीकरण स्थगत गर्न सक्नेछ भन्ने व्यवस्था छ । सो व्यवस्थाअन्तर्गत विनियम १६ को १ ‘घ’ मा नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेस नगरेमा भन्ने उल्लेख छ ।
वर्षौंदेखि वित्तीय विवरण प्रकाशित नगरेका दुवै कम्पनीले साधारणसभा नबोलाएको पनि वर्षौं बितेको छ । तर पनि नेप्सेमा यस्ता कम्पनीको लगातार रुपमा सेयर कारोबार भइरहँदा तीव्र आलोचना भइरहेका थियो । दुवै कम्पनीको वित्तीय अवस्था कस्तो छ भने जानकारी लगानीकर्तालाई नहुँदा पनि अहिले दुवै कम्पनीको सेयर मूल्य हजारौं छ ।
माघ १८ गते आइतबार आजको नेप्सेमा विशाल बजार कम्पनीको सेयर मूल्य २८८० रुपैयाँमा बन्द भएको छ । यस्तै राष्ट्रिय बिमा कम्पनीको सर्वसाधारण सेयर मूल्य प्रतिकित्ता १६ हजार ६७० रुपैयाँ र प्रमोटर सेयर प्रतिकित्ता १५ हजार ५०० रुपैयाँमा बन्द भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । राष्ट्रिय बिमा कम्पनीको ०६७/६८ पछि वार्षिक विवरण प्रकाशित भएको छैन भने विशाल बजार कम्पनीको पनि ०७०/७१ पछिको वार्षिक वित्तीय विवरण सार्वजनिक भएको छैन ।