काठमाडौं । काँडाघारीस्थित हरहर महादेव मन्दिरबाट मूलपानीतर्फ गइरहेको बा९३प ३३१० नम्बरको मोटरसाइकल एक घरको भित्तामा ठोक्किँदा सिन्धुलीका ३१ वर्षीय निराजन बरालले ज्यान गुमाएका छन् । बरालको ट्रमा सेन्टरमा गए राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट लेन मिचेर आएको बा५ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किन पुगेको थियो ।
यसैगरी, नयाँ बसपार्क सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाले ज्यान गुमाएकी छन् । लमजुङकी सुनमाया गुरुङले ज्यान गुमाएकी हुन् । गोंगबुबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बा८७प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
यही माघ १५ गते लोकन्थली–कोटेश्वर सडकखण्डमा बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भयो । दुर्घटना भएको केही समयपछि प्रहरीले चालकको लापरबाहीले दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।
त्यस्तै, माघ ७ गते थानकोट–कलंकी सडकखण्डमा दुईवटा मोटारसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भए । माघ ६ गते कीर्तिपुर–बल्खु सडकखण्डमा ना७ख २२०९ नम्बरको ट्यांकरले बा५७ख ३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भए ।
यी सबै सवारी दुर्घटना हुनुमा सवारी चालककै गल्ती देखिएको पाइन्छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको दाबी छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ८० प्रतिशत सवारी दुर्घटनामा चालकको लापरबाही तथा कमजोरी देखिएको जनाएको छ । महाशाखाका प्रमुख जनक भट्टराई चालकले ट्राफिक नियम पालना गरे ९० प्रतिशत सवारी दुर्घटनामा नपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘‘ट्राफिक नियमको पूर्ण पालन गर्ने हो भने दुर्घटना घट्छ । मुख्यगरी चालकको लापरबाही, तीव्र गति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रीको लापरबाही, छाडा चौपायाजस्ता कारणले दुर्घटना निम्तिने हो । प्राविधिक कमजोरी भए पनि सवारीचालक सचेत रहनैपर्छ । सडक र सवारी–साधनलाई दोष दिएर आफ्नै जीवन क्षति हुने हो । ट्राफिकको अध्ययनले दुर्घटनामा चालकलाई मुख्य दोषीका रुपमा खडा गरिदिएको छ ।’’
उपत्यकामा प्रत्येक दिन २१ सवारी दुर्घटना
काठमाडौं उपत्यकामा प्रत्येक दिन औसतमा २१ वटा सवारी दुर्घटना हुने गरेका ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । ती दुर्घटनामा परी दैनिक दुईदेखि पाँचजनाले ज्यान गुमाउने गरेका छन् । सवारी दुर्घटनाबाट हुने मानवीय र धनजनको क्षति कहालीलाग्दो छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अध्ययन नै नहुने बताउँछन् । उनले भने, ‘‘चालकलाई मात्र दोष दिन हुँदैन । हवाई दुर्घटनाकोजस्तो तथ्यांक संकलन गरिनुपर्छ । तर, यो हुन सकिरहेको छैन । दुर्र्घटना बढ्नुमा चालकलाई दोष दिनुभन्दा चालक अनुमतिपत्र वितरण प्रणाली नै परिवर्तन गर्नुपर्छ । चालकको स्वास्थ्य परीक्षणदेखि सडकको अवस्था, चौपाया, हुस्सु/कुहिरो, यात्री सबैको गल्ती हुन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटनामा दैनिक २४ वटा सवारी–साधनको संलग्नता देखिने गरेको छ । त्यसमध्ये बस मिनिबस र माइक्रोबस दुर्घटनाको संख्या मोटरसाइकलपछि दोस्रो स्थानमा रहेको छ । क्षति व्यहोर्नुपर्दाको पीडा परिवार र व्यवसायीलाई मात्रै थाहा हुन्छ ।’’
उनले थपे, ‘‘सवारीचालक अनुमतिपत्र वितरणदेखि सवारीचालकको स्वास्थ्य परीक्षण, सवारी परीक्षण, स्थलगत अनुगमन, छानबिन प्रक्रिया अघि बढाउन जरुरी छ । यस विषयमा जिम्मेवार र पारदर्शी हुन जरुरी रहेको छ ।”
बढ्दै सवारी दुर्घटना
आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मको तीन वर्षको सवारी दुर्घटनाको तथ्यांक अध्ययन गर्दा प्रत्येक वर्ष सवारी दुर्घटना बढ्दै गएको देखिन्छ । ०७५/७६ मा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका छन् । त्यसमा दुई हजार ७८९ जनाको मृत्यु भएको थियो भने चार हजार ३७६ जना घाइते भएका थिए ।
०७६/०७७ मा १५ हजार ५५४ सवारी दुर्घटनामा परेका थिए । जसमा दुई हजार २५५ जनाको मृत्यु भएको थियो । चार हजार ६७७ जना घाइते भएका थिए । २५ हजार सवारी–साधनमा क्षति पुगेको थियो ।
चालु आर्थिक वर्षमा चार हजार ९६० सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा ८९ जनाको मृत्यु भएको छ । तीन हजार ६६९ जना घाइते भएका थिए । ८१३ सवारी–साधनमा क्षति पुगेको थियो ।
हरेक वर्ष सवारी दुर्घटना बढ्दो गतिमा छ । यातायात व्यवस्था विभागले भने सडक विस्तार र सवारी चापका कारण दुर्घटना बढेको दाबी गर्दै आएको छ । विभागका प्रमुख गोगनबहादुर हमालले भने, ‘‘चालकलाई प्रशिक्षण पनि छैन । सडक र सवारीका विषयमा ऐन कानुन छन् । तर, प्रभावकारी भने हुन सकेको छैन ।’’