काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास गत वर्षकोभन्दा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले पुस मसान्तसम्ममा १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ७ करोड ९५ लाख ३ हजार रुपैयाँ अथात् ४.७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६८ करोड ७७ लाख १ हजार रुपैयाँ खुद मुनााफा आर्जन गरेको थियो ।
बैंकको पुस मसान्तसम्मको वितरणयोग्य मुनाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको छ । रेगुलेटरी रिजर्भमा ५० करोड ८८ लाख ६५ हजार र डिवेन्चर रिडेम्सन रिजर्भ (ऋणपत्र)मा २५ करोड ३५ लाख ७१ हजार रुपैयाँ प्रोभिजन गर्दा बैंकको वितरणयोग्य मुनाफा कम देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीमा पनि घट्दा सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि घटेको छ । पुस मसान्तसम्ममा बैंकले २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड ३३ लाख ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले पुस मसान्तसम्ममा ३ अर्ब ९८ करोड ७५ लाख ८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब २३ करोड ३८ लाख ९८ हजार रहेको थियो । कुल सञ्चालन आम्दानीमध्ये बैंकले ३६ करोड ७६ लाख ९१ हजार रुपैयाँ सम्भावित कर्जा नोक्सानबापतको लागि प्रोभिजन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ५५ करोड ९० लाख ९५ हजार प्रोभिजन गरेकोमा बैंकको प्रोभिजन घटेको देखिन्छ ।
बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३३ करोड १३ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्दा ६७ करोड ९९ लाख ७७ हजार कर तिरेको छ । यस अवधिमा बैंकले ६ करोड ४७ लाख २६ हजार गैरसञ्चालन आम्दानी गरेको छ ।
पुस मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा बैंकले १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार निक्षेप संकलन गरेर १ खर्ब ३८ अर्ब ८ करोड २० लाख ९९ हजार कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेर पारित गर्न बाँकी रहेको बैंकको पुस मसान्तको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ । बैंकले उक्त चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै आजै वार्षिक साधारणसभा बोलाएको हो ।
यस्तै, बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख र सेयरधनी सञ्चित कोष (रिटेन अर्निङ) मा ३ अर्ब ११ करोड ६२ लाख २४ हजार रुपैयाँ रहेको छ । प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित हुँदा बैंकको रिटेर्न अर्निङ घट्नेछ भने चुक्ता पुँजी बढनेछ ।
बैंकको पुस मसान्तसम्मको वित्तीय विवरणको आधारमा प्रस्तावित बोनस सेयरलाई समायोजन गरेपछिको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात २४.६१ गुणा रहेको छ ।
यस्तै, पुस मसान्तमा बैंकको आधार ब्याजदर ६.५६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ८.५३ प्रतिशत रहेको थियो । यस्तै, कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ४.१४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ५.१६ प्रतिशत रहेको बैंकको स्प्रेड रेटमा राष्ट्र बैंकले कडाइ गर्दा बैंकको व्यवसाय वृद्धि हुँदासमेत ब्याज खुद ब्याज आम्दानीमा संकुचन आएको छ ।
कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) ७४.०७ प्रतिशत, कोषको लागत ४.६९ प्रतिशत रहेको छ । कोभिड प्रभावमा पनि बैंकले निष्कृय कर्जा भने घटाएको छ । गत वर्ष २.९० प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आर्थिक वर्षको पुस मसान्तमा घटेर २.७५ प्रतिशत कायम भएको छ । बैंकको पुँजीकोष अनुपात १३.९८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्रोतको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेकोमा सीसीडी ७४ प्रतिशत मात्रै रहेकोले आगामी दिनमा बैंकले व्यवसाय विस्तार गर्न पर्याप्त स्रोत रहेको देखिन्छ ।