काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै साविकको विजेता अष्ट्रेलियाले इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको शिर्ष स्थानमा पुगेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानलाई १५९ रनले पराजित गर्दै अष्ट्रेलिया लगातार चौथो जितसहित शिर्ष स्थानमा पुगेको हो ।
पाकिस्तानमाथिको जितसँगै अष्ट्रेलियाले ४ खेलबाट ८ अंक जोडेको छ । र, समान अंक भएको भारतलाई रन रेटमा पछि पर्दै अष्ट्रेलिया शिर्ष स्थानमा पुगेको हो । यो जितपछि अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । यता, अंक बिहिन पाकिस्तानको यो लगातार चौथो हार हो ।
लेष्टरको ग्रेस रोड ओभलमा अष्ट्रेलियाले दिएको २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५० ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान साना मिरले ४५ तथा इराम जाभेदले २१ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाकी क्रिस्टिन बेअम्स र एशले गर्डनरले समान तीन तीन विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो । अष्ट्रेलियाको लागि एलास पेरीले ६६, एलिसा हेलीले अविजित ६३ तथा एलेस विलानीले ५९ को अर्धशतकीय पारी खेलिन् । पाकिस्तानकी कप्तान साना मिरले ३ विकेट लिइन् ।