काठमाडौं । इंग्ल्यान्डले घरेलु मैदानमा जारी आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ६८ रनले पराजित गर्दै इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको हो ।
ब्रिस्टोलमा इंग्ल्यान्डले दिएको ३७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३०५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाको लागि लिजेल लीले अविजित ७२ , लौरा वोल्भार्टले ६८ तथा च्लोने ट्रयोनले ५४ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । इंग्ल्यान्डकी ड्यानिले हजेलले ३ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ५ विकेटको क्षतिमा ३७३ रनको योगफल तयार गरेको थियो । इंग्ल्यान्डको जितमा टैमी बेअमोन्ट र सराह टेलरले शतकीय पारी खेलिन् । टैमीले १४८ तथा टेलरले १४७ रनको योगदान गरेकी थिइन् । दक्षिण अफ्रिकाकी मेरिजना कप्पले ३ विकेट लिइन् ।
यो जितसँगै चार खेलबाट इंग्ल्यान्डले ६ अंक जोडेको छ । र, तेस्रो स्थानमा रहेको इंग्ल्यान्डको सेमिफाइनलमा पुग्ने सम्भवाना बलियो बनेको छ । पराजित दक्षिण अफ्रीका ५ अंक जोडेर चौथो स्थानमा छ ।