site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनका जानकारहरु भन्छन्- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छैन

काठमाडौं । संविधान र कानुनका जानकारहरुले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको दाबी गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम विषयक अन्तर्क्रियामा सहभागी सर्वोच्च अदालतका पूर्वन्यायाधीश, संविधानविद्, संविधान निर्माण गर्दाका संविधानसभाका सदस्यहरुले प्रतिनिधिसभा विघटन गर्ने ठाउँ संविधानमा नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको भन्दै उनीहरुले त्यस्तो सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस नै गर्न नसक्ने जिकिर गरे ।

संविधानसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान बनाउने बेलामा संसद्‌को स्थायित्वको व्यवस्थामा सबैको सहमति जुटेको चर्चा गरे । उनले संविधानसभा अध्यक्ष रहेका सुवास नेम्वाङ, अहिले महान्यायाधिवक्ता रहेका अग्‍नि खरेल र स्वयं प्रधानमन्त्री केपी ओलीले नै प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भनेर बोलेको भिडियो त्यसको प्रमाण रहेको बताए ।

“दिउँसै रात पार्ने हो भने अर्कै कुरा हो । संविधानको अक्षरले, भावनाले, संविधान बनाउँदा भएको छलफलले अहिलेको सरकारलाई कतै पनि प्रतिनिधिसभा विघटन गर्न दिँदैन,” देवकोटाले भने । संसारभर संसदीय अभ्यास भइरहेका देशहरुमा संसद् विघटनलाई राजनीतिक अपराधका रुपमा लिन थालिएको भन्दै उनले प्रधानमन्त्री ओलीले लिखित जवाफमा भनेजस्तो प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकारको अभ्यास नभएको पनि बताए । ०४७ को संविधानले बलियो प्रधानमन्त्रीलाई संसद् विघटनको सिफारिस गर्ने अधिकार दिए पनि अहिलेको संविधानले सबैभन्दा कमजोर प्रधानमन्त्रीलाई मात्र विघटनको सिफारिस गर्नसक्ने अधिकार दिएको पनि उनको भनाइ थियो ।

त्यस्तै, वरिष्ठ अधिवक्ता एवं संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा अहिले पनि जीवितै रहेको बताए । कार्यक्रममा उनले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको बताए । “अहिले पनि संसद् जीवित छ । केही ग्रहण लागेको मात्र हो,” उनले भने । प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गर्दा मौन बसेकैले प्रतिनिधिसभा विघटन गर्ने हिम्मत आएको उनको भनाइ थियो ।

त्यस्तै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल दासले पनि संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारलाई संसद् विघटनको अधिकार संविधानमा नभएको बताए । उनले आफूले प्रतिनिधिसभा विघटन भएको नमान्ने भन्दै अहिले प्रतिनिधिसभा बेहोस मात्र भएको बताए । पूर्वन्यायाधीश दासले भने, “त्यसैले म पूर्वन्यायाधीश भए पनि उहाँहरु (प्रतिनिधिसभाका सांसद) लाई पूर्वमाननीय भन्ने पक्षमा छैन । उहाँहरु माननीय नै हुनुहुन्छ ।” त्यस्तै उनले प्रतिनिधिसभा विघटन राजनीतिक कुरा मात्र नभई संवैधानिक विषय पनि भएको बताए ।

संविधानमा लेखिएको शब्द, त्यसको भावना, संविधान बनाउँदाको प्रयोजन सबै हेर्दा प्रतिनिधिसभा विघटन संवैधानिक नभएको प्रस्ट देखिएको उनको भनाइ थियो । 

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यसको पक्ष र विपक्षमा बहस जारी छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्ध परेका १३ वटा रिट विचाराधीन छन् । भोलि (शुक्रबार) सो मुद्दामा सुनुवाइ हुँदै छ । अदालतमा सो मुद्दाको क्षेत्राकिारको बहस जारी रहँदा बाहिर पनि प्रतिनिधिसभा विघटनकै बहस जारी छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro