site stats
बाह्रखरी :: Baahrakhari
देश
हत्या गर्ने उद्देश्यले नै ससुराली पुगेका थिए राजेन्द्र !

काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीका गिरी परिवारका चार जनाको गए राति सामूहिक हत्या भयो । भोजपुर नगरपालिका–२, हैलौछाका ३० वर्षीय ज्वाइँ राजेन्द्र राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनीषा गिरी र आठ वर्षीय सालो सपन गिरी गरेर चार जनाको सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ ।

गिरी परिवारका अन्य दुई छोरी र एक छोरा घर बाहिर रहेको खुलेको छ ।

भोजपुर प्रहरीले राजेन्द्रलाई पक्राउ गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राजेन्द्रले हत्या स्वीकार गरिसकेका छन् । तर, प्रहरीसितको बयानमा उनले आफूमाथि राति सुतेका बेला आक्रमण भएपछि प्रतिकारमा सासु ससुरासहितको हत्या गरेको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘चार जनाको हत्या मैले नै गरेको हो । तर, राति म सुतेको बेला सासु आएर मेरो पेटमा चक्कु हान्न थालेपछि प्रतिकार गरेर पछि त्यही चक्कुले सबैको हत्या गरेको हुँ,’’ राजेन्द्रको भनाइ उद्धृत गर्दै भोजपुर प्रहरीले स्रोतले भन्यो ।

भोजपुर प्रहरीका प्रमुख डीएसपी युवराज तिमल्सिनाले उनीमाथि थप अनुसन्धान जारी रहेको बताए । ‘‘प्रारम्भिक बयानमा राईले आफूमाथि आक्रमणको प्रयास भएपछि सामूहिक हत्या गरेको भनेका छन् । तर, थप बुझ्दै छौँ,’’ उनले भने ।

प्रहरीका अनुसार, राईको पेटमा चक्कुले प्रहार गरिएका तीनवटा घाउ देखिएको छ । उनलाई उपचारका लागि धरान पठाउने तयारी गरिएको छ ।

चार जनाको हत्यापछि राजेन्द्र आफैँले प्रहरीलाई खबर गरेर आफूलाई पक्राउ गर्न बोलाएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रले मनीषासँग उमेर नपुग्दै प्रेमविवाह गरेका थिए । पछिल्लो एक महिनादेखि मनिषा माइतीघरमा थिइन् । राजेन्द्र पछिल्लो एक हप्तादेखि नै ससुरालीमा थिए ।

श्रीमतीलाई माइतबाट घर फर्काउने विषयमा उनीहरूबीच विवाद भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गाउँपालिका–२ कै वडा सदस्य प्रभा राईका अनुसार, राजेश र मनीषाबीच करिब एक वर्षअघि प्रेम विवाह भएको हो । पछिल्लो समय राजेन्द्रकी श्रीमती माइतमै बस्न थालेपछि उनीहरूको कलह सुरु भएको हो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारी, राजेश श्रीमती आफूसित नफर्किए सासुससुराको हत्या गर्ने उद्देश्यले नै ससुराली पुगेको देखिएको बताउँछन् । प्रहरीका अनुसार, हत्या गर्न प्रयोग भएको चक्कु राजेन्द्र आफैँले घरबाट लगेका थिए ।

छिमेकीहरूले पनि राजेन्द्रले केही दिनदेखिनै सासु ससुरालाई धम्की दिँदै आएको बताएको प्रहरीले बताएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘‘राजेन्द्रले अहिले जे बोले पनि उनी श्रीमती आफूसित नफर्किए सबैको हत्या गर्ने उद्देश्यले ससुराली पुगेको देखिन्छ । त्यो कुरा सबै छिमेकीहरूलाई जानकारीसमेत रहेछ । केहीले प्रहरी र प्रशासनलाई जानकारी गराउनसमेत भनेको देखियो । तर, उनीहरूले धम्क्याउनमात्रै खोजेको होलान् भनेर जानकारी नगराएको देखियो ।’’

प्रहरीको अनुसन्धानका क्रममा राजेन्द्रको यसअघि पनि विवाह भएर छुटेको खुलेको छ । मनीषा र राजेन्द्रबीच सामाजिक सञ्जालमार्फत चिनजान भएर विवाहमा परिणत भएको खुलेको छ ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्