काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको हो ।
देशभरका सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी बैंक स्थापनाको तयारी भइरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।
प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रक्रिया सुरु गर्ने र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने प्रक्रिया अघि बढाइने भएको छ ।
नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार मुलुकको सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुनेछ ।
संस्था दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक पर्छ । हालसम्म करिब एक हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ । बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्छ । बैंक स्थापना हुन आवश्यकभन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए ।
“अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघ–संस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन,” उनले भने, “त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौँ ।”
प्रारम्भिक चरणमा बैंकको सेयर पुँजी ३ अर्ब रुपैयाँ हुनेछ । हाल सहकारी ऐन–२०४८ मा भएको व्यवस्थाअनुरुप स्थापना भएको एउटा बैंक सञ्चालनमा छ । तथ्यांकानुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् ।
बैंकले सहकारी संघ–संस्थासँग मात्र कारोबार गर्न पाउँछ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैंकले नेपाल राष्ट बैंकबाट बैकिङ अनुमति पाएको छैन ।
राजधानीको कार्की बैंक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् । सहकारी ऐन, २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैंकको विषयमा व्याख्या गरिएको छ ।
त्यसैगरी, सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तीमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघको संयुक्त सेयर पुँजी कम्तिमा ३ अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तीमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक हुन्छ ।
फाइल तस्बिर ।