काठमाडौं । काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ ।
“वागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंका केही स्थानमा छिटपुट वर्षा हुनसक्छ । तर, ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् मानन्धर भन्छिन्, “वर्षा भएका खण्डमा चिसो बढ्छ । मौसममा बदली रहेकाले पनि सोमबारको जस्तो घाम लागेर न्यानो अनुभव हुने छैन ।”
उनका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र गागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईका भू–भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ । देशका अन्य भू–भागहरुमा मौसम सफा रहनेछ ।
देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउने भएकाले यसबाट बच्न आग्रह गर्दै मानन्धरले भनिन्, “तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।”