site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
नबुझेको शीतयुद्धकालीन राजनीति

सत्य थाहा पाउन समय लाग्दो रहेछ । देखेकै घटनाको यथार्थसमेत उति बेलै थाहा नहुँदो रहेछ । बुझ्ने त झन् टाढाको कुरा । राष्ट्रिय मेलमिलाप दिवसको चर्चा यो वर्ष अलि राम्रैसँग भयो । बीपीका राजनीतिक समर्थकहरूले मात्र सम्झने गरेको पुस १६ को अध्येताहरूले विभिन्न कोणबाट सत्यान्वेषण र विश्लेषण गरे । घटनाका पात्रहरूमध्ये धेरैको निधन भइसके पनि साक्षीहरू जीवितै भएकाले नयाँ केही लेखिए पुष्टि वा खण्डन हुने मौका अझै छ ।

म यहाँ यसपटक पनि चर्चा नगरिएको तर राष्ट्रिय मेलमिलापकाे नीति लिएर बीपी कोइराला र उनका निकट सहकर्मी नेपाल फर्केलगत्तै नेपालमा भएका दुईवटा घटनाको सम्झना गराउने जमर्को गर्दैछु । यी घटनाले बीपी कोइराला नेपाल फर्कँदा उत्पन्न तरङ्गको विश्लेषण गर्न थप सहयोग पुग्ला कि ?

बीपी कोइराला फर्केपछि नेपालको राजनीतिमा ठूलै हलचल मच्चिएको थियो । पञ्चहरू एकातिर बीपी केही हैनन् भन्ने देखाउन खोज्थे भने अर्कातिर उनको उपस्थितिबाट निकै झस्केका देखिन्थे । कम्युनिस्टहरू त सधैँ नै बीपीको विरोधै गर्थे । बीपी नेपालै फर्केपछि उनीहरू झस्केका थिए । बीपीले धेरै भन्ने गरेका ‘आइडिट फर्मुला’ले पञ्चायतमा पसेका कम्युनिस्टहरू झन् बढी झस्के झैँ लाग्थ्यो । यद्यपि, शीतयुद्ध नसकिएकाले कम्युनिस्टहरू पनि विभाजित नै थिए । तर, बीपीलाई हेर्ने उनीहरूको दृष्टिकोणमा भने धेरै अन्तर देखिँदैन थियो । 

राष्ट्रिय मेलमिलापको नीति र आफ्नो स्वदेश  फिर्तीको औचित्य साबित गर्न बीपीले नेपालको राष्ट्रियता खतरामा छ भन्दा राजा एवं उनका समर्थकलाई बढी बिझाएको देखिन्थ्यो । तर, बीपीको स्वदेश फिर्ती र राष्ट्रिय मेलमिलापको नीतिको विरोध भने पञ्चायतमा प्रवेश नगरेका तथा प्रजातन्त्रवादीकै रूपमा चिनिएका राजनीतिज्ञहरूले पनि गरेका थिए । अचम्म, उनीहरूको विरोधको चर्चा भने राष्ट्रिय मेलमिलापको गहन अध्ययन गरेर लेखिएका लेखहरूमा पनि भेटिएन । 

बीपी कोइरालाको स्वदेश आगमनको विरोधमा टंकप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय र डा. केशरजङ्ग रायमाझीले वक्तव्य दिएका थिए । यीमध्ये आचार्य चीन निकट, उपाध्याय भारत निकट तथा रायमाझी रुस निकट मानिन्थे । डा. रेग्मी पनि भारत-रुस खेमाकै नजिक मानिन्थे । यिनको वक्तव्यलाई ‘चार वरिष्ठको' वक्तव्य भनिएको थियो । वक्तव्यमा पञ्चहरूको भन्दा नरम भए पनि बीपीको विरोध गरिएको थियो । त्यति बेला राजा चीन-अमेरिकी खेमा निकट मानिन्थे । बीपी पनि पश्चिम समर्थक ठानिन्थे । तर, शीतयुद्धका दुवै पक्षले न बीपीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पञ्चहरूसँग स्वर मिलाए न त बीपीको मेलमिलाप नीति नै स्वीकार गरेका थिए । शीतयुद्ध चर्केका बेलामा पनि किन दुवै खेमा बीपीको विरोध गर्न प्रवृत्त भए ? अध्येताहरूले खोजे हुने ।

अर्को कम चर्चा भएको घटना नेपाली कांग्रेसको विभाजन हो । बीपी स्वदेश फर्केर आएपछि नेपाली कांग्रेसका ३८ जना वरिष्ठ नेताहरूले बखानसिंह गुरुङको नेतृत्वमा पञ्चायतको समर्थनमा वक्तव्य दिए । सरकारी सञ्चार माध्यममा प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरू भनेर प्रसार प्रचार गरियो । राष्ट्रिय पञ्चायतमा कांग्रेसको अस्तित्व स्वीकार गरेको भनेर मण्डले र कम्युनिस्ट पृष्ठभूमिका पञ्चहरूले चर्कै आलोचना गरे । प्रधानमन्त्री कीर्तिनिधि विष्टले पार्टीहरू प्रतिबन्धित भएका तर भंग नभएका भनेर स्पष्टीकरण दिएका थिए । काशीनाथ गौतम, अच्युतराज रेग्मीलगायतका वरिष्ठ नेताहरुले किन बीपीलाई कमजोर देखाउन त्यसरी वक्तव्य दिए ? उनीहरूले पञ्चायतलाई समर्थन गरेकै केही समयमा राजाले जनमत संग्रहको घोषणा गरे । जनमत संग्रहमा चार वरिष्ठहरूमा साथै ३८ से समूहका नामले चिनिने बखानसिंह समूह पनि बहुदलकै पक्षमा लागेका थिए । त्यतिबेला सामान्य जनले पञ्चायत राजाको र बहुदल बीपीको ठान्थे । मेलमिलापको विरोध गर्नेहरू बीपीका दृष्टिमा ‘विदेशी एजेन्ट’ थिए ।  

पञ्चायतलाई समर्थन गर्नु नै थिएन भने यिनले बीपीको विरोध किन गरे त ?

यस्ता प्रश्नहरूको उत्तर अहिलेका अध्येताले खोज्नुपर्छ । हाम्रो पुस्ता बीपीसँग निस्पृह रहन सकेन । कि त उनका समर्थक भए कि त विरोधी । कम्युनिस्ट नेताहरू त बीपीका साहित्य पनि पढ्रन हुन्न भन्थे रे ! यस्तै राजाप्रति पनि हाम्रो पुस्ता निस्पृह थिएन । पञ्चहरू त हुने नै भए धेरै कम्युनिस्टहरू पनि राजा कि बीपी भन्ने प्रश्नमा राजाकै पक्षमा हुन्थे । बीपी पनि नेपालका कम्युनिस्टहरूको भर पर्न हुँदैन नै भन्थे । यसैले बीपीप्रति आग्रह नराखी खोज्न र विश्लेषण गर्न यी सबै नभोगेको पुस्ताका अध्येता हुनुपर्छ । नयाँ पुस्तामा पनि राणाका चाकरका सन्तानमा बीपी र कांग्रेसप्रति अचम्मको द्वेष छ । राणा चाकरहरूको नाति पुस्तासम्म पनि सायद घरमा पुराना अन्नदाताहरूको प्रशस्ति सुनेर हुर्क्यो । यसैले उनीहरूमा आफ्ना मालिकको सत्ता खोस्ने कांग्रेस र बीपीप्रति गहिरो द्वेष छ । यिनले गर्ने विश्लेषण त के घटनाको विवरण पनि सत्यको नजिकसमेत हुँदैन । दसैँ मान्न पनि राजासँग हात नथापी नहुनेहरूले गुन र नुन सम्झने नै भए ।

यस्तै, गर्भे कांग्रेसहरू सधैँ बीपीकै अलाैकिक व्यक्तित्वका बारेमा सुनेर हुर्के । तिनमा पनि अचम्मको बीपी मोह छ ।  तीन पुस्ते कांग्रेसहरू बीपीको आलोचना सहन सक्तैनन् । अरू नेताको आफूले जति बदख्वाइँ गरे पनि अर्को कसैले आलोचना गरेको सहन सक्तैनन् । गजबकै छ कांग्रेस मनोवृत्ति ! त्यसो त कांग्रेसहरू कम्युनिस्टका स्तरमा झरेर कसैको पनि बदख्वाइँ गर्न सक्तारहेनछन् । हुन पनि नेपाली कांग्रेस फुट्दासमेत नेताहरूबीच अहिलेजस्तो व्यक्तिगत आक्षेप  कटाक्ष सुनिएको थिएन । यो सायद राजनीतिक संस्कारको विषय हो । (अमेरिकी राष्ट्रपतिको चुनाव लिन्डन बी जोन्सनका पालादेखि रेडियो सुनेर र पछि पढेर थाहा पाउँदै आएको हो । तर, डोनाल्ड ट्रम्प जति तल्लोस्तरमा त सन् २००८ की रिपब्लिकन उमेदवार सारा पालिन पनि ओर्लिनन् । उनले बाराक ओबामालाइ गरेको सबैभन्दा चर्को गाली ‘कम्युनिस्ट’ हो ।)

‘ चार वरिष्ठ’ र ‘३८ समूह’ राजदरबारको उपज हो ? (पछिल्ला दिनमा यीमध्ये केहीले राजाको कृपा पनि पाएका थिए ।) या इन्डोरसियन खेमाले यिनलाई बीपीको विरोध गर्न निर्देशित गरेको थियो ?

युवा अध्येताहरूले अलिकति ध्यान यता पनि देलान् ? 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro