काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो ।
तारकेश्वर र म्हैपीबाट चारजना गरी मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । धर्मस्थलीबाट नुवाकोट काउले गाउँपालिका ५ घर भई अहिले काभ्रेस्थली बस्ने २२ वर्षीय रमेश तामाङलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्बरको रातो रङको मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाडौं म्हैपीबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका ५ घर भई अहिले काठमाडौं झोर बस्ने २२ वर्षीय किरण लामा, नुवाकोट दुप्चेश्वर ५ घर भई हाल काठमाडौं गणेशस्थान बस्ने २१ वर्षीय क्षितिज तामाङ, नुवाकोट सूर्यगडी गाउँपालिका १ घर भई अहिले मनमैंजु बस्ने २३ वर्षीय दीपक तामाङ र बाराको करैया गाउँपालिका ४ घर अहिले तारकेश्वर नगरपालिका १० बस्ने २३ वर्षीय गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।