विराटनगर । आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त्यसलाई सुविधाजनक बहुमतका साथ सामना गर्ने प्रतिक्रिया दिएका छन् ।
आफू सहज अवस्थामै त्यो प्रस्तावलाई सदनमा ‘फेस’ गर्न तयार रहेको बताएका छन् । निजी सचिवालयमार्फत आइतबारै भिडियो सन्देश जारी गर्दै राईले “सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट निर्देशित भएरै प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता ल्याउने, कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको” बताएका छन् । तर, यसबाट आफू रत्तिभर पनि विचलित नभएको राईले बताएका छन् ।
उनले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने जिकिर गरेका हुन् । उनले भने, “यसको सामना म आरामले गर्छु, किन आरामले गर्छुभन्दा विवेक भएका माननीय सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ ।” राईले आफूविरुद्ध आएको प्रस्ताव बनिबनाऊ, निर्देशित, सुनियोजित, चालबाजी र गोटी हो भनेर प्रदेशसभाका सदस्यले बुझेको दाबी गरे । संविधानलाई कार्यन्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला जनतालाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको राईको भनाइ छ ।
प्रदेश सरकारले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।