अक्षर काका
काठमाडौं । सेतै फुलेको कपाल । सेतै दाह्री । आँखीभौं पनि उसैगरी राँटा नराखी फुलेका छन् । दुई पाइला हिँड्न हुँदैन, दम बढ्न थाल्छ । छाती घ्यार् घ्यार् बज्छ । दृष्टि पनि धमिलिँदै गएका छन् । नजिक आएमात्रै मानिस, आकृति ठम्याउन सक्छन् । नत्र भेउ पाउन हम्मेहम्मे पर्छ ।
७० थान हिउँद खाइसकेका, सर्लाही साविक हथिऔल–७, बलरा नगरपालिका– २ का धनराज सहनीलाई जीवनको उत्तराद्र्धमा आन्दोलित हुने कुनै रहर छैन । न माइतीघर मण्डलामा भेला भएर समवेत स्वरमा जिन्दावाद र मुर्दावादको नारामा एकाकार हुन नै रहर छ । हिमतुल्य सडकमा पलेँटी कस्दै धर्ना बस्न पनि त रहर नहुँदो हो । तर, १५ दिनदेखि सडक–सङ्घर्ष उनको निर्मम बाध्यता बनेको छ ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिजले सात वर्षदेखि उखुको बक्यौता नदिएपछि मालिकहरूको बुहार्तन खप्न नसकेर उनी सरकार खोज्दै माइतीघर आइपुगेका छन् । र, दिनहुँ आन्दोलन गर्न अभिशप्त छन् ।
“गाउँका दाजुभाइले काठमाडौं जाउँ, आन्दोलन नगरी पैसा उठ्ने भयो भने,” धनराज आफ्नै लवजमा बोल्छन्, “यहाँ आएको पनि आज १५ दिन भइसक्यो । पैसा पाइन्छ जस्तो लाग्दैन । हाम्रो कुरा सुन्ने सरकार छ जस्तो पनि लागेन !”
देहातमा सीमान्त जीवन व्यथित गरिरहेका धनराजसँग जीवन निर्वाहको अर्को माध्यम छैन । मेलापात (बोनी) गरेर मात्रै १५ जनाको, सगोलको परिवार पाल्न नसकेपछि उनले डेढ दशकअघिदेखि हथिऔलमा उखुखेतीको थालनी गरेका थिए । अरू सधिँयारजस्तै ।
नगदेबाली, बजार खोज्न दस कोस हिँड्न नपर्ने, तत्कालै बिक्री हुने र हातहातै पैसा पाइने प्रलोभमा उनले खेती त सुरु गरे । तर, आफूसँग पैसा थिएन । उनले साहू गुहारे । महाजनलाई बिन्ती भाउ टक्र्याए । अँधियामासमेत जग्गा लिएर उखुखेतीको आयातन बढाए ।
साहू–महाजनसँग ऋण काढेर दुई बिघाजति जग्गामा उखु लगाए । सुरुसुरुमा आयस्ता राम्रै भयो । जहानपरिवारको लालनपालनदेखि औषधिउपचारसम्मका लागि दुःख भएन । सास्ती बेहोर्नुपरेन । जीवन झलमल्ल नै बन्यो भनौँ ।
“लगाउन दुःख भए पनि, स्याहार्न गाह्रो भए पनि उखुले राम्रै गरेको थियो,” धनराज ती दिन सम्झँदै भन्छन्, “मिल मालिकले पनि बेच्नेबित्तिकै पैसा दिन्थे । त्यसले घर मज्जाले चल्थ्यो ।”
तिनताक उनीहरूले रौतहट, गरुढामा रहेको श्रीराम सुगर मिलमा पुर्याएर उखु बेच्थे । सिजनको बेला ट्रक–लरीमा राखेर किसानहरूले उखु मिलसम्म पुर्याउँथेँ । मिलमालिकहरूले पनि किसानहरूको बक्यौता राख्दैनथे । उखुको मूल्य, भुक्तानीमा कुनै समस्या थिएन ।
तर, धनकौल–३ मा राकेश अग्रवालले अन्नपूर्ण सुगर मिल स्थापना गरेपछि किसानहरूको दुर्दिन सुरु भएको धनराज बताउँछन् । “स्थानीय प्रशासन सबै प्रयोग गरेर उसैकोमा उखु बेच्नुपर्ने अवस्था बनायो । हामीले अन्त लैजान पनि नपाउने, उसले भनेको बेलामा पैसा पनि नदिने,” उनी आहत हुँदै सुनाउँछन्, “नगदेबाली उधारोमा बेच्नुपर्ने अवस्था पो बन्यो ।”
ऋणधन गरेर उखु किसानले लगाउँछन् । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म खेतमा खटिएर, रगतपसिना बगाएर, दस नङ्ग्रा खियाएर हुर्काउँछन् ।
तर, मूल्यचाहिँ मिलमालिकहरूको अधीनमा हुन्छ । उनीहरूलाई जति मन लाग्छ, त्यति नै निर्धारण गर्छन् । जतिबेला मन लाग्छ, त्यतिबेला भुक्तानी दिन्छन् । किसानले ताकेता गरे, अलिअलि मुख बुझो लगाउँछन्, त्यो पनि बोल्न सक्नेको ! राजनीतिक पहुँच भएकाहरूको !
“उखु काट्ने सिजनमा केही टाठाबाठा, बीचमा बसेर ठेक्कापट्टा गर्ने (बिचौलिया) हरूलाई हातमा लिएर मूल्य तोक्छन्,” मिल सञ्चालकहरूको हैकम सुनाउँदै धनराज पीडा पोख्छन्, “जुना (उखुँ काँटछाँट) मनलाग्दी काट्छन् । जम्माजम्मी एक प्रतिशत कटौती गर्नुपर्ने हो । अन्नपूर्णले त २० प्रतिशतसम्म कटाएको छ । किसानहरू ठाडै मर्काका छन् । हामी ठगिएको कुरा कसले सुनिदिने ?”
धनराज मिलमालिकले थमाएको चिर्कटा बोकेर माइतीघर आइपुगेका छन् । बक्यौता उठाउन बाँकी रहेको प्रमाण भन्नु पनि त्यही हो । अन्नपूर्णले आर्थिक वर्ष २०७४–७५ मा धनराजलाई ५३ हजार ३ सय ५३ रुपैयाँ बुझबुझारथ गर्न बाँकी छ । २०७५–७६ को ६२ हजार ४ सय ७९ रुपैयाँ बक्यौता पनि उनले अहिलेसम्म पाएका छैनन् । आर्थिक वर्ष २०७०–७१ यतागरी अन्नपूर्णले मिलले धनराजको झण्डै पाँच लाख रुपैयाँ बक्यौता अड्काइदिएको छ । जीवनलाई गरिबीको दुस्चक्रमा धकेलिदिएको छ । ऋणग्रस्त तुल्याइदिएको छ ।
समयमै उखुको भुक्तानी नपाउँदा धनराजको अवस्था दिनप्रतिदिन दयनीय बन्दैछ । जहान थला परेको वर्षदिन बढी भइसक्यो । उपचार गराउन सकेका छैनन् । बालबच्चालाई विद्यालयको बाटो देखाउन सकेका छैनन् । पढाइलेखाइ नहुँदा बालबच्चाको भविष्य पनि आफ्नोजस्तै आँसुमिश्रित हुने हो कि भन्ने भयले पनि गाँजेकै छ ।
देहातको ठाउँ, शीतलहरको प्रताडना सुरु भइसकेको छ । बक्यौता उठ्ने आशामा सहर हिँड्दा छोराछोरीले न्यानो लुगाको आश गरेका थिए । मुख खोलेरै ल्याइदिनुस् है पनि भनेका थिए ।
अहिले आफैं बेखर्ची हुँदा उनी मरेतुल्य भएका छन् । ओठमुख खडेरीग्रस्त देखिन्छ । आन्दोलनमा जाँदा र मुकाम फर्कंदाको धपेडीले हातगोडा ओइलाइका छन् । काठमाडौंको ठिहीले कतिबेला थला बसाल्ने हो, उनी यसै भन्न सक्दैनन् ।
“यो देशमा किसानलाई जति दुःख कसैलाई छैन । भनेको बेला मल पाइँदैन । रोग–व्याधी लागिहाले हाल्ने औषधि छैन । बल्लतल्ल बाली, हुर्कायो, फसल तयार गर्यो, मालिकहरूलाई उधारोमै थमाउनुपर्छ” उनी निरूपाय हुँदै देहाती लवजमा पीडा सुनाउँछन्, “उधारो उठाउन यस्तो दुःख, सास्ती छ । साहू खोज्दाखोज्दै मर्छु कि जस्तो लाग्छ ।”
सर्लाही, साविक सिसौटियाका रउदी महतो पनि मिल सञ्चालकहरूको व्यवहारबाट आजित छन् । तीन सालदेखि बक्यौता उठाउन नसकेपछि गत साल हिउँदमा पनि उनी माइतीघर मण्डलामा धर्ना कस्न आइपुगेका थिए । झण्डै २० दिन चिसोमा कठ्याङ्ग्रिएपछि सरकारले उखु किसानको माग–मुद्दा सुनेजस्तो गरेको थियो । माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाइदिने सहमति गरेको थियो ।
“नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानहरूको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने,”सहमतिको पहिलो बुँदोमै उल्लेख थियो ।
महतो पनि यही विश्वामा परे । मिलमा ताल्चा लगाउने, जिल्ला प्रशासन कार्यालय घेराउलगायत कार्यक्रम गर्दागर्दा पनि उठ्ती उठाउन नसकेपछि निरूपाय हुँदै उनीहरू काठमाडौँ आएका थिए । सरकारले बक्यौता उठाइदिन वचनबद्धता गरेपछि उनीहरू जिल्ला फर्किन राजी भए । बल्लतल्ल सिंहदरबारको मुख देख्न पाएका उनीहरूले सरकारप्रति अविश्वास कसरी गरून् ?
तर, किसानहरूको श्रम–पसिनामा रजाइँ गर्दै आएका उद्योग मालिकहरूले फेरि छक्याए । अहिले किसानहरू मिल–सञ्चालकहरूले मात्र होइन, सरकार बीचमा बसेर तिनै उद्योगी–व्यवसायीहरूलाई फाइदा पुग्ने काम गरेको सरकार बिचौलियाको भूमिकामा दुखेसो पोख्न थालेका छन् । र त, सरकारप्रति उनीहरूको आक्रोश झाँगिदो छ ।
“सरकारले उधारो उठाइदिन्छौँ भनेपछि विश्वास नगर्ने, भर नपर्ने कुरा भएन,” महतो भन्छन्, “सहमतिपछि मिल मालिकहरूले टाठाबाठा किसानहरूको खातामा अलिअलि पैसा हालिदिए, बोल्न नसक्ने किसान फेरि हेरेको हेर्यै भए ।”
सहमतिअनुसार भुक्तानी नपाएपछि महतो पनि १५ दिनदेखि माइतीघरमै धर्नामा छन् । बिहान ९ नबज्दै हाजिरी जनाउन आइपुग्छन् । दिउँसो तीन बजेपछि गौशालास्थित धर्मशालामा आश्रय लिन पुग्छन् । रातिको बास त्यहीँको चिसो छिँडीमा हुन्छ । मिहिनेतको कमाइको मूल्य उठाउन धामा गर्नुपरेको देखेर उनलाई छाती पिटीपिटी रुन मन लाग्छ ।
अन्नपूर्णले महतोलाई झण्डै दुई लाख बक्यौता बुझाउन बाँकी छ । उधारोमै उखु बेच्न विवश बनेपछि उनीसँग काठमाडौँ आउने खर्च पनि थिएन । साहूसँग दुई–तीनहजार सापटी मागेर आन्दोलनमा होमिएका उनी अहिले पूरापूर बेखर्ची छन् ।
दुई छाक खाना त टिम नेपालले दिएको छ । दम बढेको उपचार गराउन सकेका छैनन् । उनीमात्रै होइन, सँगै आन्दोलनमा आएका सय जनाको अवस्था एकैनासे छ । सबैका अनुहार फुलेका छन् । ठिहिरोले हातगोडा डम्डम्ती सुन्निएका छन् । “उद्योगीहरूले त किसानको मर्का बुझेनन् बुझेनन्, सरकार पनि त्यस्तै रहेछ, हाम्रो कोही रहेनछन्,” उनीहरू समवेत स्वरमा पीडा पोख्छन् ।
माइतीघर आन्दोलनको अगुवाइ गरिरहेका मायाशङ्कर प्रसाद यादव मिलमालिकहरूले उधारो मात्र नभइ, मूल्यमा नै ठगेको बताउँछन् । आर्थिक वर्ष २०७४–७५ मा उद्योगले प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिनेगरी ५ सय ३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो ।
तर, मिल मालिकहरूले टाठाबाठा किसानहरूलाई हात लिएर ४३५ रुपैयाँ प्रतिक्विन्टल नै उखु उठाइरहेको छ । त्यतिमात्र नभई अघिल्लो सालको अलिअलि बक्यौता बुझाएर मिलमालिकहरूले बर्सेनि उधारोमै उखु उठाइरहेका छन् ।
सर्लाहीमा अहिले तीनवटा मिल सञ्चालनमा छन् । इन्दुशङ्कर मिलको गुनासो छैन । वीरेन्द्र कनोडिया सञ्चालक रहेको महालक्ष्मीले ४ करोड बक्यौता बुझाउन बाँकी रहेको यादव बताउँछन् ।
अन्नपूर्णले २५ करोडभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । किसानहरूले बारम्बार ताकेता गरेपछि जिल्ला प्रशासनले मिलसञ्चालक राकेश अग्रवालका नाममा पक्राउ पुर्जी पनि जारी गरेको बताएको छ ।
तर, अहिलेसम्म पक्राउ नपरेको भन्दै यादव आश्चर्य व्यक्त गर्छन् । “कसैले दुई रुपैयाँ पाकेटमारी ग¥यो भने प्रहरी प्रशासनले उसलाई तुरुन्तै पक्राउ गरेर ल्याउँछ । तर, २५–३० करोड तिर्न, बुझाउन बाँकी हुने, किसानलाई रुवाउने मालिक समात्न सक्दैन ? यो मिलीभगत हो !,” उनी आक्रोश पोख्छन् ।
यति मात्र होइन, उनीहरू माइतीघरमै आन्दोलनमा छँदा महालक्ष्मीले उद्योगको दस किलोमिटरभित्र रहेका किसानले उसैलाई उखु बेच्नुपर्ने निर्णय जिल्ला प्रशासनबाट गराइसकेको छ । फेरि पनि उधारोमै उखु बेच्नुपर्ने भयो भन्ने भय उनीहरूको अनुहारमा प्रस्टै देखिन्छ ।
धनराज सहनी सर्लाही, रौतहट, नवलपरासीलगायत विभिन्न जिल्लाका गरी ५० हजार बढी किसानको प्रतिनिधित्व गर्दै, चिसो, कोरोनाको पर्वाह नगरी काठमाडौँ आएको बताउँछन् । सबै उखु किसान कुनै न कुनै रूपले मिलमालिक, सञ्चालकहरूबाट प्रताडित छन् ।
अहिले पनि उखु पेल्ने समय सुरु भएको छ । दुर्योग नै भनौँ, उनीहरूले आन्दोलन सुरु गरेको दसदिनपछि मुलुकमा राजनीतिक अन्योलता, तरलता उत्पन्न भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिदिइन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छिन्नभिन्न भएर एउटा समूह सरकारको नेतृत्व गरिरहेको छ । अर्को समूह सडकमा पुगेको छ । सडकमा पुगेको समूहलाई साथ दिनेहरूको जमात बढ्दो छ ।
सडकमा संसद् पुनःस्थापनाको मुद्दा प्रखर बनिरहँदा उखु किसानको मुद्दा क्रमशः ओझेल पर्दै गएको छ । माइतीघरमा सबैको आँखा पर्ने ठाउँमा आन्दोलन गरिरहेका उनीहरू किनारामा धकेलिएका छन् । तथापि, उनीहरूले हरेस खाएका छैनन् । बरु सडकै हुरुक्क प्राण जाओस्, बक्यौता नउठाइ घर नफर्किने अठोटमा छन् ।
धनराज भावुक हुँदै सुनाउँछन्, “मिलमालिकले पैसा दिएन भने मसँग आत्महत्याबाहेक अर्को विकल्प छैन । ऋण काढेको साहूलाई त्यत्रो तिर्न, बुझाउन बाँकी छ, पैसा नलिई कसरी घर फर्किउँ ? परिवारलाई के भनौँ ?”