site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जग हँसाउने विभाजन !
SkywellSkywell

काठमाडौं । २०७५ जेठ ३ गते । तत्कालीन एमालेका महासचिव तथा जनताका बहुदलीय जनवादका सर्जक मदन भण्डारीको ६६ औँ स्मृति दिवस । दिवङ्गत तिथि पनि । एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुनियाँलाई चकित तुल्याउँदै पार्टी एकता गरे ।

नेपाली कम्युनिस्ट आन्दोलनको ७० वर्ष लामो उतार–चढावपूर्व यात्रामा कयौँपटक पार्टीहरू फुटेका छन् । पुनः मूलप्रवाहमा समाहित भएका छन् । कयौँपटक हाँगा फाटेका छन् । अलिक समय व्यतीत भएपछि पुनः एउटै भँगालो समाएर यात्रा तय गरेका छन् ।

फरक–फरक पृष्ठभूमिसहित आलोपालो नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बनेका एमाले र माओवादी केन्द्र जोडिनु र एकीकृत आन्दोलनका रूपमा गाभिनु आफैंमा आश्चर्यजनक परिघटना थियो ।

KFC Island Ad
NIC Asia

पार्टी एकता घोषणा गर्दै एकीकृत पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई हिन्द महासागरसँग तुलना गरे । कम्युनिस्ट आन्दोलनका रूपमा बग्दै आएको कोसी हिन्द महासागरमा मिसिइसकेकाले कुन पानी कताको हो भनेर खुट्याउन–छुट्टयाउन नसकिने उनको अभिप्राय थियो । अर्थात् नेकपा पूर्वघटक, पूर्वसमूहरूको मिश्रणका रूपमा होइन, अन्तरघुलित पार्टी बनिसकेको उनको जिकिर थियो । भनेका थिए– “नेकपा (एमाले) र माओवादी केन्द्र अब मिश्रणका रूपमा होइन, अन्तर्घुलित भएको छ । भित्रै घोलिएका छौँ हामी । हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थाल्यो भने कहाँ भेटिन्छ ?”

तर, एकताको ३१ महिनासम्म नेकपा एकीकृत पार्टीकारूपमा होइन, गुटहरूको गठजोडकारूपमा रह्यो । 

Royal Enfield Island Ad

३१ महिनाअघि नेकपाले कम्युनिस्ट पार्टीहरू जस्तोसुकै अवस्थामा पनि मिल्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको थियो । मङ्गलबार कम्युनिस्ट पार्टीहरू मिलिरहन सक्दैनन् भन्ने देखाउँदै अलगअलग र आ–आफ्नै बाटो तय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केपी शर्मा ओली पक्षको बैठकले एकतर्फी १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेपछि र कार्की पार्टी प्यालेस बबरमहलमा भएको प्रचण्ड पक्षको बैठकले पहिलो अध्यक्षलाई कारबाहीको कदम उठाएपछि नेकपाले औपचारिकरूपमा फुटको बाटो तताएको हो ।

त्रुटिपूर्ण एकता र फुटको जग हँसाइ

२०७४ जेठमा सकिएको दोस्रो चरणको स्थानीय निकायको निर्वाचनसम्म एमाले र माओवादी मिल्ने कुनै छाँट थिएन । त्यसअघि विभिन्न समयमा पार्टी एकता गरौं भन्ने औपचारिक, अनौपचारिक प्रस्ताव गरे पनि त्यसबीचमा दुवैले मिलौँ भन्ने अवस्था थिएन । एक वर्षअघि काम गर्ने उत्कट चाहना हुँदाहुँदै सत्ताबाट जबरजस्ती बहिर्गमन हुन बाध्य पारिएको महसुस गरेका ओली र सम्झौता पालना नगरेपछि अपमानबोध गरेका पुष्पकमल दाहाल प्रचण्ड दुवै एक–अर्काका शत्रु थिए । मञ्च भेट्नेबित्तिकै त्यो अभिव्यक्त भइहाल्थ्यो ।

तर, तेस्रो चरण (दुई नम्बर प्रदेश)को निर्वाचन सकिएपछि एमालेको आँखा खुल्यो । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमाले नराम्रोसँग खुम्चियो । चितवनको अनुभवबाट पूर्वमाओवादी केन्द्र पनि काङ्ग्रेससँग झस्कियो । निर्वाचनमा मिलेर नजाने हो भने सोत्तर हुने भयले एमालेसँग नजिक्यायो ।

ओलीको बहुमतको सरकारको नेतृत्व गर्ने अभिप्सा मरेकै थिएन । पहिलोपटक सरकारको नेतृत्व गर्दा अपमानजनक बहिर्गन बेहोर्नुपरेकाले निर्वाचनपश्चात् एकमना, पूर्णबहुमतका साथ सरकारको नेतृत्व गर्ने तीव्र आकाङ्क्षा थियो । त्यही चाहनाले डोर्‍याएर उनलाई माओवादी केन्द्रसँग गठबन्धनको तहसम्म पुर्‍याएको थियो ।

एमाले र माओवादी केन्द्रको नेतृत्व गरिरहेको ओली, प्रचण्डले गठबन्धनको पनि औचित्य पुष्टि गर्न सकेका थिएनन् । पार्टी एकता गर्ने कि गठबन्धन मात्रै गर्ने भन्नेमा उनीहरू द्विविधाग्रस्त मनोदशामा थिए । सबै वाम एक ठाउँ आउने अवस्था बनाउनेमा पनि उनीहरूभित्रै मतैक्य देखिँदैनथ्यो ।

२०७४ असोज १७ गते गठबन्धन घोषणा गर्दा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि उपस्थित थिए । नयाँ शक्तिलाई हैसियतअनुसार पनि टिकट नदिएपछि उनी त्यहाँ बसिरहन अनुपयुक्त ठाने । खासगरी भन्ने हो भने डा. भट्टराई र तत्कालीन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीचको टकरावले उनी अटाउन सकेनन् । गठबन्धनबाट बाहिरिए ।

चुनावपछि पनि एमाले र माओवादी केन्द्रभित्र पार्टी एकता गर्नहुन्न भन्ने आवाज नसुनिएको होइन । एमालेभित्रबाट खासै आवाज आएन । पूर्वमाओवादी केन्द्रभित्रबाट सुनिनेगरी आवाज आएको हो ।

तर, दुई तिहाइ नजिकको जनमतले पार्टी एकतालाई दबाब दियो । नेता–कार्यकर्ता पंक्तिले पनि नेतृत्वलाई एकताका लागि घच्घच्याए ।

राजनीतिक, सैद्धान्तिक र वस्तुगत आधार तयार नहुँदै एमाले–माओवादी एकताका लागि हतारिए । एकीकृत पार्टीको राजनीतिक, वैचारिक कार्यदिशा प्रष्ट थिएन । एमालेले अङ्गीकार गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी हिँड्दै आएको एक्काइसौं शताव्दीको जनवाद दुवैलाई स्थगित गरेर जनताको जनवादलाई तत्कालीन कार्यदिशा बनाउने भनिए पनि त्यो कार्यकर्ताबाट अनुमोदित भएको थिएन । एकतालाई स्वीकार गर्नुपरे पनि पूर्वएमालेको एउटा पंक्ति त्यसप्रति ‘कन्भिन्स’ हुन सकेको थिएन ।

एकैपटक दुईजना अध्यक्षले २०७५ जेठ २ गते पाँचबुँदे सहमति गर्दै एकताको आधार तयार पर्दा त्रुटिपूर्ण हुन पुगेको उतिबेलै विश्लेषण भएको थियो । २०७५ जेठ २ गतेको समझदारी पार्टीलाई राजनीतिक, सैद्धान्तिकरूपले एक गराउने भन्दा पनि कोरा भागबन्डाका आधारमा एकीकृत तुल्याउने किसिमको भएको कतिपयको ठहर थियो । 

२०७५ जेठ २ गतेको समझदारीले एकताको औचित्य पुष्टि गर्न सकेको थिएन । एकतापछि दुई अध्यक्षका गतिविधिले एकतालाई बलियो बनाउने भन्दा पनि कमजोर तुल्याउँदै लगेको थियो । अझ कतिपयले पाँचबुँदे समझदारीलाई एकताभन्दा पनि पार्टी विभाजनको आधारपत्र नै मान्दै आएका थिए । पार्टी एकताको वर्षदिनपछि नै त्यसको असर देखिन थालेको थियो । मङ्गलबार त उत्कर्षमा पुगेको मात्रै हो ।

नेकपा एकताको आधार प्रष्ट थिएन । वस्तुगत थिएन । मनोगत मात्रै थियो । चुनाव जित्नका लागि एक ठाउँमा उभिएका दुई पार्टीलाई जनमतले जुट्न दबाब दिएको थियो ।

अहिले विभाजनको पनि औचित्य पुष्टि गर्न सक्ने देखिँदैन । प्रचण्ड– नेपाल समूहले प्रधानमन्त्री ओलीलाई भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेको, पार्टीको नीतिअनुसार सरकार सञ्चालन नगरेको आरोप लगाउँदै आएका थिए । पार्टी कमिटीको बैठक माग गर्दा पत्र पठाउन जाँगर चलाउने तर सहमति नदिने कार्यशैलीले आजित भएको तर्क गर्दै आएका थिए ।
 
पुस ५ गते कुर्सी बचाउन जनमतको अपमान गर्दै संसद् नै विघटा गर्ने कदम चालेपछि कारबाही गर्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरूको तर्क छ । यसले पार्टी विभाजनको औचित्य पुष्टि गर्ने उनीहरूको जिकिर पछि छ । तर, विश्लेषकहरूले पार्टी विभाजनका लागि ठूलो राजनीतिक, सैद्धान्तिक, वैचारिक मतभिन्नता चाहिने, संसद्को विघटनको हदसम्म किचलो पुर्‍याउनुमा प्रचण्ड र नेपाल प्रचण्डको पनि भूमिका रहेकाले ओलीलाई मात्रै अपजस दिन नमिल्ने बताउन थालेका छन् ।

एकता पूरा नहुँदै विघटन

एकतापछि २०७५ जेठ १६ गते अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै ओली, प्रचण्डले तीन महिनामा पार्टी एकता पूरा गर्ने उद्घोष गरेका थिए । प्रदेश, प्रवास, जनसङ्गठनसहित जिल्ला तहका कमिटी एकीकृत गर्नका लागि छुट्टाछुट्टै कार्यदलसमेत गठन गरिएको थियो ।

जनसङ्गठनहरूका कार्यदललाई विधान तयार पार्नेदेखि नेतृत्व प्रस्ताव गर्ने अधिकार दिइएको थियो । एकाधले बाहेक तोकिएको काम कसैले पूरा गर्न सकेनन् ।

त्यसको असर पार्टी एकता विस्तारमा पर्‍यो । अपानिको ‘डेटलाइन’अनुसार एकता पूरा भएन । चार महिनापछि प्रदेश कमिटीले जेनतेन नेतृत्व पाएको थियो । माधवकुमार नेपालले फरक मत (नोट अफ् डिसेन्ट) दर्ज गर्दै छुट्टै स्थायी कमिटी भेला गर्नुपर्ने अवस्था सिर्जना भयो । वास्तवमा नेकपाभित्रको विवादको सुरुआत त्यही बेलादेखि भएको हो । त्यही विवाद बढ्दैबढ्दै जाँदा एकीकरण प्रक्रिया सुस्त बन्यो । १३ किस्तामा पनि एकताको कोर्स पूरा भएन ।

पछिल्लोपटक असोज मसान्तभित्र पार्टी एकता पूरा गर्ने, मङ्सिर मसान्तभित्रमा सदस्यता अद्यावधिक गरिसक्ने नेकपाले निर्णय गरेको थियो ।

नेकपामा केन्द्रीय निकाय, ३२ विभाग, २२ मध्ये अधिकांश जनसङ्गठनहरू, प्रवास, विशेष जिल्ला कमिटीहरूले पूर्णता पाउन बाँकी थियो । एकताको बाँकी काम नसकिँदै नेकपाले विभाजनको बाटो रोजेको छ ।

विधानको धारा १८ ले सिर्जना गरेको अन्यौल

ओली प्रचण्डले मङ्गलबारबाट अलगअलग कोर्स सुरु गरेका छन् । ओलीले मध्याह्न बैठक बसेर १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिसकेका छन् । पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवाली नियुक्त गरेका छन् । 

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेको निर्णय उल्ट्याउँदै २०७८ मङ्सिर २–७ लाई एकता–महाधिवेशनको मिति तोकेका छन् । त्यतिमात्र नभई पार्टीको अन्तरिम विधानसमेत संशोधन गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले पनि केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधव नेपाललाई चयन गरिसकेका छन् ।

नेकपाका दुवै समूहको कदमलाई विधानले मान्यता नदिने देखिन्छ । विधानको धारा १८ (झ) अनुसार पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले हस्ताक्षर गर्नुपर्नेछ । अथवा आपसी सल्लाहमा एक अध्यक्षले मात्रै हस्ताक्षर गर्न पनि मिल्ने प्रावधान छ । तर, दुवै अध्यक्षको सल्लाह, सहमतिबिना गरिएको निर्णयले मान्यता पाउने, नपाउने द्विविधा नै छ । 

त्यसो त, २०७५ जेठ २ गते र २०७७ भदौ २६ गतेको निर्णयले पनि दुवै अध्यक्षले सहमति, परामर्श गरेर गरेको निर्णय नै आधिकारिक हुने ठहर गरेको छ । यता प्रचण्ड– नेपाल समूहले विधानको धारा ६० टेकेर निर्णय गरेको बताउँदै आएका छन् ।

विधानको धारा ६० ले बहुमतको निर्णयलाई नै पार्टी निर्णय किटान गरेको छ । यस धारामा तीनवटा प्रावधान छन् । एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकहरूमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइने, निर्णय प्रक्रियामा मत विभाजन भएमा बहुमतको निर्णय नै पार्टी निर्णय पहिलो बुँदामा छ ।
त्यस्तै दोस्रो बुँदामा निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति सम्बन्धित एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन वा बैठकसमक्ष लिखितरूपमा प्रस्तुत गर्नुपर्ने उल्लेख छ ।

ग नम्बर बुँदामा फरक मत प्रस्तुत गर्ने सदस्यले आफ्नो मत छलफलमा लैजान माग गरेमा र सम्बन्धित कमिटीले आवश्यक ठानेमा निर्णय कार्यान्वयन गर्ने गरी केन्द्रीय कमिटीको स्वीकृतिमा विधि– प्रक्रिया खुलाइ छलफलको अनुमति दिन सक्ने व्यवस्था गरिएको छ । 

आजको निर्णय पहिलो बुँदामा टेकेर गरिएको प्रचण्ड–नेपाल पक्षको भनाइ छ ।

आमन्त्रितसमेत गरी ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा ३ सय १५ जनाले निर्णय गरेकाले यही आधिकारिक हुने उनीहरूको जिकिर पनि छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro