काठमाडौं । बौद्ध स्तूप आसपासका सडकमा दैनिक बिहान-बेलुका फुटपाथमा व्यापार हुन्छ । बौद्ध मात्र होइन, राजधानीका अधिकांश स्थानमा फुटपाथ व्यापार चन्छ । दिनहुँ मेला लागेझैँ देखिन्छ, फुटपाथ ।
असरल्ल छरिएका सामान । लत्ताकपडा, भाँडाकुँडा, शृंगारका सामानदेखि तरकारी र फलफूलसम्म फुटपाथमा हुन्छन् । फुटपाथ पैदलयात्रीका लागि हो । तर, व्यापारीको कब्जामा गएको देखिन्छ । पैदलयात्रीले कहाँबाट हिँड्ने मेसो पाउनै मुस्किल हुन्छ ।
पैदलयात्रीका कष्ट
फुटपाथ व्यापारले पैदलयात्रीलाई सडकपेटीमा हिँड्न सकस हुने बौद्धका एकजना फार्मेसी सञ्चालक धर्मराज देवकोटाले बताए । ‘‘पैदलयात्रीका लागि छुट्ट्याइएको सडकपेटी हो । फुटपाथलाई सडक व्यापारीले कब्जा गरेपछि पैदलयात्री च्यापाच्याप गर्दै लछारिँदै-ठोक्किँदै हिँड्न बाध्य छौँ,’’ उनले भने, ‘‘पेटीमा हिँड्न बाटो हुँदैन । बीच सडकबाट हिँड्दा दुर्घटनाको जोखिम उच्च हुन्छ । फुटपाथ पैदलयात्रीका लागि कि व्यापारका लागि मेसो पाउनै गाह्रो छ ।’’
अर्का पैदलयात्री दीपराज महतारा भन्छन्, ‘‘गाउँबाट आएका मानिसहरू हराउन बेर छैन, यस्तो ठाउँमा । मानिसको भिडमा उकुसमुकुस हुनुपर्छ ।’’ आवागमन नै अवरूद्ध हुने गरी गरिने सडक व्यापारले महिला र बालबालिका बढी प्रभावित हुने गरेको उनको भनाइ छ ।
फुटपाथ व्यापारी भन्छन्- पेट पाल्नुपर्ने बाध्यता छ
रोजगारी नपाएका कारण फुटपाथमा व्यापार गर्नु परिरहेको व्यापारी बताउँछन् । बौद्धमा फुटपाथ व्यापार गर्दै आएका जुम्लाका रामदत्त जैसीले रोजगारी नपाउँदा सडकमा फुटपाथ व्यापार गर्न बाध्य भएको सुनाए ।
‘‘फुटपाथ व्यापारले पैदलयात्रीलाई ठूलो समस्या सृजना गरेको छ, थाहा छ,’’ उनले भने, ‘समस्या निम्त्याएको थाहा हुँदाहुँदै पनि पेट पाल्नुपर्ने बाध्यता छ ।’
दुर्घटनाको जोखिम उच्च : ट्राफिक प्रहरी
सडक किनारामा हुने व्यापारलाई ट्राफिक प्रहरीले नियन्त्रण गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
‘‘फुटपाथमा व्यापार गर्दा पैदलयात्रीलाई दुर्घटनाको उच्च जोखिम हुन्छ,’’ उनले भने, ‘‘सडक-सडकमा पैदलयात्रीका लागि फुटपाथ भन्दै होडिङबोर्ड, ब्यानर, पम्प्लेट टाँसेका छौँ । ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरेका छौँ ।’’ कतिपय स्थानमा फुटपाथ व्यापारी र पैदलयात्रीलाई सँगै राखेर सचेतना कक्षा पनि दिने गरेको उनले जानकारी दिए ।
सही सदुपयोग हुनसकेन : महानगर
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फुटपाथको दुरुपयोग भइरहेको बताए । ‘‘फुटपाथ व्यापार-व्यवसाय गर्नका लागि होइन,’’ उनले भने, ‘‘विगत पाँच वर्षदेखि काठमाडौं महानगरपालिकाले पैदलयात्रीको हितमा फुटपाथ खाली गराउँदै आएको छ । बिहान-बेलुकाको समयमा लुकीछिपी फुटपाथ व्यापार गर्दै आएका छन् । सडकमा फुटपाथ व्यापार गर्नु गैरकानुनी हो ।’’
महानगरले फुटपाथ अतिक्रमण गर्नेलाई कारबाही गरिरहेको उनी बताउँछन् ।
हेरौं फुटपाथमा किनमेलमा व्यस्त रहेका व्यापारी तथा सर्वसाधारणका थप तस्बिर :