site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा अब नेपालको मात्र रहेन !

काठमाडौं । सगरमाथाको उचाइ नेपाल र चीनले मंगलबार संयुक्तरुपमा घोषणा गर्दैछन् । पाँच महिनाअघि टुंगो लागेको सगरमाथाको उचाइ चीनबाट अनुमोदन भएपछि मात्र सार्वजनिक गर्न लागिएको हो । नापी विभागका दुई कर्मचारी डेढ वर्षअघि सगरमाथाको टुप्पोमा पुगेर ल्याएको डेटा आवश्यक ‘प्रोसेसिङ’ पछि गत असारमै उचाइ टुंगो लागेको थियो । तर, चिनियाँ पक्षलाई सोधेर मात्र उचाइ सार्वजनिक गरिँदै छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार नापी विभागले आफ्नै जनशक्तिले फिल्ड सर्बेबाट संकलन गरेको तथ्यांक आफ्नै प्रयोगशालामा प्रशोधन गरिएको हो ।  जसलाई चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्न लागिएको उनको भनाइ छ ।
नेपालले एक्लै उचाइ मापन गर्ने काम अघि बढाइएकामा गतवर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चीन पनि यस कार्यमा मिसिन पुगेको थियो । 

भ्रमणका बेला जारी संयुक्त वक्तव्यमा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथा (चोमोलोङ्मा) शिखरको उचाइ घोषणा गर्ने उल्लेख थियो । उचाइ घोषणा कार्यक्रममा चीन मिसिएको प्रसंगमाथि पनि प्रश्न भने उठेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तत्कालीन उच्च अधिकारीले उचाइ मापन तथा घोषणामा चीन मिसाउने प्रस्ताव नगरेपछि वन मन्त्रालयको प्रस्तावमा चीनलाई जोडिएको हो । 

संयुक्त वक्तव्यमा सगरमाथालाई ‘नेपाल–चीन मित्रताको अनन्त चिनो’ उल्लेख गर्दै दुई देशले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्ने तथा वातावरणको रक्षा गर्ने प्रतिवद्धता गरेका थिए । सोही बुँदाको अन्तिममा संयुक्त उचाई घोषणा थपिएको छ ।

 

मन्त्रालयका एक अधिकारीले बाह्रखरीसँग भने, “भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव नउठाएपछि वन मन्त्रालयमार्फत् क्लाइमेट चेन्जको कुरा जोडेर, त्यसमा एउटा वाक्य थपेर चीनलाई जोडिएको हो ।”

स्रोतका अनुसार नेपालबाट सबैभन्दा नजिकको समुद्री तट भारतको कलकत्तामा पर्छ र सोही आधारमा सिराहा जिल्ला हुँदै विभिन्न आधार बिन्दुका आधारमा सगरमाथाको उचाइ नापिने तयारी थियो । जसलाई चिनियाँ पक्षले स्वीकारेन । कारण थियो, चीनले आफ्नो भूमि हुँदै सगरमाथाको उचाइ नाप्न जोडबल गरिरहनु ।

राष्ट्रपति सीको भ्रमणपछि घुमाउरो पारामा चीनलाई उचाइ मापनको श्रेय दिन खोजिएको छ जसले सगरमाथा अब नेपालको मात्र रहेन भन्ने सन्देश दिने केही सीमाविदहरुको तर्क छ । मन्त्रालयका एक उच्च अधिकारीले पनि यो कुरालाई पुष्टि गर्दै यसले गर्दा सगरमाथा नेपालको मात्रै रहेन भन्ने सन्देश दिने बताए ।

यसमा अर्को कारण के पनि छ भने चीनले चट्टानसम्मको उचाइलाई आधिकारिक उचाइ मान्दै आएको छ । सगरमाथाको शिखरमा ४ मिटर हिउँ मानेर चीनले ८,८४४ मिटरलाई सगरमाथाको उचाइ भन्छ । जबकि, नेपालले सर्वोच्च शिखरको उचाइ ८,८४८ मिटर दाबी गर्दै आएको छ ।

सन् १९५४ मा भारतको सर्बे अफ इन्डियाका वि.एल. गुलाटीले सगरमाथाको उचाइ मापन गर्दा ८,८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्बे एन्ड म्यापिङले मापन गर्दा ८,८४४.४३ मिटर उचाइ रहेको जनाएका थिए ।

सन् १९९९ मा बोस्टोन म्युजिएम अफ साइन्सका प्रो व्रड बास्र्बनले पहिलो पटक जीपीएस प्रविधिको प्रयोग गरी मापन गर्दा ८,८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो ।  नेपाल सरकारले भने भारतको सर्बे अफ इन्डियाले मापन गरेको ८,८४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको छ ।
मंगलबार दिउँसो साढे एक बजेको कार्यक्रममा समकक्षी मुलुकका प्रतिनिधिलाई भर्चुअल माध्यमबाट जोडिँदै छ भने केही स्वदेशी विज्ञलाई बोलाइएको छ ।

सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ भने उचाइ घोषणाकै आधारमा सगरमाथा आधा–आधा हुने कुरा स्वीकार्दैनन् । उनी भन्छन्, “विश्वभरका अध्यतालाई आश्वस्त तुल्याउन दुवै देशबाट एकैपल्ट घोषणा गर्न लागिएको हो । टिकाटिप्पणी, सामाजिक सञ्जालमा पनि आधा–आधा पारेको हो कि भन्ने आशंका छ, त्यसो होइन ।”

सगरमाथाको आरोहण नेपालतिरबाट मात्र नभएर चीनतर्फबाट पनि गर्न सकिन्छ । तर, जताबाट चढ्यो त्यतै फर्कनुपर्छ । अर्कोतर्फ जाने हो भने, रोयल्टी भिसा पर्मिट सबै तिर्नुपर्छ । अहिले सगरमाथा कसको हो त ? श्रेष्ठको जवाफ छ, “विश्वलाई थाहा छ कि नेपालको हो । तर, अब सगरमाथा चीनको हो भन्ने हल्ला फिँजाइन्छ भने त्यसमा सत्यता रहेको मानिँदैन ।”

सगरमाथा नेपालको नै हो भन्ने नेपाल–चीनबीच सम्झौता नै भएको उनको दाबी छ । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले घोषणा गरेका छन् कि चोमोलोङ्मा शिखर नेपालको हो ।  वि.सं. २०१७ साल वैशाख १६ गते सिंहदरबारको ग्यालरी बैठकमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका थिए ।
सोही घोषणालाई समर्थन गर्नेगरी नेपाल चीनबीच सन्धि पनि भएको उनको भनाइ छ । 

श्रेष्ठ भन्छन्, “सगरमाथाको शिखर नेपालमा पर्छ । यद्यपि दुवैतर्फबाट आरोहण गर्न मिल्छ ।”

दुवै देशको सीमांकन गर्दा सन् १९६१ मा नक्सा बनाइएको थियो । सो नक्सामासमेत सगरमाथाको चुचुरो नेपालमा छ । उक्त नक्सा बन्नुअघि नेपाल र चीनबीच ’सीमा सन्धिमा’ हस्ताक्षर भएको थियो । सन्् १९६१ को अक्टोबरमा बेइजिङमा भएको उक्त सहमतिमा तत्कालीन राजा महेन्द्र र चिनियाँ राष्ट्रपति ल्यु साओचीले हस्ताक्षर गरेका थिए । 

उक्त सन्धिपछि नेपालले ३ सय वर्ग माइल भूभाग पाएको थियो भने सगरमाथा नेपालको बनेको थियो ।

संयुक्त घोषणाको महत्व र विज्ञको अनुपस्थिति

विश्वका वैज्ञानिक, भुगर्भविद्हरु, सीमाविद्हरुलाई आश्वस्त बनाउन संयुक्त घोषणा गर्नुको महत्व रहेको श्रेष्ठ बताउँछन् ।  सन् २०१७ डिसेम्बरमा गरिएको एक अन्तर्राष्ट्रिय गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजील्यान्ड, बेलायतलगायतका देशका विज्ञ तथा प्रतिनिधिहरूले छिमेकीलाई राखेर उचाइ घोषणा गर्न सुझाएका थिए ।

विश्वसनीयताको निमित्त दुवै देशले संयुक्तरुपमा घोषणा गर्‍यो भने विश्व आश्वस्त हुन्छ भन्ने मान्यता छ । तर, घोषणा गर्न विश्वभरका भुगर्भविद्हरु, सर्भेयरहरुलाई राखेर घोषणा सम्मेलन गर्नुपर्नेमा त्यसो भने नगरिएको मन्त्रालयकै एक अधिकारी बताउँछन् ।

सगरमाथा कसरी नेपालको हो ?

दुई देश मिलेर घोषणा गर्दा सगरमाथा दुवै देशको भन्ने सन्देश गए पनि सगरमाथाको टुप्पो नेपालको हो भनेर बुझ्न सीमाविद् श्रेष्ठको सुझाव छ ।  श्रेष्ठले भने, “फेँदको आधा उत्तरतर्फ चीनको र दक्षिणतर्फ नेपालको हो । तर, शिखर नेपालमा पर्छ ।” कसरी ? नेपाल–चीन सीमा ‘पानी ढलो’को सिद्धान्तअनुसार तय गरिएको छ । अर्थात् आकाशबाट परेको पानी जहाँबाट चीनतर्फ बग्छ, त्यो हिस्सा चीन हो भने नेपालतर्फ बग्ने जमिनको भाग नेपालको हो ।

श्रेष्ठका अनुसार सगरमाथाको ‘टपमस्ट हाइट’ (सर्वोच्च भाग) पानी ढलोको दक्षिणतर्फ पर्छ । “शीर्ष उचाइ (८,८४८ मिटर) सँगै जोडिएको भाग ७ बाइ ८ फिटको स्लोपिङ टेरेस (भिरालो भूभाग) नेपालको पर्छ । जतातिरबाट चढे पनि सो स्लोपिङ टेरेसमा नपुगिकन शिखरमा झन्डा गाड्न सकिँदैन, भारी बिसाउन सकिँदैन, फोटो खिच्न सकिँदैन,” उनको भनाइ छ, “तसर्थ शिखर नेपाली भूभाग हो,  उत्तरतर्फको पानी ढलो (वाटर सेड वा वाटर पार्टिङ, नेपालीमा जलाधार) भने चिनियाँ भूभाग हो ।”

नेपालको भूभागमा पाइला राख्दामात्र आरोहण सफल हुने मान्यताले सगरमाथा नेपालको भएको श्रेष्ठको कथन छ ।

अर्काथरी जानकार वि.सं. २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाले गरेको सम्झौताअनुसार सगरमाथा शिखर नेपालको हो भन्ने मान्यता राख्छन् । अन्यत्र पानी ढलो मानिए पनि सगरमाथा नेपालको भनेपछि पानी ढलो भन्ने नहुने उनीहरुको बुझाइ छ । फेदलाई दुवैतर्फ छ मान्ने भनाइ चीनतर्फ ढल्किएको उनीहरु देख्छन् । उनीहरुको भनाइ छ, “सगरमाथा जति नाम हाम्रो हो । अलि परको भाग अर्को देशको हो ।”

शिखरको उचाइ चट्टानको हुन्छ कि हिउँको ?

मंगलबार घोषणा हुने उचाइ हिउँसहितको हो कि हिउँरहित अझै खुलेको छैन । तर, विश्वमा दुवै प्रणाली अबलम्बन हुने गरेको छ । उदाहरणका लागि अमेरिकाको माउन्ट वासिङ्टन, युरोपको आल्पस मान्उटेनको उचाइ हिउँको आधारमा तय गरिएको छ । सगरमाथाको विषयमै दुईवटा तर्क छन् ।

यसरी गरियो उचाइ मापन

सन् १९५४ पछि विभिन्न समयमा विश्वभरका विभिन्न निकायले सगरमाथाको उचाइ मापन गरी फरक फरक उचाइ भएको निष्कर्ष निकालेका थिए । तर, त्यसरी आफ्नै किसिमले विभिन्न निकायले गरेको सगरमाथाको उचाइ मापनले भने आधिकारिक मान्यता पाएको थिएन । सर्वे अफ इन्डियाले यसअघि सगरमाथाको उचाइ आफूले नापेको भन्दै सगरमाथाको उचाइ नाप्नका लागि नेपालसँग प्रस्ताव गरेको थियो । 

तर, वि.सं. २०७४ मा तत्कालीन शेरबहादुर देउवा सरकारले नेपाल आफैँले नै सगरमाथाको उचाइ नाप्ने निर्णय गरेको थियो ।

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपाल आफैँले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारत लगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रिय रूपमा विवादित बन्नु, र वि.सं. २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभाव लगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले सगरमामथाको उचाइ मापन कार्य बढाएको हो ।

सगरमाथाको उचाइ १२ नियन्त्रण बिन्दु प्रयोग गरेर पत्ता लगाइएको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro